वैकुण्ठ दाहाल
स्वदेशमा भनेजस्तो रोजगारी नपाएपछि मेरा एक स्कुले सहपाठी विगत १०–१२ वर्षदेखि कतारको तातो हावामा कावा खाइरहेका छन् । उनीसँग बेला–बेलामा अनलाइनमा कुरा हुन्छ । उनको कुराबाटै प्रस्ट हुन्छ कि उनी त्यहाँ आफ्नो काम र कमाइबाट त्यति विधि सन्तुष्ट छैनन् ।
मैले उनलाई नेपालमै फर्किएर कुनै पेसा व्यवसाय गर्न अनुरोध गर्दा उनी निसङ्कोच जवाफ फर्काउँछन्– ‘के गर्नु मित्र, जवानी जति विदेशमै सिध्याइयो, बुढेसकालमा के काम गर्ने आँट आउ“छ र ? म त घर न घाटको हुने भएँ ।’ यो जवाफ मेरा एक मित्रको मात्र नभई सारा विदेशिएका नेपालीको रेडिमेड जवाफ हो ।
समय अनुकूल युवावर्गको भावनाकोे कदर सरकारले गर्नुपर्छ । साथै नेपालमा आधुनिक कृषि प्रविधिको प्रवेश गराई उनीहरूलाई स्वदेशमै काम गर्ने प्रेरणा जगाउनुपर्छ । युवावर्गलाई स्वदेशमै रोक्ने वातावरण तयार गर्न ढिला भैसकेको छ ।
आफ्नो देशमा विविध सम्भावना हु“दाहु“दै पनि आज हाम्रो देशबाट झन्डै ५०–६० लाखको हाराहारीमा युवाहरू विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । तिनैले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ । देशमा भएका कैयांै उद्योगधन्दाहरू बन्द अवस्थामा छन् भने कैयौं उद्योगधन्दा दिन–प्रतिदिन घाटामा चलिरहेको समाचार सुनिन्छ । यस्तो अवस्थामा हाम्रो देशका युवा जनशक्ति भने विदेशिन बाध्य भइरहेका छन् ।
आफ्ना खेतबारी बाँझो राखेर विदेशीको गुलामी गर्न हतारिने सोचलाई अब आम युवावर्गले तुरुन्त परिवर्तन गर्नुपर्ने अवस्था आइसकेको छ । विदेशी भूमिमा पराईका पाइखाना सफा गर्न नहिच्किचाउने हातहरूले आफ्नै देशमा बसेर पनि महिनाको २०–२५ हजार रुपियाँ कमाउन अब धेरै गाह्रोे छैन । युवापुस्ता नेतालाई गाली गर्दै, देशलाई धारेहात लगाउँदै विदेशिइरहेको सन्दर्भमा सचेत गराउने प्रयास कतैबाट भएको देखि“दैन ।
आफ्नै खेतबारीमा मौसमी फलफूल, तरकारी, अन्नबाली, पशुपालन, जडीबुटी आदिको व्यवसाय गरेर पनि अब हामी सक्षम बन्न सक्ने भैसकेका छौं । यसतर्फ पनि युवावर्गको ध्यान पुग्नु जरुरी छ । आफ्नै मुलुकमा कुखुरा पालन, गाईभैंसी पालन, बंगुर पालनदेखि माछा पालन व्यवसायले अहिले ठूलो फड्को मारिसकेको छ । यसले व्यावसायिक रुप लिइसकेको छ ।
यसै गरी कृषितर्फ मौसम अनुकूल स्थान छनौट गरी चिया, कफी, अलैंची, सुपारी, अदुवा, लसुन, प्याज, आलु, तोरी, मास, मसुर, भटमास, केराउ, चना, जीरा, धनियाँ, बेसार आदिको खेतीतर्फ आकर्षित हुनेहरू पनि धेरै छन् । त्यस्तै स्याउ, केरा, सुन्ताला, आँप, अम्बा, मेवा, भुइँकटहर, नस्पाती, अनार, जुनारलगायत मौसमी फलफूलको व्यावसायिक खेती गरी मनग्गे मुनाफा कमाउन सकिने अवस्था आफ्नै देशमा भैसकेको छ । यसतर्फ पनि आजका युवापंक्तिको ध्यान दिनु जरुरी छ ।
सानो खेतबारीमा पनि धेरै उब्जनी हुने बीउ बिजन र मलखादहरू अब हाम्रो देशमा पनि भित्रिइसकेको छ । यस अवस्थामा कृषि पेसामा हामीले फड्को मार्नुपर्ने भएको छ । कैयौं जग्गा बा“झो राखेर हामी किन विदेशीको गुलामी बन्ने ? युवावर्गले बेलैमा सोच्नुपर्ने भैसकेको छ । विदेशी भूमिमा सिकेको सीप र प्रविधि युवावर्गले स्वदेशमा भित्र्याउनुपर्छ । अनि आफ्नै देशमा श्रम र पसिना बगाई मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ । यसका लागि युवावर्गमा इच्छाशक्ति र तत्परता हुनु जरुरी छ ।
कृषि पेसालाई युवावर्गले आ–आफ्नो व्यवसाय बनाउन सके भने मात्र पनि यसबाट विभिन्न उद्योग खोल्न सकिन्छ । यसबाट केही हदसम्म भए पनि परनिर्भरता हट्छ । आत्मनिर्भर भएर राष्ट्र र राष्ट्रियतालाई समेत उच्च राख्न मद्दत पुग्नेछ । यसकारण पनि उमेर पुगेपछि राहदानीको लाइनमा बसेर विदेशिने सोच अब आमयुवाले बदल्नै पर्छ । त्यसो हुन सक्यो भने मात्र नेपाल समृद्धितिर लम्कनेछ ।
युवावर्गलाई आफ्नै माटोमा उद्यमी र पौरखी बनाउन सरकारले समेत योजना बनाउनुपर्छ । समय अनुकूल युवावर्गको भावनाकोे कदर सरकारले गर्नुपर्छ । साथै नेपालमा आधुनिक कृषि प्रविधिको प्रवेश गराई उनीहरूलाई स्वदेशमै काम गर्ने प्रेरणा जगाउनुपर्छ । युवावर्गलाई स्वदेशमै रोक्ने वातावरण तयार गर्न ढिला भैसकेको छ ।
लगानीको अभावमा रुमलिएका युवालाई लक्षित गरी सरकारी निकायबाट लगानी जुटाउने वातावरण तयार गर्नुपर्छ । हरेक उपायले युवावर्गलाई स्वदेशमा काम गर्न प्रेरित गर्नुपर्ने देखिन्छ । समयमै सरकारले यस विषयमा नीति निर्माण एवम् योजनाहरू तय गरी कार्यान्वयन गर्नुपर्छ । यस कार्यमा सरकारलगायत सम्बन्धित निकायहरूले विलम्ब गर्नुहुँदैन । यसैबाट देशको आर्थिक समृद्धि सम्भव छ ।
(लेखक दाहाल राष्ट्रिय व्यापार संघका सचिव हुनुहुन्छ ।)
प्रतिक्रिया