पुरानै संरचनामा निर्वाचनः काँग्रेस महामन्त्री शशांक



लमजुङ, (नेस)। नेपाली काँग्रेसका महामन्त्री एवं सांसद् डा. शशांक कोइरालाले स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्न उपयुक्त हुने बताउनु भएको छ । लमजुङको सुन्दरवजार नगरपालिकास्थित आदर्श बाल माध्यामिक विद्यालयको हिरक जयन्तीको समापनमा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्ने क्रममा उहाँले सो धारणा राख्नु भएको हो ।

उहाँले ‘पुनः संरचनामा धेरै विवादहरू सिर्जिएका छन्, त्यसैले पुरानै संरचनामा निर्वाचन गर्नुपर्छ ।’ भन्नुभयो । ‘बल्लतल्ल सविधान पाएका छौं । कार्यन्वनका लागि तीनवटा निर्वाचन सयममै गर्नुपर्नेछ, त्यसलाई सरकारले पनि प्राथमिकतामा राखेको छ ।‘ डा. कोइरालाले भन्नुभयो, ‘स्थानीय निकायको निर्वाचन भएको तिन– चार महिना पछि प्रदेशको स्वरुप निर्धारण हुन सक्छ । व्यवस्थापिका संसदमा पेश भएको सविधान संशोधनको प्रस्ताव पास गरेर प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिने उहाँले बताउनु भयो ।

राजनीतिक दलहरूको आ– आफ्नो अडानका कारण सविधान कार्यान्वयनमा जटिलता आएको बताउनुभयो । जनताको भावना विपरित राज्य पुनःसंरचना हुन नसक्ने कोइरालाको भनाई थियो । ‘जनताको सहभागिता र बलमा नै सविधान आएको हो । सविधानको कार्यन्वयनमा पनि जनताको सहभागिता र समर्थन अनिवार्य हुन्छ ।’ डा कोइरालाले भन्नुभयो । अर्को एक प्रसंगमा उहाँले पार्टीको आन्तरिक जीवनलाई समेत सवल बनाएर निर्वाचनमा जानु पर्ने यथार्थताको स्मरण गरेर कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सो अवसरमा २० लाख बराबरको जग्गा दान गर्नुहुने कृष्ण गिरीसहित विद्यालयका शिक्षकहरू, अभिभावक, विद्यार्थी, आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुरारी कुमालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकृष्ण भण्डारीले एक करोड ९१ लाख २५ हजार ५ सय ६७ रुपैँया बराबरको आय व्याय विवरण प्रस्तुत गर्नभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार माण्डपी त्रिपाठी लगायतले मनोरञ्जन दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमाल, नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, राप्रपाका नगर सभापति बोजबहादुर थापा, रेडक्रस सोसाइटीका जिल्ला सभापति नारायण घिमिरे, शिक्षक संघका अध्यक्ष शिव अधिकारी, अखिल नेपाल शिक्षक संगठन एकीकृतका अध्यक्ष सीताराम अधिकारी, भूपू शिक्षकहरुबाट शम्भुप्रसाद त्रिपाठी, सिटिईभिटीका निर्देशक जोवनलाल सिलाकारलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्