हुलाकी राजमार्गको शिलान्यास



कुमार श्रेष्ठ, बाँके
बहुप्रतिक्षित हुलाकी राजमार्गको बुधबार शिलान्यास भएको छ। पाँच वर्षमा पाँच प्रतिशत काम गरेर भारतीय ठेकेदार फरार भएपछि नेपाल सरकारले आफ्नै लगानीमा पूर्व–पश्चिम जोड्ने हुलाकी राजमार्ग निर्माणमा अग्रसरता देखाएसँगै बाँके खण्डको ४४ किलोमिटरको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले बुधबार फत्तेपुरमा पुगेर शिलान्यास गर्नुभयो।

कञ्चनपुरदेखि झापासम्मको १ हजार ७ सय किलोमिटरको यो सडक १३ अर्बको लगानीमा दुई चरणमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणमा बाँकेसहित १५ जिल्लाको ८ सय किलोमिटरलाई समेटिएको छ। सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले १३ अर्बमध्ये ८ अर्ब भारत र ५अर्ब नेपालले लगानी गर्ने बताउनुभयो।

भारतले निर्माण गर्ने गरी सन् २००७ मा सम्झौता भएर सन् २०१० मा काम शुरू भएको हुलाकी राजमार्गको ५ वर्षमा ५ प्रतिशत काम गरेर भारतीय ठेकेदार फरार भएपछि नेपाल सरकारलाई चुनौति थपिएको थियो। मन्त्री लेखकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा प्राथमिकताका साथ हुलाकी सडकको कुरा गरेपछि निर्माणको चरणमा पुगेको बताउनुभयो। शिलान्यास गर्दै मन्त्री लेखकले भन्नुभयो– ‘पैसा अभावले काम रोकिँदैन, म त्यसको व्यवस्था गर्छु। गुणस्तरीय काम भयो कि भएन तपार्इंहरूले अनुगमन गर्नुस्।’ उहाँले समयमा गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिनुभयो।

पूर्वराज्यमन्त्री एवं सांसद् दिनेशचन्द्र यादवले हुलाकी राजमार्गका लागि सरकारले ४ अर्ब २० करोडको व्यवस्था गरेको र तीन वर्षमा क्रमशः त्यत्ति नै बजेट छुट्याउँदा १३ अर्ब पुग्ने बताउनुभयो। सांसदहरू बादशाह कुर्मी, आशा विक, मैकुलाल बाल्मिकी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठौर र बाँके जिल्ला सभापति किरण कोइरालाले सडकलाई समयमा सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि स्थानीयवासीले खबरदारी गर्नुपर्ने बताउनुभयो।

बाँकेको नेपालगन्जदेखि कटकुइया गाविसम्मको ४४ किलोमिटरमा हुलाकी राजमार्ग फैलिएको छ। पप्पु र लुम्बिनी जेभी, काठमाडौंले ठेक्का पाएको यो सडकको लागत ६६ करोडको रहेको छ। कटकुइया र नेपालगन्ज दुवैतिरबाट काम शुरू भई ३० महिनामा काम सक्ने सम्झौता भएको छ। नेपालगन्जको फोरलेन सडक गुणस्तरहीन र समयमा काम नगरेको भन्दै पप्पु कन्स्ट्रक्सनप्रति सांसद र नेताहरूले आशंका गरे पनि हुलाकीमा त्यस्तो नहुने मन्त्री लेखकले आश्वासन दिनुभयो। ‘म सधैं आउन नसकुँला। विभागका कर्मचारीहरूले निरन्तर अनुगमन निरीक्षण गर्नुहुन्छ, मन्त्री लेखकले जनतालाई देखाउँदै भन्नुभयो, तपाईंहरूले निरन्तर खबरदारी गर्नुहोला।’ वर्षौदेखिको राप्तीपारीको नौ वटा गाविसको सपनाको रूपमा रहेको हुलाकी राजमार्ग अब अलपत्र नपर्नेमा सडक विभागका महानिर्देशक कार्कीले आश्वस्त पार्नुभयो। ‘विगतमा काम हुन सकेन। अहिले त्यतिबेलाको भन्दा राम्रो सडक बनाउँदै छौं। तपाईंहरू ढुक्क हुनुस्, योपटक सडक बेलैमा गुणस्तरीय हुन्छ, महानिर्देशक कार्कीले भन्नुभयो।

हुलाकी राजमार्गका रूपमा मात्रै नभई बाँकेका लागि यो राजमार्ग विकासको मेरुदण्डका रूपमा रहने स्थानीयको भनाइ छ। राम्रो सडकमा हिँड्न नपाएका नौ गाविसका लाखौं मानिसहरू राजमार्ग बनेसँगै सदरमुकामसँग जोडिनेछन्। औषधि उपचारदेखि हरेक कारोबार भारतीय बजारमा गर्न बाध्य भएका बघौडावासीलाई हुलाकी राजमार्ग बरदान सावित हुने स्थानीय लक्षीराम यादवले बताउनुभयो। वर्षमा आउने ठूलो बाढीले गर्दा राप्तीपारिका यी गाविसको नेपालगन्जसँग सम्बन्ध विच्छेद हुने गर्दछ। सडकसँगै राप्ती नदीको पुलको लम्बाइ पनि बढाउनुपर्ने सम्बद्धहरू बताउँछन्। मन्त्री लेखकले राप्ती पुलको तीन सय मिटर लम्बाइ बढाउने आश्वासन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्