वैदेशिक मुद्रा बहिर्गमनमा नियन्त्रण जरुरी



(प्रदीप उप्रेती) विश्वका अन्य मुलुकहरूको दाँजोमा आर्थिक विकासमा पछाडि परेको हाम्रो जस्तो मुलुकले आर्थिक विकास गरी उन्नति गर्ने अवसरमा पक्कै पनि स्वदेशी मुद्राको अहम् भूमिका रहने गरेको पाइन्छ । तर अन्य परिवर्तित वैदेशिक मुद्राहरूको दाँजोमा हाम्रो जस्तो अत्यन्त कमजोर अवस्थामा रहेको मुद्राले आर्थिक सुविधाहरू सहजरुपमा खरिद गरी आर्थिक विकास गर्न त्यति सम्भव देखिँदैन । तसर्थ यसका लागि परिवत्र्य विदेशी मुद्राहरूको अवश्य पनि अहम् भूमिका रहने नै छ । किनकि विश्वको जुनसुकै मुलुकमा पनि मुद्रालाई विनिमयको प्रमुख साधन मान्न सकिन्छ । यदि सम्पूर्ण व्यापार तथा व्यवसायको क्ष्ोत्रमा मुद्रालाई हटाइदिने हो भने त्यहाँ पक्कै पनि आर्थिक शून्यता छाउने कुरा कसैको पनि दुई मत हुन सक्दैन । यसको विकल्पमा कि त वस्तु विनिमय प्रणालीलाई नै अंगिकार गर्नुपर्ने हुन्छ । तर आजको युगमा वस्तु विनिमय प्रणालीलाई त्यति सफल विनिमय प्रणाली अवश्य पनि मान्न सकिँदैन, त्यसैले स्वदेशी वा वैदेशिक मुद्राको आर्थिक क्षेत्रमा अहम् भूमिका रहने कुरा निर्विकल्प छ ।

सामान्य हिसाबमा पुनः प्रयोग हुनसक्ने वस्तुलाई नेपालका विभिन्न स्थानबाट संकलन गरी विषेश गरी भारतका विभिन्न शहरलगायत विश्वका अन्य मुलुक जहाँ पुनः प्रयोगमा आउने सक्ने कच्चा पदार्थका रुपमा प्रयोग गर्नका खातिर निर्यात गरिन्छ । यसरी निर्यात गर्दा नेपालका बैंकहरूमार्फत परिवत्र्य भारु वा परिवत्र्य अमेरिकी डलरका साथै अन्य वैदेशिक मुद्राहरूमा नै परिवर्तन गरी सम्बद्ध मुलुकतर्फ यस्ता सामानहरू बिक्री वितरण गरेबापत प्राप्त हुने स्वदेशी नेपाली मुद्राहरूको सट्टामा परिवत्र्य विदेशी मुद्राहरू बाहिरिने क्रम वर्षौंदेखि निरन्तर भइरहेको छ ।

यस्ता आर्थिक गतिविधिबाट एकातिर हामीले निक्कै सस्तो दरमा अर्थात् कवाडीको भाउमा पुनः प्रयोग हुने वस्तु निर्यात गरिराखेका छौं । तिनै वस्तु जसलाई हामीले कवाडीका भाउमा बिक्री गरेका थियौं आज फेरि उच्च गुणस्तरीय कच्चा पदार्थ वा गुणस्तरीय वस्तुको रुपमा हामीले खरिद गरी वर्षौंदेखि आयातसमेत गर्दै आएका छौं । यसबाट करोडौं रुपियाँको राजस्वमा समेत चुहावट हुनुको साथै आर्थिक प्रगतिमा पनि नकारात्मक असर पर्न जाने देखिन्छ । किनकि तयारी वस्तुको तुलनामा कच्चा पदार्थमा भन्सार महसुल निक्कै कम लाग्ने गरेको पाइन्छ ।

तसर्थ यस प्रकारका आर्थिक गतिविधिमा सम्भव भए परिवत्र्य भारतीय मुद्रामा अझ आजभोलि त भारुको सट्टामा परिवत्र्य अमेरिकी डलर वा यस्तै अन्य वैदेशिक मुद्रामा नै सामान आयात गर्नुपर्ने बाध्यता रहेको छ । अन्ततः ठूलो मात्रामा सञ्चित अवस्थामा रहेको वैदेशिक मुद्रा खर्चिनुपर्ने परिस्थिति कायम भएको छ भन्दा त्यति फरक नपर्ला । यसो हुनको मूल कारक तत्व भनेको हाम्रो मुलुकमा विषेश गरी त्यस्ता पुनः प्रयोगमा आउने वस्तुहरू प्रयोग गरी स्तरीय उत्पादन गर्ने उद्योगहरूको संख्या नगन्य मात्रामा हुनु नै हो ।

अतः यस प्रकारका पुनः प्रयोगमा आउन सक्ने वस्तुहरू उत्पादन गर्ने उद्योगहरू हाम्रै मुलुकभित्र स्थापना हुन सकेको भए आज औद्योगिक कच्चा पदार्थ आयात गर्नको लागि मात्रै बर्सेनि बहिर्गमन हुने ठूलो मात्राको विदेशी मुद्राको सञ्चित हुन गई नेपालका औद्योगिक प्रतिष्ठानहरूले फस्टाउने मौका पाउने थिए । साथै वैदेशिक मुद्राको बहिर्गमनमा रोक लाग्ने थियो । यस प्रकारको कार्यलाई वास्तवमा निरन्तरता दिने हो भने पनि आज मुलुकमा देखा परेको भारतीय सरकारबाट गरिएको भारुको अमौद्रिकीकरणको अवस्थाले नेपालमा भारु सटही सुविधा प्राप्त गर्न नसकी सिर्जित समस्याबाट पार पाउनुका साथै अमेरिकी डलरको सञ्चित घट्न गई विदेशबाट डलर भित्र्याउनुपर्ने समस्यालाई पनि केही हदसम्म कम गर्न सहयोग पुग्ने थियो । तर यसलाई विडम्बना नै भन्नुपर्ने हुन्छ । स–साना मात्रामा गरिने यस्ता कार्यलाई निरुत्साहित पार्ने कार्यमा हामीले कहिल्यै पनि चनाखो भई हेक्का राख्ने प्रयत्न नै गरेनौं ।

यदि पुनः प्रयोगमा ल्याउन सक्ने वस्तुहरूलाई बाह्य मुलुकमा निर्यात गर्ने प्रवृत्तिलाई निरुत्साहित पार्दै ती वस्तुको प्रयोग गरी सोमा आधारित वस्तुहरू उत्पादन गर्ने उत्पादनमूलक उद्योगहरूको अत्यधिक सख्यामा वृद्धि गर्न सकेको खण्डमा करोडौंको वैदेशिक मुद्रा बाहिरिने क्रममा ह्रास आउने निश्चितै छ । यस्ता गतिविधिलाई निस्तेज पार्न सकेमा आज मुलुकको मूल समस्याको रुपमा रहेको बेरोजगारी समस्या हल गर्न पनि सहज हुने थियो । औद्योगिक कच्चा पदार्थ उत्पादन गर्ने उत्पादनमूलक उद्योगको अत्यधिक मात्रामा स्थापनाले पक्कै पनि मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउँछ । साथै रोजगारीको नयाँ सम्भावनाको ढोका खोल्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । यसका अतिरिक्त स्वदेशी उद्योग तथा स्वदेशी वस्तुहरूलाई संरक्षण एवम् प्रवद्र्धन गर्नमा यस्ता कार्य निक्कै लोकप्रिय हुनसक्छन् ।

रिसाइक्लिङ उद्योगहरू आफ्नै मुलकमा स्थापना हुनसके निःसन्देह नेपाली अर्थ व्यवस्थामा सुधार आउन सक्छ । अतः यस्ता पुनः प्रयोगमा ल्याउन सकिने वस्तुहरूको वैदेशिक निकासी अविलम्ब रोक्न लगाउनको लागि सम्बद्ध सबै पक्षको ध्यान जानु जरुरी छ । यस्ता प्रकारका गतिविधि बढ्न गएको खण्डमा एकातिर औद्योगिक कच्चा पदार्थहरूको अभाव सधैँ खड्किरहनेछ भने अर्कोतिर उत्पादनमूलक उद्योगहरूको स्थिति कच्चा पदार्थको अभावमा सधैँ अस्तव्यस्त हुन जाने देखिन्छ । परिणामतः मुलुकबाट वैदेशिक मुद्रा बहिर्गमन अनवरतरुपमा भई नै रहनेछ । अतः मुलुकको आर्थिक विकासका लागि हरेक उपाय गरेर वैदेशिक मुद्राको बहिर्गमनमा कमी ल्याउनै पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्