माघे संक्रान्तिमा चराहरु मारिएनन्


हेटौंडा,(नेस)।

माघे संक्रान्तिका दिन खाने तरुल अघिल्लो दिनमै तयार पार्ने प्रचलन छ । पहिले मानिसहरु तरुल खोज्न जंगल जाने गर्दथे र चरा मार्थे । परम्पराकारुपमा विकसित भएकाले बालबालिकादेखि पाकासम्म चरा लखेट्न कस्सिन्थे ।

गाउँभरिका मानिस मिल्थे, जंगलबाट खेदेर बेंसीसम्म ल्याउँथे अनि आत्तिएर बेहास भएका चरालाई कसैले त्यत्तिकै समात्थे, कसैले लौरोले हिर्काउँथे । उत्तरी मकवानपुरमा हुँदै आएको चरा खेदेर मार्ने यस्तो क्रम रोकिएको छ । यसपालि पालुङ क्षेत्रमा ‘भ्याकुर खेदाइ’ भएन । माघे संक्रान्ति आयो–गयो तर, चराहरु मारिएनन् ।

हरेक वर्ष माघे संक्रान्तिका बेला पालुङ क्षेत्रमा धेरै चरा मारिन्थे । परम्पराका नाममा चरालाई लखेटीलखेटी मारिन्थ्यो । उक्त परम्परालाई गाउँघरमा ‘भ्याकुर खेदाइ’ भनेर बुझिन्थ्यो ।

समुदायमा आएको जागरणका कारण तिनीहरु गुलेलीको निशानाबाट जोगिएका छन् । ‘अरु बेला त चरा मार्ने प्रचलन हटेकै छ, माघे संक्रान्तिमा पनि हट्यो,’ ऋषेश्वर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष राजेश केसीले खुशी व्यक्त गरे । सामुदायिक भएपछि हाल दामन पालुङका बनमा चराचुरुंगी बढेका छन् ।

शिखरकोटका दुर्गाबहादुर छुमी सम्झन्छन्– त्यसरी लखेटिनेमा खास गरी भ्याकुर प्रजातिका चरा हुन्थे, संग्रेला पनि लखेटिन्थ्यो । चरा मारेर चाड मनाउने चलन भएकाले गाउँघरमा हाल पनि माघे संक्रान्तिमा खाइने मासुलाई ‘शिकार’ भन्ने चलन छ ।

सोल्टु सामुदायिक बन अध्यक्ष सीताराम कार्की जे भएका चराहरु केही वर्षयता आएर मानिसको निशानाबाट जोगिएको बताउँछन् । उनले भने– चिया पसलमा पनि गुलेली बेच्न राखेको देखिन्थ्यो, अहिले बजारमै पाउन मुस्किल छ ।

पालुङ क्षेत्रको जंगलमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पनि पाइन्छ । त्यसो त, त्यस क्षेत्रमा केकति प्रकारका चरा पाइन्छन् भन्ने विषयमा अध्ययन हुन बाँकी छ । विश्वमा अन्त कतै नपाइने काँडे भ्याकुर पालुङ उपत्यकामा पनि पाइन्छ । काँडे भ्याकुर समुद्री सतहबाट १ हजार २ सय मिटरमाथि रहेका क्षेत्रमा पाइने गरेको छ ।