‘संविधान संशोधन विषय नेपालको आन्तरिक मामिला’


काठमाडौं, (नेस)
छिमेकी मुलुक चीनले नेपालले अघि बढाएको संविधान संशोधन र कार्यान्वयनलाई नेपालको आफ्नो आन्तरिक मामिला भएको जनाउँदै राजनीतिक समस्याहरू आफ्नै पहलमा समाधान गर्ने विश्वास व्यक्त गरेको छ।

नेपालका लागि चिनियाँ राजदूत यु हङले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटवार्तामा यस्तो धारणा व्यक्त गर्नुभएको हो। साथै राजदूत युले भूकम्पपछिको पुनर्निर्माण कार्यमा नेपाललाई छिट्टै सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो।

आफ्नो कार्यकालमा दुवै देशको हितको पक्षमा अधिकतम उपयोग गर्ने प्रयास आफूले गर्ने राजदूत युले धारणा व्यक्त गर्नुभएको गौतमले बताउनुभयो।

प्रतिउत्तरमा नेता नेपालले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको उल्लेख गर्दै नेपाली भूमिमा चीन विरोधी कुनै पनि गतिविधि नहुने बताउनुभएको थियो। साथै उहाँले दुवै मुलुकबीच ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारलगायतका विषयमा सहकार्य हुन सक्ने बताउँदै राजदूत युको ध्यानाकर्षण गराउनुभएको थियो। चिनियाँ राष्ट्रपति सी जिन पिङले अघि सार्नुभएको ‘वन बेल्ट वन रोड’ को अवधारणाले आर्थिक सम्वृद्धिको ढोका खुल्ने नेता नेपालले विश्वास व्यक्त गर्नुभएको गौतमले जानकारी दिनुभयो।