बुद्धिजीवीहरू हराएको मुलुक

0
Shares

(डा. देवीप्रसाद आचार्य ) मुलुक अहिले मियोविनाको दाइँजस्तो भएको छ । नेपालीहरू अभिभावक नभएको घरको अवस्थाको परिस्थितिमा बाँच्न बाध्य छन् । समाज विभिन्न तह, वर्ग, क्षमता, सीप, कला, हैसियत र पेसा भएका नागरिकहरूको समागम थलो हो । हाम्रो मुलुकमा नागरिक समाज, बुद्घीजीवी, प्राज्ञ, पत्रकार, कानुनविद्, लेखक, प्राध्यापक, कवि, कलाकारलगायतका विभिन्न विद्हरूको अभाव छैन । यी सामाजिक हैसियत बनाएका सन्ततीहरू नेपाल आमाको दुर्दशा भइरहँदा पनि चुपचाप बसेको देख्दा लाग्छ उनीहरू स्वार्थमा हराएका नागरिक हुन् । बौद्घिक समाज राजनीतिक चास्नीमा भुल्दा देशका प्रगतिका बाटाहरू बन्द भएका छन् । मुलुक राजनीतिक दुष्कर्मको भेलमा हेलिएको छ ।

देश हामी सबैको साझा घर हो । यो घर बिग्रँदा, भत्कँदा हामी सबैलाई दुख्नुपर्दछ । घरपरिवारका अग्रज सदस्यहरूले नयाँ पुस्तालाई पारिवारिक संस्कार सिकाएजस्तै राजनीतिक दलहरूबाट मुलुकको विकास र समृद्घिमा गैरजिम्मेवार भएको अवस्थामा देशका बौद्घिकहरूले खबरदारी गर्नुपर्दछ । नागरिक राज्यको कामकाजीको शैलीबाट हैरान भएका छन्, सताइएका छन् । आवाजविहीन नागरिकले आ–आफ्नो ठाउँ र हैसियतबाट राज्यप्रति आक्रोश व्यक्त गरिरहेका छन् । यस्तो बखतमा समाजका अग्रज, पढेलेखेका, टाठाबाठा र सामाजिक हैसियत भएका इलिट्सहरूले राजनीतिक दल र राज्यले गरेका दुष्कर्मको विरोधमा दबाब सिर्जना गरेको पाइँदैन । बौद्घिकहरू कहाँ हराए ? किन चुपचाप बसिरहे ? देशले समाजका अग्रजहरूको भूमिका खोजिरहेको छ ।

विश्वको राजनीतिक विकासक्रमको अध्ययनमा देशलाई दुःख परेको बेला समाजका अग्रजहरूले देशलाई मार्गनिर्देश गरेको पाइन्छ । फ्रान्सको १७८९ को राज्यक्रान्तिमा तत्कालीन राजाको अत्याचारको विरुद्घमा त्यहाँका अग्रजहरूले नेतृत्व लिएर जनताको समर्थन र सहभागितामा भर्सेलिज दरबारबाट राजालाई हटाएर नेपोलियन बोनापार्टलाई राज्यको बागडोर सम्हाल्न जिम्मेवारी दिए । बोनापार्टले १० वर्षमा मुलुकको कायापलट गरिदिए । देशलाई समृद्घको मार्गमा लगे । मुलुकका विसंगतिहरूको निर्मूलीकरण गरे । छोटो समयमा फ्रान्सलाई जनचाहनाअनुरुपको समृद्घ देश बनाए । संसारमा मनपरि राज्य गर्ने सरकारका विरुद्घमा समाजका अग्रजहरूले नेतृत्व लिएर राज्यलाई दिशानिर्देश गरेका यस्ता दर्जनौं उदाहरण छन् ।

नेपाल सामाजिक चेतनाको स्तर कम भएको मुलुकमा पर्दछ । शिक्षित नयाँ पुस्ता वैदेशिक रोजगारीका लागि विदेशिएको छ । गाउँमा चेतनाको कमी, आर्थिक अभाव, पछौटेपन र गरिबीको चपेटा व्याप्त छ । यस्तो सामाजिक संरचनाको बनोट भएको देशमा शहरवासी चेतनशील अग्रजहरूले राजनीतिक दुष्कर्मको विरुद्घमा परिणाममुखी वैचारिक आन्दोलन नगरिदिँदा मुलुक पानीको पोखरीजस्तो गतिहीन अवस्थाबाट गुज्रिइरहेको छ ।

शिक्षा देश विकासको आधार हो । शिक्षित नागरिकहरू विचार, ज्ञान र सीपका स्रोत हुन् । यो शिक्षित वर्ग गतिशील भएन भने देशले दुःख पाउँछ । अहिले लोकतन्त्रका नाममा चलिरहेको मनपरितन्त्रका विरुद्घमा खरो खबरदारी हुन नसक्दा राजनीतिक भाँडभैलो भएको हो । देशलाई राजनीतिक दुश्चक्रको भूमरीमा हेलिएको हो । देशको यस्तो अवस्थामा पनि बौद्घिक समाजको भूमिका देखिँदैन । मानवअधिकारवादीका आवाज थुनिएका छन् । साहु–महाजन र उद्योग व्यवसायीहरू कमाउ धन्दामा मात्र लागेको नागरिक आरोप छ । कर्मचारीहरू राजनीतिक संघ–संगठनका सदस्य बनेर आफ्नो दुनो सोभ्mयाउन अभ्यस्त छन् । भ्रष्टाचार मौलाएको छ । शिक्षा र स्वास्थ्यको पहुँच सर्वसुलभ छैन । शैक्षिक संस्थाहरू थला परेका छन् । देशको यस्तो अवस्थामा पनि बौद्घिकहरू किन निदाएका छन् ? प्राज्ञहरू किन सुस्ताएका छन् ?

इतिहासमा हाम्रा पुर्खाको रगत–पसिनाले यो मुलुक कहिल्यै पनि अरुको उपनिवेश बन्नुपरेन । पृथ्वीनारायण शाहले सबै नेपालीलाई एउटै झन्डामुनि समेटेकोले हाम्रो राष्ट्रिय एकता बलियो भएको हो । नेपालीको राष्ट्रिय एकतालाई खलबल्याउन अहिले जताततैबाट आक्रमण भएको अवस्था छ । लोकतन्त्र आमनेपालीका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझंँ भएको छ । सीमित व्यक्ति र समूहले लोकतन्त्रलाई दुहुनो गाई बनाएका छन् ।

प्रजातान्त्रिक राज्यव्यवस्थामा विभिन्न क्षेत्रका अनुभव र ज्ञान भएका विज्ञहरूको देश निर्माणमा ठूलो भूमिका हुन्छ । तर यो सचेत वर्ग सुस्ताएको छ । पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट लिएको रायले नेपाल एकीकरणको यात्रामा मार्गदर्शक भएजस्तै प्रजातान्त्रिक मुलुकका बौद्घिक वर्ग र नागरिक समाजका अग्रजहरूले आमनागरिकका विचार र सुझावलाई आवश्यकताको आधारमा ग्रहण गर्दै राज्यलाई मुलुकको विकास र नागरिकको जीविकोपार्जनसँग गाँसिएका सवालहरूमा काम गर्न दबाब दिनुपर्दछ । राजनीतिक गतिविधिहरू असफल भएको अवस्थामा देशका अग्रजहरू अगाडि सर्नुपर्दछ ।

दलका नेताहरूले पार्टीगत, स्वार्थ र आत्मगत चिन्तनबाट माथि उठ्न नसकेको अवस्थामा समाजको अग्रज वर्ग नागरिकको साथ लिएर राज्यलाई दिशानिर्देश गर्ने कार्यमा लाग्नुपर्दछ । लोकको डर र लज्जाबोध नभएको राजनीतिक संस्कारको अन्त्य गर्न नागरिक दबाब भरपर्दो माध्यम हो । राजनीतिक प्रदूषणलाई सफाइ नगरी मुलुक बन्दैन । राज्यको प्रदूषित राजनीतिक कर्मलाई सुधार गर्न बौद्घिक वर्गको भूमिका अपरिहार्य छ ।

समाजमा स्थापित बुद्घिजीवी, समाजसेवी र प्राज्ञ वर्गले आपसी छलफल, अन्तरक्रिया, बहस गरी समसामयिक सामाजिक र राजनीतिक अवस्थालाई आधार बनाई सर्वसाधारण नागरिकको सहयोग र सहभागितामा राज्यलाई दबाब दिन आवश्यक छ । नागरिकले स्थायी सरकार खोजेका हुन् । देशको विकास खोजेका हुन् । सामाजिक रुपान्तरण खोजेका हुन् । आर्थिक समृद्घि खोजेका हुन् । भ्रष्टाचाररहित राज्यव्यवस्था, विधिको शासन र जनसेवामुखी प्रशासन चाहेका हुन् । राज्यले नागरिकका आवाजलाई बेवास्ता गरेको छ ।
आत्मकेन्द्रित राष्ट्रिय राजनीतिक संस्कृतिलाई बदलेर लोककेन्द्रित अभ्यासमा रुपान्तरण गर्न बौद्घिक वर्गको ठूलो भूमिका हुन्छ । समाजका अग्रजहरूको मार्गदर्शनको आधारमा समाज गतिशील हुन्छ । चेतनशील वर्गले राजनीतिक कर्मको खण्डन, मण्डन, आलोचना, टिकाटिप्पणी गरेर मात्र पुग्दैन, मुलुकको राजनीतिक भाँडभैलोलाई क्रमभंग गरेर स्वस्थ राजनीतिक संस्कारको विकास गर्न दबाब दिन सक्नुपर्छ । यसका लागि अब ढिला गर्नुहुँदैन ।