के हुँदै छ संविधान संशोधन ? फास्टट्रइकबाट १५ दिनमै टुंगिने


बीपी साह, काठमाडौं
स्टट्रइकबाट जारी भएको संविधान फास्टट्रइकबाटै संशोधन हुने भएको छ। १५ दिनभित्रै संविधान संशोधन प्रक्रिया पूरा गर्ने गरी काम अगाडि बढाइएको छ। संशोधन अंकगणितकै आधारमा हुने भएपछि दुई तिहाइ संसद् संख्या जुटाउन सरकारले तीव्र प्रयास गरेको पाइएको छ। सरकारका एक जना मन्त्रीले संशोधन पारित गर्ने आवश्यक संसद् संख्या सरकारसँग रहेको दाबीसमेत गरेका छन्।

व्यवस्थापिका संसद्का प्रवक्ता भरत गौतमका अनुसार १५ दिनभित्रै संशोधन पूरा हुने गरी प्रक्रियाहरू अगाडि बढाइएको छ। ‘राजनीतिक दलहरूको झमेला नहुने हो भने १५ दिनभित्रै संशोधन प्रक्रिया सकिनेछ।’ नेपाल समाचारपत्रसँग गौतमले भन्नुभयो– ‘फास्टट्रइकबाटै जाने हो भने १५ दिनमा संशोधन पूरा गरी अगाडि बढ्न सकिनेछ।’

‘संविधान संशोधन पारित गराउन आवश्यक बहुमत पुगेको छ’, कानुनमन्त्री अजय शंकर नायकले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘कमल थापा र विजय गच्छदारजीहरूसँग कुराकानी हुँदै छ। उहाँहरू सकारात्मक हुनुहुन्छ। अन्य पार्टीहरू पनि सकारात्मक देखिएका छन्। सजिलै संशोधन पारित हुनेछ।’

दोस्रो पटक संविधान संशोधनका लागि सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन (दोस्रो) विधेयक तीव्ररूपमा अगाडि बढाइएको छ। संशोधनको महत्त्वपूर्ण प्रक्रिया मानिएको जनतालाई जानकारी गराउन संशोधनलाई पत्रपत्रिकाबाट प्रकाशित गरिएको छ।

व्यवस्थापिका संसद्का प्रवक्ता गौतमका अनुसार संशोधन प्रकाशित भएपछि सर्वसाधारण जनताले आफ्नो विचार राख्नपाउनेछन्। ‘जनताले प्रत्यक्ष विचार राख्न नपाए पनि आफ्ना प्रतिनिधि (सांसद) मार्फत संशोधनमाथिको विचार सदनमा राख्नपाउनेछन्’, प्रवक्ता गौतमले भन्नुभयो– ‘संविधान कुन कुन विषयमा संशोधन भइरहेको छ भन्ने जानकारी जनताले सञ्चारमाध्यमबाट पाएपछि आफ्ना जनप्रतिनिधिको माध्यमले छलफलमा आफ्ना विचार राख्न पाउँछन्। उहाँहरूको मनमा लागेको विचार आफ्ना जनप्रतिनिधिलाई सुनाउने र उहाँहरूले सदनमा छलफलको क्रममा राख्नुहुनेछ।’

संशोधन प्रकाशित भइसकेपछि सदनमा सैद्धान्तिक छलफलमा ल्याइनेछ। छलफलका क्रममा संशोधनमाथि संशोधन राख्ने प्रावधान पनि रहेको छ। संशोधनमाथि ७२ घण्टाभित्र संशोधन राख्नसक्ने प्रावधान रहेको गौतमले बताउनुभयो।

त्यसपछि संशोधनसहित पुनः संसद्मा छलफल हुनेछ। सदनमा सम्भव नभए समिति बनाएर पनि संशोधनमाथि छलफल गर्न सकिने प्रावधान रहेको छ। त्यसपछि निर्णयका लागि प्रस्तुत गरिनेछ। तोकिएकै अवधिमा विनाअवरोध संशोधन प्रक्रिया अगाडि बढ्ने हो भने १५ दिनसम्ममा संविधान संशोधन प्रक्रिया सम्पन्न हुने गौतमले बताउनुभयो।

संविधान संशोधन पारित गराउन सत्ता पक्षले राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गर्दै छ। थापा र गच्छदारलाई सरकारमा ल्याउने अन्तिम तयारी गरिएको छ।

सरकारका एक जना मन्त्रीकाअनुसार थापा र गच्छदारलाई सरकारमा ल्याउन केही मन्त्रालय खाली गरिँदै छ। कुनले राजिनामा गर्दै छन् भन्नेबारे जानकारी नदिइए पनि मुख्य मन्त्रालयहरू मध्येबाट दुईवटा मन्त्रीले राजिनामा गर्न लागेको उनले बताए। माओवादी केन्द्रले आफ्नो कोटाको मन्त्रालय छोड्न तयार भए पनि नेपाली कांग्रेसको तर्फबाट निर्णय भइनसकेको उनले बताए।