ब्ल्याकमा सुन छइप्छइप्ती



ईश्वरराज ढकाल, काठमाडौं
राजधानीलगायत देशभर सुन अभाव भएको मौका छोपेर तस्करी गरी ल्याइएको सुन ‘ब्ल्याक’मा किनबेच गर्न शुरू भएको छ। माघ र फागुन महिना विवाहको मौसम हो। यही बेलामा कालिगढ वा व्यापारीले सुनको मूल्य बढी लिएर बेच्न थालेका छन्। सुन व्यवसायीले सुनको नयाँ गहना बनाउन नसकेपछि कतिपयले व्यापार नै बन्द गर्न थालेका छन् भने कतिले बजारमा सुन नभएको मौका छोपेर बढी मूल्यमा गहना बेच्न थालेका छन्।

एक सुन व्यापारीले नाम नबताउने सर्तमा भने– ‘मैले त सुन नपाएपछि व्यापार नै बन्द गरेर बसें। तर कतिपय व्यापारीले एक तोलाको १० रुपियाँ हजारसम्म बढी लिएर व्यापार गर्न थालेका छन्। अहिले सुन पसलमा गएर नयाँ गहना बनाउन खोज्दा तपाईं पाउनुहुन्न तर बढी रकम तिरेर सुन किन्न सजिलै पाउनुहुन्छ।’

राष्ट्र बैंकले देशभरका करिब २३ हजार व्यापारीलाई दैनिक १५ किलो सुन उपलब्ध गराउँदा राजधानीलगायत देशैभर सुन अभाव हुन थालेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बजारमा सुन छैन, कसरी व्यवसाय चलिरहेको छ भन्ने विषयमा सरकारले चिन्तासम्म गरेको छैन।’ उहाँले दर्ता नभई सञ्चालन भइरहेका व्यवसायीले के गर्छन् भन्ने विषयमा आफूलाई जानकारी नभएको तर महासंघका व्यापारीलाई कोटा सुन नपाएर समस्या परेको बताउनुभयो।

विवाहको मौसम आइरहेकाले सुन  खरिद गर्न जाने ग्राहकसँग व्यापारीहरूले तोकिएको मूल्यमा बेच्न सुन छैन भन्ने गरे पनि प्रतितोला १० हजार रुपियाँ बढी तिरेको अवस्थामा सुन जताततै पाइने अवस्था।

 

उहाँले सुन बढी मूल्यमा किनबेच हुने गरेको आफूले पनि सुनेको तर कसले, कहाँबाट, कसरी सुन ल्याएर बढी मूल्यमा बेच्छन् भन्ने विषयमा जानकारी नभएको दाबी गर्नुभयो। सिजनमा सुनको कोटामा वृद्धि नगरे देशैभरका सुन पसल बन्द गरेर आन्दोलनमा उत्रने तयारी गरेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो– ‘अहिले सुनको अवस्था बुझ्न देश दौडाहामा लागेका छौं, तत्काल कोटा नबढाए सशक्त आन्दोलनमा उत्रनेछौं। केही दिनमा बैठक बसेर कोटा नथपे आन्दोलन गर्ने तयारी गरेका छौं।’

सरकारले कोटा नबढाएका कारण सुनमा कालोबजारी हुन थालेको बताउँदै नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले आवश्यकताअनुसारको सुन नदिँदा कालो बजार भएको हुनसक्ने दाबी गर्नुभयो।

‘सुन नपाएर मैले त पसल बन्द गरेको छु, आभूषण कुञ्ज गहना पसल सञ्चालन गर्दै आएका शाक्यले भन्नुभयो– ‘तयारी अवस्थामा रहेको गहना हो भने बेच्ने नयाँ हो भने सुन नै छैन भन्दै पठाउने गरेको छु।’ उहाँले खुल्लमखुल्ला बिक्री नभए पनि कहीं कतै कालो बजारीयाले बिक्री गर्दै आएको हुनसक्ने बताउँदै उहाँले भन्नुभयो– ‘बजारमा सुन नै नभएपछि के गर्ने? पेसा त बचाउनै पर्यो नि।’ उहाँले सरकारसँग कोटा थप गर्ने कुरा गर्यो भने कहाँ हुन्छ, नुन किन्न नसकेको अवस्थामा कहाँ सुन किन्ने? भनेर ठाडो जवाफ पठाउँछ, मुलुकमा यतिका धेरै व्यावसायी छन् व्यापार सञ्चालन गर्ने भएकोले कुनै उपाय लगाएर भए पनि सुन ल्याउनै पर्यो नि भन्नुभयो।

सुन व्यापारीका सुन किन्न गएका एक ग्राहकले नेपाल समाचारपत्रसँग भने– ‘तयारी गहना जति पनि पाएका छौं, सुन किनेर गहना बनाउन खोज्दा सुनको अलि बढी मूल्य पर्छ, तपाईं तयार हुनुहुन्छ भन्छन्।’ स्रोतका अनुसार कतिपय व्यापारीले कालिगढमार्फत तस्करी गरी ल्याएको सुन ब्ल्याकमा किन्ने गरेका छन्।

महासंघका अध्यक्ष सुनारले कसैले पनि सुनको कालो बजारी गरे तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘कसैले ग्राहकसँग कालोबजारी गरेको थाहा पाए हामीलाई जानकारी दिनुस् हामी कारबाही गर्छौं।’ तर राजधानीका अधिकांश व्यापारीले तोलामा केही रकम बढी लिएर गहना बनाउने गरेका छन्। ‘सरकारले ५ किलो बढाउने आश्वासन दिएको छ, सिजनमा यति भए पनि ठूलो राहत हुने हामीले महसुस गरेका छौं।’ –महासंघका अध्यक्ष सुनारले भन्नुभयो। उहाँले भन्नुभयो– ‘यस्तै कारणबाट पनि सुन तस्करी बढेको हुनसक्छ।’

देशभर महासंघका दर्ता भएका व्यावसायीलाई दैनिक १५ केजी सुन भागवण्डा गर्दा एक जनाको भागमा पौनै ग्राम मात्र आउँछ, पौने ग्राम सुनले के गर्ने? पसल चलाउने कि बन्द गर्ने? सुन व्यवसायीको भनाइ छ। नेपाल राष्ट्र बैंकले गत वर्षसम्म लगनमा २५ किलो सुन उपलब्ध गर्ने गरेकामा अहिले घटाएर १५ किलोमा झार्दा बजारमा सुन अभाव भएपछि तस्करले भित्त्याएको सुन किनबेच हुन थालेको हो। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले राष्ट्र बैंकको बोर्डको बैठक बसेर कोटा बढाउने विषयमा निर्णय हुने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्