(चिरञ्जीवी नेपाल) २५० वर्षअगाडि बाइसे–चौबीसे राज्यका रुपमा रहेका करिब ५० भन्दा बढी संख्याका भुरेटाकुरे राज्यहरूलाई एकीकरणको सूत्रमा आबद्ध पार्दै नेपाल राष्ट्र निर्माण गर्ने अभियन्ता हुन् पृथ्वीनारायण शाह । भारतमा मुगल साम्राज्यको पतन र अङ्ग्रेज शासकहरूको जगजगीका बीचमा उनले वि.सं. १८०१ मा नुवाकोटबाट एकीकरणको शुभारम्भ गरेका हुन् । एकीकरण अभियानका क्रममा गोरखाबाट नुवाकोट, कान्तिपुर, ललितपुर, कीर्तिपुर र भक्तपुर हुँदै वि.सं. १८२६ मङ्सीर १ गते ‘नेपालु राज्यको जन्म गराएका हुन् । वि.सं. १८३१ मा उनको निधनपछि सुगौली सन्धिको समयावधिसम्म ४२ वर्ष एकीकरण अभियान चल्यो । यो अवधि स्वाधीन, सशक्त र एकीकृत राष्ट्रको रुपमा नेपाल जन्मनको लागि प्रसव वेदनाको समय थियो ।’
उनी राजा मात्र थिएनन्, कुशल सेनानायक, प्रशासक, समाजशास्त्री, कूटनीतिज्ञ र औद्योगिक नीति निर्माता पनि थिए भन्ने कुरा तत्कालीन इतिहासले बताउँछ । उनले आफ्नो सैद्धान्तिक कुशलतालाई व्यवहारमै उतारेका थिए । जुन कुरा उनको राज्यसञ्चालन गर्ने तरिका र महावाणीबाटै स्पष्ट हुन्छ । यो देशको निर्माणमा उनको योगदान अद्वितीय र आविस्मरणीय छ । उनी जस्ता महत्वाकांक्षी व्यक्तित्वको साहस, संकल्प र दूरदर्शितापूर्ण पहलबाट मात्र यो राष्ट्रको निर्माण सार्थक भएको इतिहास साक्षी छ ।
सन्दर्भ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको, वि.सं. २०५९⁄०६० तिर उनको शालिक भत्काउने र ध्वस्त पार्ने लहरै चल्यो । यो देशको इतिहासलाई धुलिसात पार्ने नियतले उनलाई खलनायक साबित गर्न खोजियो । वि.सं. २०६२⁄२०६३ पछि देश र जनताप्रति उत्तरदायी बनेको ‘राष्ट्रवादी’ सरकारले विगतमा मनाउँदै आएको पौष २७ गतेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई खारेज गरिदियो । सरकारी तवरबाटै गलत कदमको शुरुवात थियो त्यो । मानौं उनी खराब थिए र यो देश निर्माणमा उनको कुनै योगदान नै थिएन वा यो देश एकीकरण गरेर उनले ठूलो अपराध गरे । होइन भने छिमेकीको राष्ट्रप्रमुख आउँदा तामझामका साथ राष्ट्रिय बिदा मनाउने सरकारले किन एकता दिवस मनाउन छोडेको ? यसको गाम्भीर्यतातर्फ नेपाली सचेत रहनै पर्छ । त्यस्ता व्यक्तित्वको उदय नभएको भए शायद आजको स्वाधीन राष्ट्रको रुपमा नेपालको पहिचान असम्भव थियो । यो ऐतिहासिक र तत्कालीन परिवेशमा गरिने मूल्यांकनले मात्र उनको अतुलनीय योगदान बुझ्न सकिन्छ ।
स्मरण रहोस्, जर्मनहरू अटोफन बिस्मार्कलाई, इटालीयनहरू जिउसेप्पी गैरिवाल्डी, चिनियाँहरू चिनसिंह हाङती र रसियनहरू इभाल्द टेरिवललाई राष्ट्रनिर्माता मान्छन् र श्रद्धा जाहेर गर्छन् । त्यस्तै हामीले पनि उनको सम्झना र सम्मान गर्नुपर्छ । यो नेपालीको कर्तव्य हो । उनैले निर्माण गरेको राष्ट्रको नागरिक भएर उनी र उनका सन्तानलाई तल्लो स्तरको गालीगलौज गर्ने प्रवृत्ति बढेर गएको छ । भागवण्डा गर्दै देशलाई जन्मदिनको केक काटेझैँ कित्ताकाट गर्न पाउँदा पनि उनलाई अनेक प्रकारको लाञ्छना लगाउँदै, युद्धसरदार र विस्तारवादी भन्नेसम्मको अतिवादी र दुराग्रही विचार व्यक्त गर्न थालिएको छ । आफ्नै राष्ट्रनिर्माताप्रति यो कस्तो कृतघ्नता हो ?
‘यो राज्य दुई ढुंगाको तरुलजस्तो रहेछ, चीन बादशाहसित ठूलो घाहा (मित्रता) राख्नु, दक्षिणको समुद्रका बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ, विदेशी महाजनलाई गोडप्रसाहदेखि माथि आउन नदिनु, विदेशी कपडा लगाउन मनाही गर्नु, प्रजा मोटा भया दरबार बलियो रहन्छ, राजाका भण्डार भनेका रैतानहरू हुन्, मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो चेतना भया ।’ यति लामो समय र युगान्तकारी परिवर्तनपछि पनि उनका दिव्योपदेशहरू राष्ट्रियताका दृष्टिकोणले कालजयी र सान्दर्भिक छन्, जति हिजो थिए । उनी दूरद्रष्टा थिए भन्ने कुरा अनि देश र जनताप्रति उनको दृष्टिकोण उपरोक्त पंक्तिले नै स्पष्ट पार्छ ।
यसर्थ, सरकारले पौष २७ लाई पुनः पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी देशव्यापीरुपमा मनाउनुपर्छ । यो बहुसंख्यक जनताको माग हो । र, वर्तमानको आवश्यकता पनि हो । राष्ट्रनिर्माताले जसरी नेपाल निर्माण गरी उनी र उनका उत्तराधिकारीले यसलाई बचाएका थिए, त्यसै गरी आजको परिवर्तित भूराजनीतिक परिवेशमा राष्ट्रिय अस्तित्व, पहिचान र स्वाभिमानलाई जोगाएर समृद्ध र एकताबद्ध नेपालको परिकल्पनालाई साकार पार्ने चुनौती नेतृत्वका सामु आएको छ । सत्ता, शक्ति र विदेशीको पैसाको चक्रव्यूहमा फसेर यो चुनौती र राष्ट्रिय एकतालाई बेवास्ता गर्दै विदेशीको गुलाम बन्ने मानसिकताबाट माथि उठेर सरोकारवालाहरूले देश बचाउने प्रयास गर्नै पर्छ । विदेशीहरूद्वारा लादिएका धार्मिक, सांस्कृतिक र भाषिक षड्यन्त्रपूर्ण व्यवहारबाट सजग हुनुपरेको छ । किनकि आज हाम्रो अगाडिको चुनौती पृथ्वीनारायणले २५० वर्षअघि सामना गरेको चुनौतीभन्दा चौतर्फी रुपबाट झनै सशक्त, भयावह र घनिभूत भएको छ ।
(लेखक नेपाल अधिवक्ता हुनुहुन्छ ।)
प्रतिक्रिया