पूर्व राज्यमन्त्रीविरुद्ध मुद्दा दायर साढे ३१ करोड भ्रष्टाचार


नेपाल समाचारपत्र
काठमाडौं
पूर्वराज्य मन्त्री सञ्जयकुमार साहले पदको दुरुपयोग गरी ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाले अकूत सम्पत्तिमा हालसम्मकै ठूलो परिमाणको मुद्दा दायर भएको नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो। पूर्वराज्य मन्त्री साहले आफ्ना परिवारका सदस्यहरू तथा कम्पनीका कर्मचारीहरूको नाममा गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोप अख्तियारले लगाएको छ।

साहले आफ्ना बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, श्रीमती रंगीला देवी र भाइ रामकुमार साहको नाममा गैरकानुनीरूपमा कमाएको अकूत सम्पत्ति लुकाएर राखेको अख्तियारले आरोप लगाएको छ।

अख्तियारले वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपियाँ २७ पैसा साहले अवैधरूपमा कमाएको दाबी गरको छ। अख्तियारले साहले मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक जीवनयापन गरेको, आफ्नो हैसियतभन्दा बढी खर्च गरेको जस्ता आरोप लगाएको छ।

साह २०६५ सालदेखि २०६९ सालसम्म सभासद्, २०६५ सालदेखि २०७० सालसम्म भौतिक योजना तथा निर्माण राज्यमन्त्री, २०७० देखि हालसम्म निलम्बितरूपमा व्यवस्थापिका–संसद्को सदस्य रहनुभएको छ। आफ्नो नाममा रहेका कम्पनीका कर्मचारीहरू राममिलन राउत कुर्मी, मनोजकुमार सिंहकी श्रीमती नीलम सिंहसमेतको नाममा साहले सम्पत्ति लुकाएर राखेको पनि पाइएको अख्तियारको दाबी छ।

साहका भाइ रामकुमारको नाममा रहेको मिथिला मनी ट्रान्सफर प्रालिले एक शाखाबाट अर्को शाखामा रकम पठाउँदा र झिक्दा बैंकिङ प्रणालीको प्रयोग गरेको नपाइएको पनि अख्तियारको भनाइ रहेको छ। साहले हुण्डीसमेत सञ्चालन गरेको पाइएको बताइएको छ।

यसैगरी साहको परिवारको नाममा रहेको मिथिला आयल स्टोर्सले राजस्व छली गरेको पनि अनुसन्धानको क्रममा पाइएको अख्तियारद्वारा दायर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

अख्तियारले मनी ट्रान्सफरले गरेको अनियमितताको बारेमा नेपाल राष्ट्र बैंक र मिथिला आयल स्टोर्सको राजस्व छलीको बारेमा थप छानबिन गर्न राजस्व अनुसन्धान विभागलाई जानकारी गराएको पनि अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।