सविनाले ल्याइन् सार्थक


गायिका सविना कार्कीको तेस्रो गीति अडियो एल्बम सार्थक हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। उनको एकल एल्बमको गायक आनन्द कार्की, गीतकार श्रीपुरुष ढकाल, संगीतकार अनिल शाहीलगायतले संयुक्त रूपमा विमोचन गरेका हुन्।

कार्यक्रममा गायिका कार्कीले गरेका सामाजिक कामलाई समेटेर तयार पारिएको भिडियोको साथै एल्बममा समावेश रुनु पर्ला भन्ने डरले बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा नायिका नन्दिता केसी र गायिका कार्कीको छोरा सार्थक कार्कीको अभिनय रहेको छ।

कार्यक्रममा बोल्दै गायिका कार्कीले आफूले प्रत्येक ४⁄४ वर्षमा एल्बम ल्याउने गरेको रेकर्ड यो पटक तोडिएको र दोस्रो एल्बम निस्केको करिब ५ वर्षपछि मात्र यो एल्बम ल्याएको बताइन्। ‘संगीत मेरो दुःखसुखको साथी हो। संगीतमा लागेर मैले के पाएँ भन्दा पनि के पाइनँ भनेर सोध्ने बेला आएजस्तो लाग्छ। किनभने यस क्षेत्रमा लागेपछि मैले धेरै जनाको माया पाएको छु उनले भनिन्।

त्यसै गरी गीतकार श्रीपुरुष ढकालले एल्बमको व्यवसायिक सफलताको कामना गर्दै सामाजिक र धार्मिक कार्यसँगै गीतसंगीतलाई बढी समय दिनुपर्ने बताए। ‘सविनाजी गायनमा ढिलो प्रवेश गर्नुभयो कि भन्ने लाग्छ। तर पनि उहाँ गीत निकाल्न हतार गर्नुहुन्न, धेरै समयको अन्तरालमा राम्रा गीतहरु लिएर आउनुहुन्छ। उहाँ प्रायः सकरात्मक भावको गीत गाउनुहुन्छ। सामाजिक र धार्मिक कार्यमा लागेर संगीतमा अलि कञ्जुस गर्नुभएको हो कि जस्तो लाग्छ’– उनले भने।

यसै गरी गायक आनन्द कार्कीले आफूले गायिका कार्कीले पहिलो एल्बम निकाल्ने समयमा सानो सहयोग गरेको र त्यसपछि उनलाई आफूले फर्केर हेर्न नपरेको बताए। ‘संगीतमा पाइला टेक्न लागेको बेला मैले आफ्नो तर्फबाट सानो सहयोग गरेको थिएँ। त्यसपछि मैले उहाँलाई फर्केर पनि हेर्नु परेको छैन। नेपाली सांगीतिक क्षेत्रमा सविना कार्की आज सम्मानित नाम बनेको छ’– उनले भने।

सार्वजनिक एल्बममा आनन्दले सविनालाई गायनमा साथ दिएका छन्। सचिन सिंह, संजय खड्गी, बीबी अनुरागी, अनिल शाही, शम्भुजित बास्कोटा र सविना कार्कीको संगीत रहेका यी गीतमा सविना कार्की, श्रीपुरुष ढकाल, प्रकाशपुञ्ज, दिनेश अभिकारी, अनिल शाही र पबिन ढकालको रचना रहेको छ। एल्बममा ६ गीतसहित रुनु पर्ला भन्ने डरले बोलको गीतको ट्रइक समावेश छ। एल्बम आनन्द इन्टरटेन्मेन्टमार्फत बजारमा आएको हो।