![](https://newsofnepal.com/wp-content/uploads/2017/01/photo.jpg)
नैकापस्थित ब्राइट फ्युटर स्कुलका संस्थापक कमला कार्की स्मृति प्रतिष्ठानले चार क्षेत्रका विभिन्न संस्था र व्यक्तिलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुनेहरुमा संस्थागततर्फ पनौतीस्थित तेजगंगा बहुमुखी क्याम्पस र व्यक्तिगततर्फ सञ्चारिक समूहकी अध्यक्ष निर्मला शर्मा, गायिका रेखा शाह र पारा तेक्वान्डोका सोमबहादुर सुनुवार रहेका छन्। लिट्ल एन्जल स्कुलका संस्थापक एवं सांसद उमेश श्रेष्ठले नगद, सम्मानपत्र प्रदान गर्नुभयो। प्रतिष्ठानले क्याम्पसका अध्यक्ष डा. शम्भुभवानी कार्कीलाई ५१ हजार नगदसहित सम्मान गरिएको थियो। व्यक्तिगततर्फ १० हजार १ सय राशीबाट सम्मान गरिएको थियो।
नैकापस्थित ब्राइट फ्युचर स्कुलका निर्देशक प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीले आफ्नो आमा कमला कार्कीको स्मृतिमा सम्मान गरिएको जानकारी दिनुभयो। स्वर्गीय कमला स्कुलका संरक्षक हुनुहुन्थ्यो। कमला प्रथम स्मृति दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले एउटा विद्यालयका सञ्चालकले आमाको स्मृतिमा गरेको योगदान अविस्मरणीय रहेको बताउनुभयो। उहाँले समाजमा पहिचान स्थापना गर्न गरेको कार्यक्रमले आफू पे्ररित भएको बताउनुभयो। लामो समयदेखि समाज सेवामा लाग्नुभएका कमला कार्कीको योगदान महत्त्वपूर्ण रहेको बताउँदै उहाँले आमालाई सम्मान गर्न गरेको कार्यक्रमले समाजमा सकरात्मक सन्देश प्रवाह भएको बताउनुभयो।
कार्यक्रममा सम्मानित व्यक्तित्व डा. कार्की र निर्मला शर्माले आमाको नामबाट स्थापित पुरस्कारले सम्मान हुन पाएकोमा खुसी व्यक्त गर्दै संस्थाले थप प्रगति गर्दै जाने विश्वास व्यक्त गरे। कार्यक्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, संस्थाका उपाध्यक्ष सुवास घिमिरे, साहित्यकार डा. वनराज लम्साललगायतले बोल्नुभएको थियो।