पोखरामा राष्ट्रिय भलिबल हुने

0
Shares

धन बस्नेत, पोखरा

माघको तेस्रो साता पोखरामा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा माघ १८ देखि २२ गतेसम्म सृजना आमन्त्रण महिला ⁄पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो। आइतबार पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार महिला र पुरुष दुवै विधामा ६ टिम सहभागी हुने जनाइएको छ। ‘सृजना पोखरा आमन्त्रण कप’ उक्त भलिबल प्रतियोगितामा महिला तथा पुरुष इभेन्टमा छ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, न्यु डायमन्ड र हेल्प नेपाल स्पोर्टस क्लबले सहभागीता जनाउने आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ७७ हजार ७ सय ७७ रुपियाँसहित मेडल, प्रमाणपत्र र ट्रफि पुरस्कार प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए। प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ।
प्रतियोगितालाई सिर्जना विकास केन्द्रले मुख्य प्रायोजन गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमै प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा आयोजकको तर्फबाट क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र मुख्य प्रायोजकको तर्फबाट सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार सृजना विकास केन्द्रले मुख्य प्रायोजकबापत आयोजकलाई ७ लाख रुपियाँ दिइनेछ। आयोजकले प्रतियोगिताको प्रवेश टिकटबापत भएको आम्दानीको १० प्रतिशत द्वन्द्वपीडित बालबालिकाका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत सृजना विकास केन्द्रलाई दिने सम्झौतामा उल्लेख छ।

प्रतियोगिता सम्पन्न गर्न १८ लाख ६५ हजार खर्च अनुमान गरिएको छ। अन्य रकम प्रायोजक, ब्यानर, गेट टिकटबाट प्राप्त हुने लक्ष्य राखिएको छ। महिलाहरूको आयआर्जनमा सघाउन विभिन्न जिल्लामा सृजना बैंकिङ कार्यक्रममार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको सृजना विकास केन्द्रले पहिलोपटक खेलकुदमा लगानी गरेको हो। पश्चिमाञ्चल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको ब्यवस्थापनमा हुने प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुनेछ।