समाचारपत्रकर्मी बुढाथोकी पुरस्कृत


नेपाल समाचारपत्र
भक्तपुर
सहरी विकास राज्यमन्त्री मिठ्ठु मल्लले नेपाल समाचारपत्रका पत्रकार पुष्कर बुढाथोकीलाई यस वर्षको स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभएको छ।नेपाल पत्रकार महासंघ भक्तपुरको २०औं स्थापना दिवसको अवसरमा शनिबार महासंघ भक्तपुरले प्रदान गर्दै आएको नगद रु.२००५ सहितको पत्रकारिता पुरस्कार बुढाथोकीलाई प्रदान गरिएको हो।

कार्यक्रममा असल पत्रकारिता आवश्यक रहेको बताउँदै उहाँले असल पत्रकारिताले देशको आमूल परिवर्तनमा टेवा पुग्ने बताउनुभयो।कार्यक्रममा न्यूनतम पारिश्रमिक मूल्यांकन समितिका अध्यक्ष पोषण केसी, सांसद रामेश्वर ढुङ्गेल, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, मध्यपुरथिमी नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, सम्मानित पत्रकार बुढाथोकी, महासंघ भक्तपुरका उपाध्यक्ष सोम शर्मा बजगाईंलगायतले पनि सो अवसरमा बोल्नुभएको थियो।

महासंघ भक्तपुरका सभापति अमर भूजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघ भक्तपुरलाई सहयोग गर्ने एमाले भक्तपुरका प्रचार विभाग प्रमुख श्यामसुन्दर बस्नेत र रफत सञ्चार क्लबलाई सम्मान गरिएको थियो।