खुकुरी हान्ने मल्ल पक्राउसँगै तरुण दलका नेता पनि तानिए


कुमार श्रेष्ठ
बाँके नेकपा एमालेनिकट युवा संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सन्तोष बुढाथोकीलाई खुकुरी हान्ने लक्ष्मण मल्ल काठमाडौंमा पक्राउ परेका छन् ।
मल्ल पक्राउ परेसँगै कोहलपुर प्रहरीले शनिबार नै कांग्रेसनिकट तरुण दलका क्षेत्रीय सभापति दिगबिजय राणालाई नियन्त्रणमा लिएको छ । राणालाई प्रहरीले नियन्त्रणमा लिएपछि तरुण दलले केहीबेर कोहलपुर चौराहामा चक्काजाम गरेको थियो । प्रहरीले घटनामा ठूल्ठूला व्यक्तिको संलग्नता रहेको बताएको छ । ‘मल्लले केही भनेका छन् । अरुले पनि केही खुलाएका छन्, बिस्तारै सबैजना नियन्त्रणमा आउँछन्, इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डिएसपी सुरेश काफ्लेले भन्नुभयो ।
पुस १४ गते राती कोहलपुरको विद्युतरोडमा बुढाथोकीलाई खुकुरी प्रहार गरेपछि मल्ल काठमाडौं गएका थिए ।
कोहलपुर प्रहरीका अनुसार, बा १४ च ४७९ नम्बरको निजी गाडीमा एक दिन ढकेरी बसेर भोलीपल्ट काठमाडौं पुगेका मल्ललाई विशेष प्रहरी टोलीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डिएसपी काफ्लेले बुढाथोकीलाई खुकुरी हान्न लगाउने, काठमाडौंसम्म पु¥याउने र संरक्षण गर्ने सबैको पहिचान भइसकेको बताउनुभयो । ‘एक दर्जन संलग्न छन् । धेरैजसो पक्राउ परिसके । एक÷दुई जना बाहिर छन् । आजभोलीमा तिनीहरुलाई नियन्त्रणमा लिन्छौं र पत्रकार सम्मेलन गर्छौ, डिएसपी काफ्लेले भन्नुभयो, अपराधको जालो नै समाप्त पार्न प्रहरी लागि परेको छ ।’
घटनासँग जोडिएका केही व्यक्ति जेलमा समेत रहेको प्रहरी स्रोतले बताएको छ । बुढाथोकीलाई प्रहार गरिएको खुकुरी दुई हात लामो छ । ‘यो खुकुरीले त राँगा पनि छिन्छ होला । बुढाथोकीको घाँटी कसरी बच्यो, हामी नै अचम्ममा परेका छौं, एक प्रहरीले भने ।
युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको दश दिनपछि बुढाथोकीमाथि खुकुरी प्रहार भएपछि एमालेले घटनाका निष्पक्ष छानबिन गर्न र दोषी सबैलाई कारबाही गर्न चर्को दबाब दिएको थियो । शुरुवाती चरणमा युवाहरुका बीचमा झगडा भनिएपनि एमालेले त्यस्तो नभई राजनीतिक कारण रहेको बताउदै आएको थियो ।
काठमाडौंमा पक्राउ परेका मल्ललाई बाँके ल्याउने तयारी भएको छ । यता, खतरामुक्त रहेका बुढाथोकीको लखनउमा उपचार भइरहेको छ । बुढाथोकीलाई यसअघि नेपालगञ्जमै लखेटी–लखेटी खुकरी प्रहार गरिएको थियो ।

(तस्वीरमा पक्राऊ परेका लक्ष्मण मल्ल । )