वीपी कोइराला मेमारियल क्यान्सर अस्पतालको आकस्मिक बैठक


नेपाल समाचारपत्र
काठमाडौ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विगत नौ महिना देखि बस्न नसकेको संचालक समितिको बैठक आकस्मिक रुपमा शनिवार बस्यो । गत बिहिबारको मन्त्री परिषद्को बैठकले स्वास्थ्य मन्त्रालयले ल्याएको अस्पताल तथा स्वास्थ्य संस्थाका पदाधिकारी नियुक्ति सम्बन्धी नयाँ मापदण्ड अनुसार छ जना सदस्य मनोनय गरे पछि अस्पताल संचालक समितिको २३१ औ बैठक शनिबार बसेको हो ।
यस अघि संचालक समितिका सदस्य पूर्ण नहुदा विगत नौ महिना देखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समितिको बैठक बस्न सकेको थिएन ।
समितिको बैठकले अस्पतालको सुधार लगायतका विषयमा विभिन्न निर्णय समेत गरेको छ । लामो समय देखि अस्पतालमा देखिएको समस्या समाधान गर्न स्वास्थ्य मन्त्री गगन कुमार थापाले संचालक समितिका अध्यक्ष र निर्देशकलाई अस्पतलको सुधारगर्न निर्देशन दिनु भएको मन्त्रालय स्रोतले जनाएको छ ।
बैठकले अस्पताल सुधार लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको संचालक समितिका अध्यक्ष डा प्रकारशराज न्यौपानेले बताउनु भयो । उहाँले अस्पतालमा कार्यरत चिकित्सकहरुलाई नीजि किलनिक तथा स्वास्थ्य संस्थामा जान रोक लगाउने र अस्पताल भित्रै विस्तारित स्वास्थ्य सेवा (इएचएस) शुरु गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।
साथै बैठकले विगत तीन वर्ष देखि खरिद प्रकृयामा समस्या देखिएको पेट स्कान मेसिन खरिदका विषयमा स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्न समेत अनुरोध गरेको छ । त्यसैगरी नेपालगंजमा क्यान्सर अस्पताल संचालनको लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि अगाडि बढ्ने निर्णय गरेको छ ।
बैठकले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई नेशनल क्यान्सर इन्टिच्युटमा परिणत गर्न आवश्यक तयारी शुरु गर्ने समेत निर्णय गरिएको छ । अस्पतालले हाल विभिन्न देशका विश्वविद्यालयसँग समन्वय गरि क्यान्सर रोग सम्बन्धी अनुसन्धान गरिरहेको छ ।
स्वास्थ्य मन्त्रीबाट अस्पताल सुधारको लागि दिइएका निर्देशनहरु समयतालिका बनाई कार्यन्वयनमा लैजाने समेत बैठकमा निर्णय गरिएको न्यौपानेले जानकारी गराउनुभयो ।
अस्पतालको आव २०७३÷७४ को वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने र नेपाल सरकारद्धारा साउनदेखि लागु हुने गरि तलब वृद्धि र ग्रेडको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
संचालक समिति बैठकमा हाल कायम रहेका १२ सदस्य मध्ये अध्यक्ष डा. प्रकाशराज न्यौपाने, सदस्यहरु डा. दिपेन्द्ररमण सिह (प्रतिनिधि स्वास्थ्य मन्त्रालय), डा. तारा मानान्धर, डा. आरती शाह, डा. अनु कुशवाह, डा. सरिता घिमिरे, दिनेश कोइरला, सुस्मिता रिमाल र वीपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चीन बहादुर पुनको उपस्थिति रहेको थियो ।