स्थानीयबासीको अवरोधका कारण सडक विस्तार अलपत्र



भक्तपुर, (नेस)
स्थानीयवासीले सडक विस्तारमा अवरोध गरेपछि भक्तपुरका अधिकांश सडक निर्माण एवम् विस्तार अलपत्र परेका छन्।

डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार शुरू भएका अधिकांश सडक अलपत्र परेका हुन्। मध्यपुर थिमीको बाहाखा बजारबाट बोडे हँुदै मूलपानी जाने सात किलोमिटर लामो सडक विस्तारमा स्थानीयवासीले अवरोध पुर्याएका छन्।

कुल रु. १० करोड ६१ लाख ६४ हजार ७०० को लागतमा तीन किलोमिटर उक्त सडक २०७५ जेठ मसान्तभित्रमा विस्तार गर्न सम्झौता भएर काम शुरू भएको थियो। नगर विकास आयुक्त कार्यालयले सडक मापदण्डभित्र परेका घरको सीमांकन गरी भत्काउनुपर्ने घरमा रातो चिन्ह लगाए पनि स्थानीयवासीले भत्काउन अवरोध गरेपछि सडक विस्तार हुन नसकेको डिभिजन सडक कार्यालय प्रमुख गुरूप्रसाद अधिकारीले बताउनुभयो। यस सडकमा ५० भन्दा बढी घर मापदण्डविपरीत रहेकाले ती घर भत्काउन नदिएपछि बोडेबाट मूलपानीतर्फ सडक विस्तार कार्य भइरहेको र त्यसयता बस्तीबीचको सडकको भने काम रोकिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो।

अरनीको राजमार्गस्थित मध्यपुर थिमीको चार दोबाटोबाट कोरिया नेपाल मैत्रीअस्पताल हँुदै सिद्धिकाली चोक पुरानो बाटो सडकमा नगर विकास आयुक्त कार्यालयले सीमांकन गरेको सडक मापदण्ड मिचेर निर्माण भएका घर भत्काउन नदिँदा सडक विस्तार कार्य पूरा गर्न नपाएको सो कार्यालयले जनाएको छ। कूल रु ६ करोड ६२ लाखको लागतमा एक हजार १०० मिटर लम्बाइ र ११ मिटर चौडाइका रूपमा विस्तार उक्त सडकको बीच भागमा विस्तार कार्य भए पनि सडकको दुवैतर्फको मुखमा भने सडक विस्तार हुन नसकेको कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो।

चार दोबाटो चोक र सिद्धिकाली चोकमा मापदण्डविपरीत रहेका ११ वटा घर र एक सरकारी विद्यालय भत्काउन नदिँदा सडक विस्तारमा समस्या आएको हो। यो सडकमा रहेको १६ वटा विद्युतको पोल र ११ वटा नेपाल टेलिकमको पोल पटक⁄पटक हटाउन पत्राचार गर्दा पनि नहटेपछि सडक विस्तारको काममा थप अवरोध पुगेको कार्यालयले जनाएको छ।

त्यसै गरी मध्यपुर थिमीकै चारदोबाटो बालकोट सडक विस्तार कार्य पनि डेढ वर्षदेखि रोकिएको छ। २०७१ चैत १२ गते रु. एक करोड ५० लाख ७५ हजारमा विस्तार कार्य सम्पन्न गर्ने गरी ठेकेदारसँग सम्झौता भएर काम शुरू भएलगत्तै अवरोध भएपछि अहिले सडक विस्तार कार्य नै अलपत्र परेको छ। रोजभिलेजबाट बालकोट चोकसम्म विस्तार हुनुपर्ने ७०० मिटर उक्त सडक विस्तार कार्य अलपत्र परेको हो। शुरूमा १० मिटर चौडा सडक बनाउने गरी विस्तार शुरू गरे पनि सडकमा घर पर्ने पीडितका नाममा अदालतमा मुद्दा परेपछि रोकिएको थियो।
स्थानीय बासिन्दासँग भएको पटक⁄पटकको छलफलपछि १० मिटरलाई घटाएर आठ मिटर कायम गर्दै सडक चाँैडा गर्ने सहमति भई अदालतको मुद्दा फिर्ता लिए पनि विस्तार कार्य अगाडि बढ्न नसकेको डिभिजन सडक कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो। अनन्तलिङेश्वर नगरपालिकाको अगुवाइमा स्थानीय राजनीतिक दलको समेत संलग्नतामा हाल २६ फिट कायम गरेर विस्तार गर्ने अर्को सहमति भएको अधिकारीले बताउनुभयो।

यसै गरी स्थानीयको अवरोधकै कारण कौशलटार, बालकोट हुँदै बिरुवा जाने सडक पनि निर्माणमा अवरोध भएको छ। कार्यालय प्रमुख अधिकारीले अब पनि सडक विस्तार कार्यमा अवरोध पुर्याए कार्यक्रम र बजेट नै फिर्ता जाने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्