ख्यातिप्राप्त अभिनेता ओम पुरीको शुक्रबार बिहान आफ्नै निवासमा निधन भएको छ। ६६ वर्षीय उनको मुम्बईस्थित निवासमै हृदयघातका कारण निधन भएको बीबीसीको अनलाइन सेवाले जनाएको छ। उनको परिवारमा उनीसँग अलग भएका पत्नी नन्दिता र छोरा इशान छन्।
‘म स्तब्ध छु। मलाई विश्वास भइरहेको छैन। उहाँले बिहान छ⁄साँढे छ बजे अन्तिम श्वास फेर्नुभयो’, बीबीसीले नन्दिताले समाचार एजेन्सी पीटीआईलाई दिएको प्रतिक्रिया उद्धृत गर्दै उल्लेख गरेको छ– ‘उहाँ किचेन फ्लोरमा लडिरहनुभएको थियो।’
बीबीसीले फिल्म रामभजन जिन्दावादका निर्देशक खालिद किदवईलाई उद्धृत गर्दै बिहीबारको साँझ उनीसँग बिताएको जनाएको छ। किदवईका अनुसार ओमले बिहीबार उनका छोरा इशान्तलाई फोन गरेर उनीसँग भेट्न चाहेको खबर गरेका थिए। किदवईले सो भेटमा ओम पारिवारिक कारण धेरै भावुक रहेको जानकारी गराएका छन्।
बीबीसीको अर्को समाचारमा उल्लेख गरिएअनुसार ओम स्वयंले उनको निधन कसरी हुन्छ भन्ने बताएका थिए। उनले केही अगाडिको एक अन्तरवार्तामा आफ्नो निधन अचानक नै हुने बताएका बीबीसीको अनलाइन सेवाले जनाएको छ। ‘मृत्युको भय हुँदैन। बिमारीको डर हुन्छ। जब हामी देख्छौं कि बिमारीका कारण मानिस लाचार हुन्छन् र अरूप्रति निर्भर हुन्छन्। मलाई त्यस कारणले चाहिँ डर लाग्छ’, उनले भनेका थिए– ‘मृत्यको बारेमा त तपाईंलाई थाहा पनि हुँदैन। सुती–सुती गइदिन्छु। तपाईंलाई थाहा हुनेछ कि ओम पुरीको हिजो बिहान ७ बजेर २२ मिनेटमा निधन भयो।’ उनी यति भनेर हाँसेको बीबीसीले उल्लेख गरेको छ।
जीवन्त अभिनयका कारण मन पराइएका अभिनेता पुरीको निधन भएको खबर फैलना साथ भारतदेखि पाकिस्तानसम्मका उनका शुभचिन्तकले सामाजिक सञ्जालमार्फत् समवेदना र गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानी पत्रकार हामिद मिरले लेखेका छन्– ‘ख्यातिप्राप्त बलिउड तथा हलिउड अभिनेता ओम पुरी पाकिस्तान र भारतका बीच शान्ति स्थापित गर्ने कोसिसका कारण उनलाई याद गरिनेछ।’ रफी रहमानले लेखेका छन्– ‘ओम पुरी भारत र पाकिस्तानका बीच सधैं शान्ति चाहन्थे।’ उनले कतिपय फिल्ममा पाकिस्तानीको रोल गरेका छन्। पाकिस्तानमा उनको थुप्रै फ्यान छन्। उनीप्रति श्रद्धाञ्जली दिनेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, वीरेन्द्र सहवाग, अनुपम खेरलगायत पनि छन्।
भारतको रंगमञ्चका लागि समेत ठूलो नाम बनेका ओमले खास गरी कला फिल्मका लागि ख्याति कमाएका थिए। हलिउड फिल्ममा समेत अभिनय गरेका पुरी आक्रोश, अर्ध सत्य, गुप्त, जाने भि दो यारों, चाची ४२०, मालामाल विकलीमा गरेको यादगार अभिनयका कारण प्रशंसित थिए। उनी अन्तिमपटक घायल रिटर्नमा देखिएका थिए। उनले प्रारम्भिक शिक्षा पञ्जाबको पटियालाबाट पूरा गरेका थिए। भारतको सबैभन्दा ठूलो पुरस्कार पद्मश्रीबाट विभूषित उनले १९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट ग्राजुएट गरेका थिए।
प्रतिक्रिया