सिक्किम, लेण्डुप र ‘रअ’को नेपाल गतिविधि


(दीपेन्द्र पाण्डे) इतिहासमा नेपाल अनेकौँ समस्यासँग जुधेर विश्वराजनीतिक मञ्चमा शिर ठाडो पार्दै बाँचिरह्यो । अनेक बाधा, व्यवधान, षड्यन्त्रलाई सफलतापूर्वक पराजित गर्दै आफ्नो मान, सम्मान र स्थान कायम राख्न कुनै कसर बाँकी राखेन । हरेक कठिन घडीमा आफ्नो मौलिक छबिलाई अक्षुण्ण राख्दै सार्वभौमिकतालाई जीवित राख्ने दर्जनौँ सरकार निर्माण गर्न सफल भएकै हो । तर संविधान कार्यान्वयन गर्ने समयमा भारतको आशिर्वादले सिंहदरबारको कुर्सीमा पुग्न सफल दाहाल सरकारको गतिविधि देश र जनताको पक्षमा नदेखिनुले नेपाली राजनीतिको संक्रमणकाल अझै लम्बिने निश्चित छ । संविधानको सर्वस्वीकार्यताको नारा दिँदै भारत स्वीकार्यताको संशोधन प्रस्ताव संसद्मा ल्याउने दाहालको क्रियाकलापले निम्त्याएको नयाँ द्वन्द्व झन् चर्कंदै छ । तराईको समस्या समाधान गर्न पहाडमा समस्या सिर्जना गर्ने दाहाल गतिविधि र उनका अभिव्यक्तिले देशमा नयाँ समस्या सिर्जना हुने पक्का छ । हाल नेपालमा भैरहेका राजनीतिक षड्यन्त्र र भोलिको निम्ति बुनिएका तानाबानाहरू बुझ्न एकपटक सिक्किमको विगत र दुर्दशा बुझ्नै पर्ने देखिन्छ ।

सिक्किमः
नेपाल, चीन, भूटान र भारतबीच ७ हजार ९६ वर्गकिलोमिटरमा फैलिएको सानो देश सिक्किम १६ मे १९७५ भन्दा अघि एक राजतन्त्रात्मक सार्वभौम मुलुक थियो । लिम्बु, लेप्चा, नेवार, गुरुङ, मगर, शेर्पा, तामाङ र सुनुवारहरूको बसोबास भएको सिक्किमको राजतन्त्रात्मक उदय सन् १६४२ मा भएको हो । अर्गानिक राज्य सिक्किम बौद्ध धर्मावलम्बीहरूको स्वर्गभूमि बनाउने कार्यको योगदान आठौँ शताब्दीका बौद्ध धर्मगुरु पद्मसम्भवलाई जान्छ । भूटान र नेपालसँग लड्दै–भिड्दै चीनको सहयोगमा आफ्नो अस्तित्व बचाउन सफल सिक्किम सन् १८१४ मा नेपालसँग युद्ध गर्न बाध्य हुँदा ब्रिटिस इस्ट इन्डिया कम्पनीको सहयोगले जोगिन पुग्यो । फलस्वरुप सन् १८१७ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको सन्धिले गर्दा सिक्किम बेलायती अधीनमा पुग्यो । सन् १९४७ मा बेलायतीहरूको भारत फिर्तीपछि सिक्किम भारतीय युनियनको अंग बन्न इन्कार गर्दै स्वतन्त्र मुलुकका रुपमा रहने इच्छा जाहेर गर्यो । सन् १९५० मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँग सुरक्षा, सञ्चार, कूटनीति र वैदेशिक मामिला भारतलाई जिम्मा लगाउँदै इन्डो–सिक्किम सन्धि गर्न राजी भयो । सन् १९५३ मा स्टेट काउन्सिल बनाउने अधिकार पाएको सिक्किमको स्वतन्त्र अस्तित्व १६ मे १९७५ सम्म रह्यो ।

को हुन लेण्डुप ?
११ अक्टोबर १९०४ मा पाकयोङ इस्ट सिक्किममा जन्मिएका काजी लेण्डुप दोर्जे १९४५ मै सिक्किम प्रजा मण्डलका प्रमुख बनिसकेका थिए । १९५३ देखि १९५८ सम्म सिक्किम स्टेट कंग्रेस प्रमुख हुँदै १९६२ मा सिक्किम नेसनल कंग्रेसको राजनीतिमा जम्दै थिए ।

भारतीय कंग्रेससँग विषेश सम्बन्ध निर्माण गर्न सफल लेण्डुप २१ सेप्टेम्बर १९६८ मा भारतीय प्रधानमन्त्रीको मातहतमा रहने गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ सँग पनि उस्तै सम्बन्ध गाँस्न पुग्नुले उनीभित्र लुकेको सत्तामोहको जानकारी मिल्छ । जसले गर्दा ‘रअ’को आर्थिक सहायताले सन् १९७३ को सिक्किम परिषद्को चुनावमा आफ्नो दललाई प्रमुख बनाउन उनी सफल भए । बेल्जियन पिता र जर्मनी माताबाट जन्मिएकी स्कटिस पतिकी पत्नी एलिसा मारियासँग वैवाहिक जीवन गाँस्न पुगेका लेण्डुप सन् १९७४ मा भएको चुनावमा आफ्नो पार्टी सिक्किम नेसनल कंग्रेसलाई ३२ मध्ये ३१ स्थानमा भारी जीत दिलाउन सफल भए । भारतीय खुफिया संस्थाको आर्थिक, राजनीतिक समर्थनमा हुर्किएका लेण्डुप दोर्जे सिक्किमको प्रधानमन्त्री पदमा पुग्ने आधार चुनावको परिणामले तय गरिदिएकै थियो । ‘रअ’ को योजनामुताविक १६ मे १९७५ मा सिक्किमको औपचारिक भारत विलयपछि भारतको २२ औँ प्रान्त सिक्किमको मुख्य मन्त्रीको सपथ लिने लेण्डुप १९७९ सम्म सत्ता र शक्तिमा रहे । उनको उपादेयता समाप्त गर्दै १९७९ को चुनावमा शून्य सिट दिलाउँदै राजनीतिबाट मिल्काइएका लेण्डुप जीवनभर भारतकै निगाहमा बाँच्न विवश बनाइए । फलस्वरुप सिक्किमको भारत विलयको निम्ति सन् २००२ मा पदेमभूषण र २००४ मा सिक्किम रत्नले विभूषित हुँदै २८ जुलाई २००७ मा कालिङपोङ पश्चिम बङ्गालमा जीवन गुमाउन पुगे ।

चोग्याल सत्ताको पतन र सिक्किमको भारत विलयः
सन् १९६३ मा टासी नाम्ग्यालको मृत्युपछि राजा चोग्याल (पाल्देन थोनदुप नामग्याल) २२ वर्षीय अमेरिकन श्रीमती होप कुकसँग विवाह गर्दै सिक्किममा राज गर्दै थिए । सिक्किमकै काजी लेण्डुप दोर्जेकी बेल्जियन श्रीमती एलिसा मारिया र चोग्यालकी श्रीमती होप कुकको आन्तरिक शक्ति संघर्षले सिक्किमको राजतन्त्र आन्तरिकरुपमा कमजोर बन्दै थियो । भारतीय सत्ताको आर्थिक लगानीमा जन्माइएका, हुर्काइएका काजी लेण्डुपेको राजनीतिक पार्टी सिक्किम नेसनल कंग्रेसका गतिविधिबाट अनभिज्ञ राजा चोग्याल नेपाली राजा वीरेन्द्रसँग भएको काठमाडौं भेटघाटबाट रुष्ट भारतीय सत्ता अनेक षड्यन्त्रका तानाबाना बुन्दै थियो । सिक्किममा बसोबास गर्ने बुद्धिष्ट र अरु जातिको बीचमा विद्रोह गराउन भारतीय खुफिया एजेन्ट तेजपाल सेन अथाह पैसा (लेण्डुप मार्फत) लगानी गर्दै थिए । भारतीय सेनालाई सिभिल ड्रेसमा प्रयोग गर्दै सिक्किमवासी हिन्दुहरूलाई सिक्किमको विभिन्न ठाउँमा विरोध गराउने ‘रअ’को नीतिअनुसार लेण्डुप दोर्जे र तेजपाल सेन अहोरात्र खटिँदै जाँदा सफलता प्राप्त गर्दै थिए ।

भुूटानले संयुक्त राष्ट्रसंघको सदस्यता लिइसक्दा पनि सिक्किमलाई अझै तयार नबनाउने लेण्डुप पत्नी र चोग्याल पत्नीको क्रियाकलाप झन् शंकास्पद बन्दै थियो । जसको कारण भारतीय ‘रअ’ले ‘मिसन सिक्किम’ बनाउने सफलता पायो । ‘रअ’ले १९७१ मा निर्माण गरेको रणनीति ‘मिसन सिक्किम’बाट अन्जान चोग्याल सत्ता कसरी भारतमा गाभियो ? राम्रोसँग बुझ्न अशोक रैनाद्वारा लिखित पुस्तक ‘इनसाइड रअ’ (१९८१ जनवरीमा भारतबाट प्रकाशित) मा उल्लेख छ ।
छिटफुटरुपमा बुद्धिष्ट भेद्भावको विरुद्ध शुरु गरिएको सिक्किम विद्रोहलाई उचाइमा पुर्याउन ‘रअ’को योजनाअनुसार २७ मार्च १९७५ को क्याबिनेट बैठकमा लेण्डुप सरकारले भारतीय संसद्मा निवेदन दिने निर्णय गराउने सफलता प्राप्त गर्यो । सिक्किमलाई भारतीय युनियनको २२ औँ प्रान्त गराउन भारतीय संसद्मा परेको निवेदनलाई स्वीकार गर्दै भारतीय सेना सिक्किम प्रवेस गर्दा पनि चोग्याल सत्ताले थाहा नपाउनु झनै उदेकलाग्दो स्थितिले ‘रअ’को काम विनारोकतोक अगाडि बढ्ने अवसर मिल्यो । ६ अप्रिल १९७५ मा गान्तोकमा भारतीय सेना उतार्दै, चोग्याल दरबारको गेटपाले १९ वर्षीय वसन्तकुमार क्षत्रीको हत्या गर्दै, दरबार सुरक्षामा खटिएका २ सय ४३ सुरक्षा गार्डलाई ५ हजार भारतीय सेनाले कब्जामा लियो । यसरी विनारक्तपात सिक्किमभर १ लाख भारतीय सेनालाई उपस्थित गराउँदै औपचारिकरुपमा सिक्किमको भारत विलयलाई सम्पन्न गराइयो ।

सन् १९७१ मा ‘रअ’बाट तय गरिएको ‘मिसन सिक्किम’को समाप्ति सिक्किमलाई भारतको २२ औँ प्रान्त बनाउँदै गरियो । सत्ता र शक्तिको निम्ति देश नै बेच्न तयार बन्ने लेण्डुपलाई पुरस्कारस्वरुप त्यहीँकै मुख्यमन्त्रीमा आसीन गराइयो । सन् १९७९ को चुनावपछि नाटकीय ढंगबाट लेण्डुपको पतन गराइएको कुरा १९८४ मा सुनन्दा के दत्ता रेद्वारा लिखित ‘स्म्यास एन्ड ग्राबः एनेक्सेसन अफ सिक्किम’ पढ्दा प्रस्ट हुन्छ ।

नेपालको तराई–मधेस र पहाड अलग्याउने खेलः
भारतीय ‘रअ’ र सीआईएको स्वार्थअनुरुप नेपाली राजसंस्थालाई बिदा गरेपछि यी दुईको वर्तमान मिसन तराई मधेसलाई पहाडबाट अलग्याउने रणनीतिको असली कारण खोज्नुपर्ने हुन्छ । बेलायतीहरूले १९४७ मा धर्मको आधारमा भारत विभाजन गराएको घटनाबाट शिक्षा लिँदै भाषाको आधारमा बङ्गलादेश निर्माण गर्न सफल ‘रअ’ नेपालमा यिनै हत्कण्डाहरू प्रयोग गर्ने तयारीस्वरुप भारतीय आप्रवासीहरूको नेपालीकरण र संघीयता स्थापित गर्न सफल भैसकेका छन् ।

पहाडसँग तराई मधेस जोडिए आर्थिक, सामाजिक, भाषिक र सांस्कृतिकरुपमा सबल हुन जाने र प्रदेशको काठमाडौं सम्बन्ध प्रगाढ हुन जाने खतरालाई आजै रोक्न चाहन्छ । तराई मधेसमा पहाडविनाको प्रदेश निर्माण गर्दा हिन्दी भाषालाई सजिलै सरकारी कामकाजको भाषा बनाउन सकिने ‘रअ’को रणनीति रहेको देखिन्छ । कालान्तरमा नेपाली भाषी पहाडी र हिन्दी भाषी तराई मधेससँग भाषिक द्वन्द्व खडा गराउने रणनीतिमा ‘रअ’ क्रियाशील छ । तराईमा आफ्ना हिन्दी भाषी भारतीय आप्रवासीलाई काठमाडौंले दमन गर्यो भन्दै अन्तर्राष्ट्रियकरण गरी हिन्दी भाषी जनताको समर्थनमा भारतीय हस्तक्षेपलाई अनिवार्य बनाउने खेल जर्जियाको ओसेटिया र अफगाजिया क्षेत्रमा रुसी सरकारले रसियन भाषी जनताको सुरक्षाको निम्ति सैनिक हस्तक्षेप गरेको घटनासँग मिलाउने प्रपञ्च आज रचिँदै छ ।

सिक्किम भारतमा गाभेको विरोध गर्ने चिनियाँ तत्कालीन राष्ट्रपति जियाङ जमिनले तिब्बतको बारेमा भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयीलाई मनाउनेबित्तिकै सन् २००३ मा सिक्किम भारतकै अभिन्न अङ्ग मान्नुले ठूला देशहरू केवल आफ्नो स्वार्थ मात्र सोच्छन् भन्ने पुष्टि भैइसकेको छ । हाल नेपालमा ‘रअ’ र सीआईएमार्फत खडा गरिएको राजनीतिक अस्थिरताभित्र पुष्पकमल र बाबुराम दुई कित्तामा बस्दै नेपाली संविधानको संशोधनमार्फत देशलाई अन्तहीन द्वन्द्वमा पुर्याउने रणनीति बहुतै खतरनाक रहेको केही समयपछि प्रमाणित हुने नै छ ।

संविधान संशोधनको पाण्डुरा बाकस खोल्नेबित्तिकै शुरु हुने जनजाति आन्दोलन र कहिल्यै पूरा नहुने मधेसी मोर्चाको मागलाई निहुँ बनाउँदै गरिने कार्यले नेपाल र नेपाली अस्तित्व समाप्त गरिने रणनीतिसँग सम्बन्धित छ भन्ने बुझ्नु जरुरीे छ । यतिखेर नेपालको भविष्य सुन्दर बनाउने एकमात्र उपाय भनेको वर्तमान संविधानको अन्तर्वस्तु संघीयता र धर्मनिरपेक्षतालाई केही वर्षको निम्ति निलम्बन गर्ने वा तत्काल जनमतसंग्रहमा जानु नै हो । अन्यथा, लेण्डुप प्रवृत्तिको नेपाली अवतार सफल हुँदा नेपाल र नेपालीले सदियौँसम्म स्वतन्त्रताको लडाइँ लड्नुपर्ने निश्चित छ ।