स्थानिय निकायको निर्वाचन पछि संविधान संसोधनः महामन्त्री कोइराला

0
Shares

विराटनगर, २१ पुस । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संविधान संसोधन प्रकृयालाई थाँति राखेर स्थानीय निकायको निर्वाचन गराउनु पर्ने बताउनुभएको छ ।

विराटनगर स्थित कोइराला निवासमा महामन्त्री निर्वाचित भएपछि पहिलो पल्ट आउनु भएका कोइरालाले पत्रकारहरुसंगको भेटघाटमा बोल्दै मुलुक गम्भिर अबस्थामा पुगेको भन्दै स्थानीय निकायको निर्वाचन गराउने तर्फ दलहरुको ध्यान जानु पर्ने बताउनुभयो ।

स्थानीय निकायको निर्वाचन सम्पन्न गरेर प्रदेशको निर्वाचन गर्नु अघि संविधान संसोधनका विषयमा पर्याप्त छलफल गरि अघि बढ्न सकिने बताउनुभयो ।

‘५ नम्बर प्रदेश टुक्राउने गरि संसोधन प्रस्ताब ल्याउदाँ हजाराँै जनता उत्रिएका छन् त्यसलाई नजर अन्दाज गर्न हुदैन्, संसोधनका विषयमा पर्याप्त छलफल आवश्यक छ ।’ भन्दै उहाँले भन्नुभयो  ‘अहिले हामीसंग समय कम छ त्यसैले स्थानीय निकायको निर्वाचन सकेपछि प्रदेशको सिमा टुंग्याउने र प्रदेशको निर्वाचन गर्ने गरि अघि बढ्नु नै उत्तम विकल्प हुन्छ ।’

एक तहको निर्वाचन भएपछि निकासको ढोका खुल्ने भन्दै नेता कोइरालाले पुरानै संरचना अनुसार स्थानिय निकायको निर्वाचन गर्न दलहरुबीच सहमती हुने बताउनुभयो । नयाँ संरचना अनुसार स्थानीय निकायको निर्वाचन गराए विवादको विउ रोपिने भन्दै उहाँले पुरानै संरचना अनुसार निर्वाचन गराउनु पर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन मोरङले विहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले  मुख्य तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र माओबादी केन्द्र चुनाब गराउने पक्षमा देखिएको भन्दै समयमै निर्वाचन सम्पन्न गरि संविधान कार्यान्वयन गराउने तर्फ लाग्नु नै उत्तम विकल्प भएको बताउनुभयो ।

फरक प्रशंगमा उहाँले ८४ प्रतिशत हिन्दु धर्मालम्वी रहेको मुलकमा हिन्दू राष्टका वनाउने विषयमा कुरा उठनु स्वाभाविक रहेको भन्दै उहाँले जनमत संग्रहबाट यसको टुंगो लगाउनु पर्ने वताउनुभयो ।
उहाँले तीन तहको निर्वाचन सम्पन्न गर्नु पर्ने र त्यस पछि  धर्म स्वतन्त्रताका विषयमा जनमत अनुसार अघि बढ्नु पर्ने उहाँको भनाई छ । महामन्त्री कोइरालाले भन्नु भयो ‘ विकासको कुरा भन्दा धेरै  हिन्दु राष्ट्र कहिले हुन्छ भन्ने प्रश्न आउछ, यसलाई पनि सम्बोधन गर्नै पर्छ । ’
यसैबीच पार्टीलाई पुर्णता दिन सभापति शेरवहादुर देउवाले ध्यान दिन नसकिरहेको भन्दै उहाँले देउवा धेरै कुरामा अल्झिनु भएको टिप्पणी गर्नु भयो ।