प्रधानमन्त्री स्ववियु चुनावको विपक्षमा



हामी स्थानीय चुनावको तयारीमा छौं। स्ववियुको चुनाव गरे समस्या हुन्छः प्रधानमन्त्री

ईश्वरराज ढकाल, काठमाडौं

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ। सबै विद्यार्थी संगठनसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम तयारी भइरहेका बेला त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्षसम्म निर्वाचन नहुने संकेत गर्नुभएको हो।

त्रिभुवन विश्वविद्यालयको सभामा बोल्दै उहाँले सरकार स्थानीय निकायको निवार्चनमा जान लागेको अवस्थामा स्ववियु निर्वाचन हुन नसक्ने संकेत गर्नुभएको हो। ‘हामी अहिले स्थानीय निर्वाचनको मिति चाँडै घोषणा गर्ने तयारी गरिरहेका छौं। यही अवस्थामा स्ववियुको निर्वाचन गरे समस्या पर्ने देखिएको छ।’ –सभालाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो।

लोकतान्त्रिक पद्धतिबाट आफ्ना पदाधिकारी चयन गर्ने सबैलाई अधिकार छ, तर कुन निर्वाचनले महत्त्व दिनेछ भन्ने विषयमा जान्नु जरुरी छ।’ –उहाँको भनाइ थियो। उहाँले लामो समयसम्म स्ववियुको निर्वाचन हुन नक्सदा आफूलाई विद्यार्थीको अधिकार हनन भएको हो कि जस्तो लागेको समेत बताउनुभयो।

त्रिविले सबै विद्यार्थी संगठनसँग पटकपटक छलफल गरी फागुन १४ गते नै निर्वाचन गर्ने मिति तय गरिसकेको थियो। हिजो बुधबार भएको सभामा त्रिविले नियम परिवर्तन गरी नयाँ प्रस्ताव गरेको थियो। जसअनुसार कार्यसमितिको निर्वाचनमा मतदान गर्दा अध्यक्ष, सचिव र कोषाध्यक्षको मतदान एक व्यक्ति एक मतको आधारमा हुने निर्वाचन पद्धतिले लागू गरेको थियो। सदस्यहरूको हकमा निर्वाचन हुने सदस्यहरूमध्ये ५० प्रतिशत सदस्यका लागि प्रत्यक्ष र बाँकी ५० प्रतिशत समानुपातिक प्रणालीबाट हुने प्रस्ताव पारित गरेको छ। उपाध्यक्ष, सहसचिवको निर्वाचन निर्वाचित अध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूसहितको समितिले सदस्यहरूमध्येबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने उल्लेख गरेको छ। स्ववियु निर्वाचनमा कुनै संघसंगठन वा समूहले समानुपातिकतर्फ मात्र पनि निर्वाचनमा सहभागी हुनसक्ने गरी नियम पारित गरेको छ।

सभाले उमेरको हद भने उल्लेख गरेको छैन। ‘उमेर हदका विषयमा पुनः परामर्श गरी एक पटकका लागि २८ वर्ष गर्ने वा २८ वर्ष नाघेको हुने गरी थप छलफल गर्ने तयारी गरेका थियौं।’ –त्रिविका प्रवक्ता भोला ढकालले जानकारी दिनुभयो। उमेरको विषयमा पुनः कानुनी परामर्श लिने तयारी त्रिविले गरेको थियो। सम्पूर्ण तयारी भइसक्दा पनि त्रिविका उपकुलपतिले स्थानीय निर्वाचन घोषणा हुन लागेको अवस्थामा स्ववियु निर्वाचन स्थगित गर्ने संकेत गरेपछि त्रिवि स्वयम् अलमल परेको छ। त्रिविका उपकुलपति प्राडा तीर्थखनियाँले हामी अन्तिम समयसम्म तयारी हालतमा रहने उल्लेख गर्नुभयो।

यसअघि त्रिविका पदाधिकारीले तीन दलको नेतासँग भेट गरी स्ववियु निर्वाचन गर्ने तयारी भइरहेको बारेमा जानकारीसमेत गराएका थिए। सबै विद्यार्थी संगठनसँग भएको वार्तामा फागुन १४ गते नै निर्वाचन गर्ने निर्णय गरी कार्यविधिसमेत तयार गरिसकेका थिए। ८ वर्षदेखि हुन नसकेको निर्वाचन नभए विद्यार्थीको प्रतिनिधित्व नै संकटमा पर्ने अवस्था देखिएपछि त्रिविले हिजोको बैठकबाट निर्वाचन गर्ने निर्णय गरेको थियो। २०६५ साल चैत ६ गतेदेखि स्ववियुको निर्वाचन हुन सकेको छैन। प्रत्येक २ वर्षमा हुनुपर्ने निर्वाचन विद्ययार्थी संगठनहरूको विवादकै कारण लगातार स्थगित हुँदै आएको थियो।

यसअघि २०६९ र २०७० मा स्ववियु निर्वाचन गर्ने तयारी भए पनि विद्यार्थी संगठनबीच प्रणालीबारे विवाद हँुदा रोकिएको थियो। त्रिविले २०६९ सालमा स्ववियु नियमावली परिवर्तन गरी मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्ने निर्णय गरेको थियो। सभाले मिश्रित प्रणालीअनुसार निर्वाचन गर्ने नियम पारित गरेको थियो। त्रिविसभामा बोल्दै कुलपति प्रचण्डले त्रिविमा राजनीतिक हस्तक्षेप बढेको आरोप लगाउनुभएको थियो। उहाँले भन्नुभयो– ‘प्राज्ञिक क्षेत्रमा राजनीति हाबी देखिएको छ, संरचना र व्यवस्थापन पक्ष कमजोर भएको महसुस गरेको छु।’

उहाँले त्रिविलाई सेन्टर अफ एक्सिलेन्स बनाउन सरकार तयार रहेको उल्लेख गर्नुभयो। सभामा बोल्दै त्रिविका सहकुलपति एवं शिक्षामन्त्री धनिराम पौडेलले त्रिविलाई सेन्टर अफ एक्सिलेन्स बनाउन सरकार लागिपरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘त्रिविलाई अन्य विश्वविद्यालयसँग सम्बन्ध सुधार गराउन, वैज्ञानिक सेमेस्टर प्रणाली लागू गर्न आफु तत्पर रहेको छु।’ त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाँले अन्य विश्वविद्यालय खोल्दा सरकारले त्रिविसँग समन्वय नगरेकोमा दुखेसो व्यक्त गर्दै ती विश्वविद्यालय र त्रिविबीच देखिएको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले त्रिविलाई राष्ट्रिय विश्वविद्यालय बनाउन सरकारले थप सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले फागुन १४ गते नै स्ववियु निर्वाचन गर्न त्रिवि लागिपरेको समेत बताउनुभएको थियो। उहाँले विश्वविद्यालय पुनर्निर्माण गर्न सरकारले तत्काल बजेट उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो। विश्वमा प्रचलित उत्कृष्ट गुणस्तर मानिएको सेमेस्टर प्रणालीलाई क्रमशः लागू गर्ने प्रक्रियामा त्रिवि रहेको जानकारी दिँदै त्रिविको सहमतिबिना आफ्ना क्याम्पस र भौतिक पूर्वाधारलाई अन्य विश्वविद्यालयमा हस्तान्तरण गर्ने सरकारी शैलीप्रति चिन्ता प्रकट गर्नुभयो। विश्वभरिका विश्वविद्यालयमध्ये त्रिवि हाल ४ हजार २ सय ४१औं स्थानमा छ। बैठकमा त्रिविको ५५औं वार्षिक प्रतिवेदन, त्रिविसम्बन्धी ऐन, नियमावलीमा परिवर्तन, संरचनात्मक सुधारका कार्यसूची छन्। हिउँदे सभाको रूपमा रहेको बैठकमा त्रिविको नीति तथा कार्यक्रम पारित भएको थियो।

प्रतिक्रिया दिनुहोस्