पाँच विकास क्षेत्रलाई प्रदेश कायम गर्नुपर्छः राप्रपा


कुमार श्रेष्ठ, बाँके
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले पाँच विकास क्षेत्रलाई नै प्रदेश कायम गर्नुपर्ने बताएका छन्। ‘यसका लागि अब हामीले आन्दोलन गर्नुपर्छ।’ –नेताहरूले एकै स्वरमा भनेका छन्।

नेपालगन्जमा आयोजित एकतासभामा बोल्दै पार्टीका शीर्ष नेताहरूले उत्तर र दक्षिण मिलेको पाँच विकास क्षेत्रलाई नै प्रदेश कायम गर्न छलफल जरुरी रहेको बताए। ‘पाँच विकास क्षेत्रलाई पाँच प्रदेश कायम गर्दा उत्तरतिरको चीन र दक्षिणको भारत दुवैबाट नेपालले फाइदा लिन सक्छ।’ –नेताहरूले भनेका छन्।

नेताहरूले हिन्दू राष्ट्र कायम गर्न पनि जरुरी रहेको औंल्याएका छन्। ‘हिन्दू राष्ट्र नै नेपालको पहिचान हो’, नेताहरूले भनेका छन्– ‘हिन्दू राष्ट्रले प्रजातन्त्रलाई बलियो बनाउँछ।’

पार्टी केन्द्रीय अध्यक्ष कमल थापाले नेपाली जनतालाई मालिक बनाउँछौं भनेर आन्दोलन गर्नेहरूले अहिले प्रजातन्त्रलाई नै संकटमा पारेको टिप्पणी गर्नुभयो। थापाले २०५२ सालमा १२ हजार युवाहरू विदेश गएको, त्यसको दश वर्षपछि २०६२ मा विदेश जानेको संख्या एक लाख २९ पुगेको स्मरण गराउँदै २०७२ मा आइपुग्दा वार्षिक नौ लाख युवा विदेश गएको आँकडा प्रस्तुत गर्नुभयो।

‘विदेशको मरुभूमि र जंगलमा नेपाली युवाले दुःख पाएका छन्’, थापाले प्रश्न गर्नुभयो– ‘यही हो परिवर्तन?’ उहाँले देशलाई यस्तो अवस्थाबाट मुक्त गराउन र प्रजातन्त्रलाई नै बलियो बनाउन नयाँ शक्तिलाई साथ दिन युवाहरूलाई आग्रह गर्नुभयो। थापाले ९४ प्रतिशत जनताको पहिचानका लागि हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले अपर्झट र सुटुक्क चोर बाटोबाट हिन्दू राष्ट्र हटाएको टिप्पणी गर्दै त्यो चोर बाटोको निर्णयविरुद्ध सबै नेपाली उभिनुपर्ने बताउनुभयो। ‘राष्ट्रियता कमजोर अवस्थामा पुगेको छ, यसलाई सम्हाल्न दह्रो राष्ट्रवादी शक्तिको आवश्यकता भएकाले राप्रपा एक भएको हो’, राणाले भन्नुभयो– ‘अब हामी आफ्नो संस्कार र पहिचानका लागि लड्छौं।’

वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले तीन दलले हिमाल, पहाड र तराईको एकता बिगार्ने काम गरेको बताउनुभयो। ‘मिलेर बसेका जनता लडाउने काम भएको छ’, डा. लोहनीले भन्नुभयो– ‘हामी त्यसलाई रोक्न चाहन्छौं। पाँच विकास क्षेत्रलाई संघीयता कायम गर्नुपर्छ।’

राप्रपाका नेताहरूले दलहरूले आफ्नो व्यक्तिगत फाइदाका लागि प्रदेशका नाममा जनतालाई लडाउने काम गरेको बताउँदै अखण्ड मध्यपश्चिम, पाँच विकास क्षेत्रलाई प्रदेश कायम गर भन्दै आन्दोलन गर्नुपर्ने बेला आएको बताए। पुराना नेता बालाराम घर्तीमगरले संघीयताले देशलाई नै चकनाचुर पार्ने बताउनुभयो। ‘राप्रपाले स्वीकार गरोस्, नगरोस् म संघीयताको विरोध गर्छु।’ –घर्तीमगरले भन्नुभयो।

पार्टीका उपाध्यक्षहरू प्रतिभा राणा, बुद्धिमान तामाङ, निरञ्जन थापा, राजु पराजुली, दीपक बोहरा, महामन्त्रीहरू डा. धबल शमशेर राणा, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, नरेन्द्र चौधरी, नेताहरू फत्तेसिंह थारु, कुन्ती शाही, प्रेमबहादुर भण्डारी, कोमल वली, रेखा थापालगायतले हिन्दू राष्ट्रका लागि जोडदार आवाज उठाए। नेपालगन्ज त्रिभुवनचोकमा भएको राप्रपाको एकतासभामा जनसमुदायको राम्रै उपस्थिति देखिएको थियो। राप्रपा एकजुट हुँदा २०५१ को निर्वाचनमा बाँकेको तीनवटै सिट जितेको थियो।