देश दुर्घटनाबाट जोगियोः नेपाल



नेपाल समाचारपत्र
काठमाडौं
पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जातीय दूरी बढाउने गरी हुने कुनै पनि निर्णय स्विकार्य नहुने बताउनुभएको छ। उहाँले सरकारले अघि सारेको संविधान संशोधनमाा दलबीच एकताबद्ध बनाउने भन्दा पनि दूरी बढाउने काम भइरहेको भन्दै यसको सबैले विरोध गर्नुपर्ने बताउनुभयो। प्रेस चौतारी नेपालले हिजो बुधबार राजधानीमा आयोजना गरेको अन्तरसम्बाद कार्यक्रममा संविधान संशोधन सम्बन्धी सर्वोच्चको आदेशले देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताउनुभयो। उहाँले संविधान संशोधन असंवैधानिक भएको एमालेको दाबीलाई पुष्टि गरेको दाबीसमेत गर्नुभयो। प्रदेश टुक्र्याउने विषयमा दिएको अदालतको आदेशले सरकारको संविधान संशोधन प्रस्ताव फेल खाइसकेको उल्लेख गर्दै उहाँले अदालतको आदेशका कारण एमालेसहित नौ दलको विजय भएको दाबी गर्नुभयो।

हामीले देश टुक्रिन नदिन गरेको आन्दोलनले देशलाई सही बाटोतर्फ अघि सार्ने उल्लेख गर्दै यसलाई नेपाली कांग्रेसले समेत सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘शेरबहादुरजी तपाईं त पक्का राजनीतिज्ञ हुनुहन्छ, कम उमेरका प्रचण्डले गल्ती गरे भनेर तमासा हेर्ने होइन सम्झाउनुस्, उहाँलाई ढाडस दिनुस् हामी तपाईंलाई साथ दिन्छौं। उहाँले शेरबहादुर देउवालाई यस्तैयस्तै झमेलामा देशलाई पुर्याउने काममा माओवादीलाई सहयोग नगर्नसमेत आग्रह गर्नुभयो।

पूर्वप्रधानमन्त्री नेपालले ५ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव देश टुक्र्याउने शुरुआत मात्रै भएको दाबी गर्दै भन्नुभयो– ‘अहिले एमालेले गरेको आन्दोलन राष्ट्रहित, संविधानसम्मत र जनताको हितमा छ, सबै जनता यसको पक्षमा लाग्नुको विकल्पै छैन।’ स्थानीय निकायको निर्वाचनमा जाने बेलामा संविधान संशोधनको प्रस्ताव अघि सारेर सरकारले वेमौसमको बाजा बजाइरहेको आरोप लगाउदै भन्नभुयो –‘अहिले संविधान संशोधन आवश्यक छैन स्थानीय निकायको निर्वाचन घोषणा गरौं त्यसपछि सोचौंला। अहिले निर्वाचनसम्बन्धी कानुन पास गर्ने बेला हो, सरकार देश र जनताको आवश्यकताभन्दा फरक ढंगले अघि बढिरहेको छ’ –उहाँको भनाइ थियो।
म अहिले तराईका अधिकांश जिल्ला घुमेर आइसकेको छु , अधिकांश तराईबासीले प्रदेश टुक्र्याउन हुँदैन भनिरहेका छन् तर तराईबासी हो वा होइन थाहा छैन उनीहरू प्रदेश टुक्र्याउनुपर्यो भन्दै लागिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्