अब संसद् खुल्योः प्रधानमन्त्री


काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन प्रस्तावसम्बन्धी सर्वोच्चको निर्णयले राजनीतिक दलहरूलाई एक ठाउँमा बसेर सहमतिमार्फत अगाडि बढ्न प्रेरित गरेको बताउनुभएको छ।

सहमति निर्माणका लागि आफूले कोसिस गरिरहेको बताउनुहुँदै उहाँले प्रतिपक्षी दलले सदन खुलाउने र मधेशी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको बताउनुभएको हो।

सरकारले दुई तिहाइ पुग्छ भनेर नै प्रस्ताव दर्ता गरेको र अब संशोधन प्रस्ताव अवैध भयो भन्ने पनि ठाउँ नरहेको दाबी गर्दै उहाँले भन्नुभयो–‘सर्वोच्चले फैसला दियो नि, त्यसले नै थाहा हुन्छ यो प्रस्ताव संवैधानिक छ।’ संविधान संशोधन प्रस्तावमाथि छलफल भएपछि छिट्टै चुनावको मिति घोषणा हुने विश्वास व्यक्त गर्दै जसले जे भने पनि अब संसद् खुल्ने बताउनुभयो।

देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि आफूले प्रधानमन्त्री स्वीकार गरेको बताउनुहुँदै मधेसी, थारु, जनजाति, कांग्रेस, एमालेलाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने देखेर सरकारको नेतृत्व सम्हालेको बताउनुभयो। जबसम्म संविधानमा निर्दिष्ट गरेअनुसार स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन भएर एउटा नयाँ परिस्थिति सिर्जना गरिँदैन, तबसम्म संविधान कार्यान्वयनको सबैभन्दा संवेदनशील पक्ष चाहि पूरा भएको मानिँदैन्, उहाँले भन्नुभयो।

अहिले प्रमुख दलहरूका बीचमा विवाद र विमतिहरू रहेको स्वीकार गर्नुहुदै आफूले सबैलाई चित्त बुझाउने गरी र स्वीकार हुने गरी नै संविधान संशोधन प्रस्ताव अघि सारेको प्रचण्डले दाबी गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन प्रस्तावलाई अन्य अर्थ लगाएर अलिक धेरै नै पर पुगेको आरोप लगाउनुहुँदै उहाँले भन्नुभयो–‘अब सदन खोल्ने, सहमति निर्माण गर्ने र देशलाई निर्वाचनतिर लानेमा सकारात्मक हुने ठाउँमा एमाले आइपुगेको छ।’

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा रिपोर्टस क्लबले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै उहाँले सत्तापक्ष, प्रतिपक्षी र आन्दोलनरत पक्ष सबै नै फेरि एउटा राष्ट्रिय एकताको धारमा आएर निर्वाचनतिर जाने सम्भावना प्रबल भएको बताउनुभयो।

पछिल्लो सर्वोच्चको फैसलाले पनि सबै दलहरूलाई एक ठाउँमा ल्याउने सकारात्मक नै वातावरण बनाएको अनुभूति आफूले गरेको बताउनुहुँदै प्रधानमन्त्रीले भने– ‘यद्यपि यसको ब्याख्या विभिन्न ढंगले भए पनि सबैलाई एक ठाउँमा आउनका लागि चाहि आधार दिएको छ।’

देशलाई विकासको बाटोमा लैजानेतिर सबै गम्भिर बन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले राम्रो काम कसैले गर्यो भने यहाँ खुट्टा तान्ने प्रवृत्ति रहेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।