हिमनाथ देवकोटा
रसुवा
सुवाको धैबुङ–९ ज्याङ्लाङका चक्रबहादुर तामाङले भूकम्पपीडितले पहिलो किस्ता पाउनुअघि नै घडेरी खनेर घर बनाउनका लागि आवश्यक तयारी थालेका थिए । एक महिनाअघि पहिलो किस्ता बुझेका तामाङले सडकभन्दा १० मिटर छाडेर घर बनाउनुपर्ने बुझेपछि छाँगाबाट खसेझैं भए । पहिले खनेको घडेरी सडकमा परेपछि तामाङलाई अर्को घडेरी कसरी खन्ने भन्ने पिरलो परेको छ ।
‘किस्ता पाउनुभन्दा अगाडि सडक विस्तारका लागि ७ मिटर जग्गा छाडेर घरको जग हाल्नका लागि घडेरी खनेका थियौं, अहिले १० मिटर छाड्नुपर्ने भनेर प्राविधिकले भनेपछि दोहोरो घडेरी खन्नुपरेको छु –तामाङले भने ।
कृषि सडकका लागि १० मिटर छाडेर घडेरी खन्नुपर्ने थाहा पाएपछि गाउँका सात घरधुरीले पनि दोहोरो घडेरी खनेका छन् । भूकम्प गएको २० महिना बित्दासमेत अनुदान नपाएपछि जसोतसो ऋण–धन गरेर स्काभेटरको प्रयोग गरेर घडेरी खनेका तामाङ जस्ता धेरैले घडेरी खन्नकै लागि दोहोरो खर्च गर्नुपरेको छ ।
घर बनाउनका लागि खनेको घडेरी सडकमा परेपछि उनका छिमेकी गोपी तामाङले पनि दोहोरो घडेरी खनेर घर बनाउन थालेका छन् । गाउँमा विकासका लागि पुर्याएको कृषि सडकका कारण भूकम्प प्रभावितको घर बनाउने ठाउँ पनि गुमेको छ । घरको आँगनबाटै सडक लैजाँदा फाइदा होला भन्ने सोचेका गाउँलेले अहिले सडकले छोएको जग्गामा १० मिटर छाड्न परेपछि घर कहाँ बनाउने भनेर सोच्न थालेका छन् ।
‘ग्रामीण सडकमा घर बनाउँदा यति जग्गा छोड्नुपर्छ भनेको भए त्यति नै जग्गा छाडेर हामी घर बनाउँथ्यौं, सरकारले दिएको ५० हजार सदुपयोग हुन्थ्यो, अहिले सडकका कारण पहिलो किस्ताबापतको ५० हजार बालुवामा पानी हालेजस्तो भएको छु –ज्याङ्लाङका जंगबहादुर तामाङले भने । उनीहरूको प्रश्न छ– ‘हामी पीडितलाई किन दुःख दियौ सरकार ?’
प्रतिक्रिया