सर्वोच्चको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको छ–नेता नेपाल


 

 

काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताउनुभएको छ ।

नेकपा (एमाले)सहित नौ राजनीतिक दलले यही पुस २२ गते गर्ने जनप्रदर्शनको सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवादमा पूर्वप्रधानमन्त्री नेपालले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाउने सर्वोच्चको आदेश स्वागतयोग्य रहेको बताउनुभयो ।

“सर्वोच्चको आदेश स्वगतयोग्य छ, ५ नम्बर प्रदेश टुक्र्याउन खोज्ने सरकारको कदम जनभावना विपरीत छ,” उहाँले भन्नुभयो । सर्वोच्चको आदेश र एमालेसहित नौदलको जनप्रर्दशनपछि संविधान संशोधनलाई थाँती राखेर साझा सरोेकारका विषयमा संविधान कार्यान्वयन र तीनवटै निकायको निर्वाचनमा जान उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

नेता नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समेत देशलाई झमेलामा पार्ने काम नगराउन आग्रह गर्नुभयो । “शेरबहादुर देउवा पाको मान्छे हुनुहुन्छ, प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको गल्तीको तमासा हेर्ने होइन, सच्चाउनस्, रोक्नुस्, के कारणले उहाँले यो काम गर्दै हुनुहुन्छ बुझ्नुस्, आवश्यक परे एमाले सहयोगी हात फैलाउन तयार छ ।”

प्रदेशसभाको निर्वाचन नभएसम्म संविधान संशोधनको प्रस्ताव फिर्ता लिने आफूले विश्वास लिएको नेता नेपालको भनाइ थियो । संसारका धेरै देश जातीय र धार्मिक कुरामा सर्तक हुन थालेका उल्लेख गर्दै उहाँले भारतको सर्वोच्च अदालतले जातीय र धार्मिक कुरामा चुनावको विषय बनाउन पाउँदैन भनेर फैसला गरेको हुँदा नेपाली राजनीतिक दलले पनि सो कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पाँच नम्बर प्रदेश टुक्र्याउने सुरुवात मात्र भएको नेता नेपालले बताउनुभयो । “तराई विखण्डन नगरे हामी चुप लागेर बस्दैनाँै भन्ने कुरा आएको छ, यो गलत कुरा हो,” उहाँले भन्नुभयो । सबै जातजातिको साझा देश भएको हुँदा पारस्पारिक एकता, समान भावका साथ बस्नुपर्ने नेता नेपालको भनाइ थियो ।

नेता नेपालले संविधान संशोधनको प्रस्ताव बेमौसमको बाजा भएको र देश टुक्र्याउने, विखण्डन गर्ने कुरामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गम्भीर नदेखिएकोप्रति एमाले चिन्तित भएको धारणा राख्नुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष एवम् प्रदेश नम्बर ३ का इन्चार्ज अष्ठलक्ष्मी शाक्यले संविधान संशोधनको प्रस्ताव देश टुक्र्याउने, जनभावना विपरीत र असंवैधानिक भएको हुँदा उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संविधान संशोधन प्रस्ताव संविधानको भावनाविपरीत भएको हुँदा एमालेसहित नौ पार्टीको जनप्रदर्शनलाई सफल पार्न आग्रह गर्नुभयो । रासस