घरमा बाँदर पस्न थालेपछि कृषक समस्यामा

0
Shares

पोखरा, २० पुस /दुःख गरेर लगाएको बाली बाँदरले खाइदिन थालेपछि खाद्यान्न समस्या झेल्दै आएका कास्कीका कृषक पछिल्ला दिन घरभित्रै बाँदर पस्न थालेपछि थप समस्यामा परेका छन् ।

तीन वर्षयता बाँदरले गाउँमा आतङ्कित पार्दै आएकामा पछिल्ला दिनमा घरभित्रै बाँदर पस्न थालेपछि कृषकलाई समस्या परेको हो । बाँदरले कृषकले लगाएको बाली सखाप पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको पुम्दीका खेमराज बराल बताउनुहुन्छ ।

विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकामा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको उहाँको भनाइ छ । “पहिले पहिले त धपाएपछि बाँदर भाग्थे, तर अहिले त्यस्तो छैन,” उहाँले भन्नुभयो ।

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ । तर यहाँका कृषकले भने राज्यले बालीनालीको उचित क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने माग गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीका सचिवसमेत रहेका बरालकाअनुसार बाँदरले गाउँ÷गाउँमा आतङ्कित बनाएपछि सङ्घका तर्फबाट यसको व्यवस्थापनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दरपीठ समेत गरिएको छ ।

जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ । कृषकले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरुले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् ।

जिल्लाका पुम्दीभुम्दी, भरतपोखरी, निर्मलपोखरी, लाहाचोक, घाचोकलगायतका कृषक बाँदरबाट पीडित बनेका जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत इन्द्रमणि लामिछाने बताउनुहुन्छ । पुम्दीभुम्दी, घाचोक, लाहाचोकका साथै भरतपोखरीका बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, हुँडिकोटलगायतका स्थानमा बाँदरका कारण मकै भित्र्याउन नपाएका कृषकलाई यतिखेर हिउँदे तरकारी तथा मेवालगायतका फल जोगाउन हम्मे हम्मे परेको छ ।

बिक्री गर्न राखेको रु एक लाख ५० हजार बराबरको गोलभेँडा बाँदरले खाइदिएको पुम्दीका कृषक प्रेमनाथ बरालले बताउनुभयो । कतिपय कृषक व्यवसाय नै परिवर्तन गर्न बाध्य छन् । तराईमा हात्तीका कारण बालीनालीमा क्षति हुँदा कृषकले क्षतिपूर्ति पाउने गरे पनि वषौँदेखि बाँदरका कारण क्षति बेहोरेका यहाँका कृषकले क्षतिपूर्ति पाउन सकेका छैनन् । रासस