ऐतिहासिक सीताकुण्ड ओझेलमा

0
Shares

रामपुर  पाल्पा, २० पुस

त्रेतायुगमा भगवान राम र सीता वनबास जाँदाको पौराणिक कथनसँग जोडिएको नेपालकै पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्र सीताकुण्ड प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

रामपुर नगरपालिका ५ र ६ को सिमानामा पर्ने ऐतिहासिक सीताकुण्डलाई नेपालकै महत्वपूर्ण कुण्डका रुपमा लिइएको छ । भगवान राम वनबास जाने क्रममा रामपुर–८ स्थित कालीगण्डकी नदीको रामघाटमा बास बसेर दिनहुँ स्नान गरेको र सोही क्रममा उनकी धर्मपत्नी सीता रजस्वला भएपछि लुकाउनका लागि रामले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरेको किम्बदन्ती छ । सोही कुण्डमा सीताले रजस्वला भएका बखत नुहाएको हुनाले यस कुण्डको नाम सीताकुण्ड रहन गएको हो ।

नेपालका विभिन्न कुण्डमध्ये यस कुण्डलाई पनि एक महत्वपूर्ण कुण्डका रुपमा लिइएको छ । यसको ऐतिहासिक तथा धार्मिक महत्वको प्रचारप्रसार नहँुदा ओझेलमा परेको हो । यहाँका स्थानीयले ऐतिहासिक महत्व जोगाई राख्नका निम्ति तत्कालीन समयमा रामसीताको मन्दिर निर्माण गरेर नित्य पूजाआजा गर्दै आइरहेका छन् ।

पौराणिक कथनअनुसार सीताले नुहाएको यस कुण्डमा चामल फल्ने गरेको र सो चामल मन्दिरमा आउने उपासेले भोक लागेको समयमा थुतेर खाएपछि त्यस कुण्डमा धान फल्न थालेको जनविश्वास रहिआएको छ । यस कुण्डमा रहेको पानी कहिल्यै नसुक्ने र यहाँ बर्सेनि धान फल्ने र यही झर्ने गर्दछ ।

सीता रजस्वलाबाट बाहिर निस्किएपछि कुण्डभन्दा झन्डै २०० मिटर तल सीताको पाइला रहेको, खोलामा झर्ने क्रममा खुट्टा चिप्लिएर लडेपछि आरी आकार निर्माण भएको र सोही बाटो भएर झर्ने क्रममा भित्तामा हातले टेकेको छाप र भुइँमा चुल्ठो लत्रिएको आकार पनि देखिएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्र नेपाली बताउनुहुन्छ ।

मन्दिर र पोखरी कम्पाउण्ड निर्माणका लागि पर्यटन तथा संस्कृति मन्त्रालयबाट रु एक लाख र टुनिभन्ज्याङमा प्रवेशद्धार निर्माणका लागि रु तीन लाख, रामपुर नगरपालिकाबाट मन्दिर मर्मत सम्भारका लागि रु ५० हजार र यहाँका स्थानीय आमा समूहले मन्दिरमा टिनको छानो सहयोग गरेपछि विगत तीन वर्षयता कुण्ड परिसरमा विकासको गति विस्तारै अगाडि बढेको सचिव नेपालीले बताउनुभयो ।

यहाँ श्रीकृष्ण जन्माष्टमीका दिन, रामनवमीका दिन र सीता विवाह पञ्चमीका दिन विशेष मेला लाग्ने गर्दछ । यस कुण्डको अवलोकनमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, गुल्मी, रुपन्देहीलगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

बसाइँसराइ, गाउँमा दक्ष जनशक्तिको अभाव, कुण्ड सहरदेखि दुर्गम स्थानमा रहनु, कुण्डसम्म पुग्ने बाटो साँघुरो र कच्ची हुनु, प्रचारप्रसारको कमीका कारणले गर्दा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको यस सीताकुण्ड मन्दिर ओझेलमा परेको हो ।

प्रकृतिले नै सुन्दर मनोरम दृश्यले भरिपूर्ण ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोेकेको सीताकुण्ड भविष्यमा पर्यटकको आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ । रासस