दीपिकाको डेब्यु


हेटौंडा,(नेस)। मोडलिङ क्षेत्रमा हेटौंडाको उपस्थिति दिनदिनै बाक्लिँदै गएको छ। यसै क्रममा चर्चित सांगीतिक समूह कर्मा ब्यान्डको सार्वजनिक भएको नयाँ गीत कहिलेकाहींमा हेटौंडाकी दीपिका शर्माले डेब्यु पाएकी छिन्।

हेटौंडामा रहेर सांगीतिक क्षेत्रमा चर्चा बटुल्न सफल चर्चित नृत्यांगनाका रूपमा परिचित शर्माको डेब्यु नै कर्माजस्तो सफल ब्यान्डबाट भएपछि उनको चर्चा थप चुलिएको छ।

हाल हेटौंडा स्कुल अफ म्यानेजमेन्टको स्नातक तहमा अध्ययनरत शर्माले मकवानपुरमा रहेर थुप्रै नृत्य प्रतियोगिता, भीमविराग संगीत साहित्य कला प्रतिष्ठान्बाट बालप्रतिभा २०६१ को अवार्ड, बालछहारी नेपाल मकवानपुरले गरेको मिस ट्यालेन्ट हन्टमा मिस स्विट र मिस नेचुरल ट्यालेन्ट उपाधि, कलिउड कला केन्द्र मकवानपुरले २०६६ मा आयोजना गरेको नृत्य प्रतियोगितामा शीर्ष उपाधि जितेकी छिन्।

रंगमञ्चका साथै उनी आफ्नो अध्ययनमा अब्बल मानिन्छिन्। जसको परिणाम उनले शिक्षामा हेटौंडामा रहेको सोलिड्यारिटी इन्टरनेसनल एकेडेमी तथा स्नातक तहको अध्ययनमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छिन्।

मोडलिङको क्षेत्रबाट अघि बढने लक्ष्य राखेकी शर्मा रंगमञ्चका माध्यमबाट मकवानपुर चिनाउन सक्रिय हुने बताउँछिन्। उनले आफूलाई यस क्षेत्रमा सहयोग गर्न परिवारको निकै सहयोग रहेको बताइन्।

कर्माले सन् २०१३ मा बजारमा आएको नयाँ सपना एल्बममा समावेश गरिएको गीतलाई अहिले मात्र आएर नयाँ भर्सनसाथ सुन्न र हेर्न मिल्ने गरी म्युजिक भिडियो बनाएको हो। मनिष वशिष्ठको शब्द रहेको गीतमा सुरेन्द्रमान सिंहको गायन छ। हेटौंडाका कपिल खड्का र सुरेन्द्रमान सिंहले खिचेको गीतलाई सुरेन्द्रले नै सम्पादन गरेका छन् भने गीतको भिडियोमा हेटौंडेली निर्माता नरेन्द्र महर्जनको लगानी छ।