विश्वकै सबैभन्दा उचाइमा बनेको पुल सञ्चालनमा


बेइजिङ, (एजेन्सी) चीनले विश्वकै सबैभन्दा उचाइको पुल सञ्चालनमा ल्याएको छ। १ हजार ८ हजार ५४ फिट गहिरो गल्छीमाथि बनेको उक्त पुलमा बिहीबारदेखि गाडी गुड्न थालेको समाचारमा जनाइएको छ।

१४ करोड ६७ लाख अमेरिकी डलर खर्च र ३ वर्षमा निर्माण पूरा भएको उक्त बेइपान्जियाङ ब्रिज ४ हजार ३ सय ९६ फिट लामो छ। चार लेनको सडक बिछ्याइएको उक्त पुल बेइपान नदीबाट करिब २ हजार फिट माथि छ। उक्त पुलको नाम त्यसले जोड्ने दक्षिणपश्चिम चीनको युनान र गुइझाउ प्रान्त नामबाट लिइएको पिपुल्स डेली अनलाइनले जनाएको छ। यसले १ हजार ८ सय ३७ फिट उचाइमा रहेको सिडु रिभर ब्रिजको विश्व कीर्तिमानलाई उछिनेको छ।

यति ठूलो पुल निर्माणमा १४ करोड ६७ लाख लागत निकै सस्तो मानिएको छ। सन् १९३३ मा सान फ्रान्सिस्को बेमा निर्माण भएको गोल्डेन गेट ब्रिजमा १ अर्ब ५० करोड खर्च लागेको थियो भने नगरको अर्को ठाउँमा सन् २०१३ मा पूरा भएको नयाँ पुल न्यु बे ब्रिज निर्माणमा ६ अर्ब ७० करोड खर्च लागेको थियो।

बेइपान्जियाङ ब्रिज हाङझाउदेखि चीन म्यान्मार सीमापार रुइली जोड्ने २ हजार १ सय १५ माइल लामो सडकको खण्ड हो। उक्त पुलको निर्माण सेप्टेम्बर १० मै पूरा भएको थियो तर ठूलो संख्यामा गाडीहरू गुडेको बिहीबारबाट हो।

विश्वको सबैभन्दा उचाइमा निर्माण भएको पुलमा बेइपान्जियाङ ब्रिज भए पनि विश्वको सबैभन्दा अग्लो पुलको नाममा अभैm पनि फ्रान्सको १ हजार १ सय २५ फिट अग्लो माइलाउ पुल नै कायम छ।