जापानी सम्राट् अकिहितो राजगद्दी त्याग्ने तयारीमा


टोकियो, (एजेन्सी) ८३ वर्षीय जापानी सम्राट् अकिहितो अवकाश लिन तयार भएका छन्। सन् १९८९ मा गद्दिसिन सम्राट् हालैका वर्षमा प्रोस्टेट क्यान्सरसँग सघर्ष गरिरहेको र थुप्रैपटक शल्यक्रियासमेत गरिसकेका छन्।

गत अगस्टमा एउटा भिडियो सन्देशमा सम्राट्ले जापानी युवराज नारुहितो, आफ्नो छोरालाई गद्दी हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेका थिए। नारुहितो अहिले ५६ वर्ष पुगेका छन्। उनका पिताले राजगद्दी सम्हाल्दा उनी पनि करिब यस्तै उमेरका थिए।

तर एउटा अप्ठ्यारो के हो भने जापानमा राजालाई वैधानिक रूपमा राजगद्दी त्याग्न स्वीकृति छैन। भिडियोमा सम्राट् अकिहितोले उक्त व्यवधानलाई लिएर संसद्सँग आफूलाई राजीनामा र छोरालाई गद्दी हस्तान्तरणका लागि अनुमति दिन आग्रह गरेका थिए।

‘सौभाग्यवश अहिले मरो स्वास्थ्य राम्रो छ’, सम्बोधनमा उनले भनेका थिए– ‘यद्यपि जब म मेरो स्वास्थ्यस्थिति क्रमशः कमजोर भइरहेको महसुस गर्छु, राज्यको प्रतीकका रूपमा मैले बहन गर्नुपर्ने दायित्व मेरा लागि कठिन बन्न सक्छ भन्ने विषयलाई लिएर म चिन्तित हुन थाल्छु।’

अब भने उनको इच्छा पूरा हुने देखिएको छ। जापानी सरकारको एउटा टोलीले अकिहितोको भिडियो सम्बोधनलाई लिएर केही व्यवस्था गर्ने तयारी गरेको छ। उनीहरूले एक समयमा एक चोटि मात्र लागू हुने कानुनको विशेष व्यवस्था गरी गद्दी उनलाई स्वीकृति दिने निर्णय गरेका छन्।

यद्यपि अकिहितोका एक जना मित्रले उनले उक्त व्यवस्था उनका लागि मात्र नभई भावी सम्राट्का लागि पनि चाहेको बताएका छन्। टोलीका सदस्य तथा केही नागरिकले सम्राट्लाई गद्दी त्याग गर्ने अधिकार प्रदान गरेकोमा असन्तोष व्यक्त गरिरहेका छन्। धेरैको चिन्ता भनेको यसले राजतन्त्रको जगलाई कमजोर बनाउने र गद्दीका हकदारलाई गद्दी अस्वीकार गर्न सक्ने वा केही समयपछि नै गद्दी त्याग्ने स्थितिमा पुर्याउन सक्छ भन्ने छ।

तर धेरै जसो नागरिक भने उक्त कानुनको पक्षमा देखिएका छन्। निजी प्रेसले गरेको एक मत सर्वेक्षणमा ६१ प्रतिशले राजगद्दी त्याग गर्न पाउने स्थायी कानुनी व्यवस्थाको समर्थन गरेका छन्।