हरि कटुवालको अधुरो सपना

0
Shares

शरद श्रेष्ठ
सरकारी सेवामा कार्यरत रहेर पनि साहित्यमा मन राखेर देखा परेका उपन्यासकार हरि कटुवालले पहिलोचोटि आफ्नो ‘अधुरो सपना’को सार्वजनिकीकरण एउटा समारोहकाबीच हालै मात्र काभ्रेको धुलिखेलमा सम्पन्न गरे । संखुवासभा, खाँदबारीमा जन्मेका कटुवाल जागिरेको क्रममा काभ्रेको पाँचखाल नगरपालिकामा कार्यरत छन् । स्कुल पढ्दाताकादेखि नै साहित्य क्षेत्रमा विशेष रुचि राखेर साहित्य मन र आँखामा राख्दै आएका कारणले यिनले यस उपन्यासलाई प्रकाशन गर्ने जाँगर चलाए ।

‘अधुरो सपना’ उपन्यासमा रमेशले पोखेको देशप्रतिको समर्पणभाव २०४६⁄०४७ को प्रजातान्त्रिक आन्दोलनमा शहीद भएर आफूलाई समर्पित गरेको कथा र व्यथा छ । शान्तिको श्रीमान्प्रतिको आस्थाभाव र उनले पोखेको रगतलाई पुर्खामा समेट्ने जुन रहर छ, त्यो आफ्ना छोरा–बुहारीमा सम्प्रेषित भइरहोस् भन्ने अटल चाहना छ । शहीद रमेशका एक्लो छोरा विवेकले आफ्नो घर–छिमेकमा देखाइरहेको सुशील व्यवहार र चरित्र उदाहरणीय रहेकोले शान्ति प्रभावित र खुशी छन् । आश्मासँगको प्रेम र विवाह पनि उदाहरणीय र अनुकरणीय देखाइएको छ । गाउँको साधारण परिवारको कथा समेटिएको यस उपन्यासको कथावस्तुमा राजनीतिले बिथोलिएको परिवेशको विम्बहरू छन् । सामाजिक चेतनामा अवसरवादिता थाहै नपाईकन हुर्किन थालेको मर्मका कुराहरू छन् । आर्थिक प्रलोभनले मान्छेलाई कति घृणित ढङ्गले पतीत गर्छन् भन्ने संकेतहरू पात्रहरूमार्फत वर्णित छन् । आर्थिक विचलनकै कारणले उपन्यासका मुख्य पात्र विवेक र आश्माका मन र आस्थाहरू कसरी भत्किएर गए र कसरी पतीत हुँदै गए जीवनका क्रमहरू पोखिएका छन् ।

उपन्यासमा समेटिएका कथावस्तुहरू सरल छन् । गाउँको परिवेश र शहरको परिवेश । निर्लोभी मन र लोभी मनको फरकपन । वातावरणले मान्छेलाई कति पतीत बनाइदिन सक्छ, सोको परिदृश्यहरू कथाकै प्रसङ्गमा पात्रहरूमार्फत पोखिएका छन् । जागिरदारहरूको घुस्याहा प्रवृत्तिले सुशील जागिरदारहरूलाई पनि कति गिर्दा मान्छे बनाइदिँदा रहेछन् र उनीहरूको चरित्र कति घीनलाग्दो बन्दै जान्छ, सोको पटाक्षेप विवेक र आश्माले आफूलाई चारित्रिक रूपमा देखाइएका कुरूप तस्वीरहरू यसमा प्रकाशित छन् ।

उपन्यासमा समसामयिकता पोखिएका छन् । कथावस्तुमा समकालीन परिवेशलाई उदाङ्गो देखाइएको छ । कथामा नेपालीपन व्यक्त भएको छ । लेखकको पहिलो प्रयास, प्रथम प्रकाशनको यो ‘अधुरो सपना’ उपन्यासमा भाषामा देखा पर्ने अशुद्धता, शब्द–शैलीमा देखिँदो प्रारम्भिकता, सिलसिलामा नमिल्दो अप्रासङ्गिकता कतै–कतै देखिँदो छ । तापनि, समग्र उपन्यासको मूल्याङ्कन गरी लेख्नुपर्दा लेख्न सकिन्छ– यस उपन्यासमा व्यक्त भएका कथावस्तु सुन्दर छन्, घटनाक्रमहरूमा देखाइएका तर्क, संवेगहरू आकर्षक छन् । प्रयास निरन्तर जारी राखेको खण्डमा, साहित्यमा अध्यनन गर्दै अनुभव सँगाल्दै लगेमा अवश्य हरि कटुवालले साहित्यको शिखर चुम्नेछन्, शुभकामना भनिरहेछु ।