कलाकारको क्याटवक


चिसो याम, त्यसमाथि पुसको मध्य महिना। यस्तो चिसो वातावरणलाई बिहीबार राति भने ३ दर्जनभन्दा बढि कलाकारले र्याम्पमा बिरालोको चाल मार्दै तातो बनाए।

त्यसो त बिरालोको चाल मार्दै र्याम्प नाप्ने काम मोडलहरूको हो। फेसन शोहरुमा सामान्यतया यस्तै देखिन्छ। तर, बिहीबारको रात भने कलाकारहरु नै मोडलका रूपमा प्रस्तुत भए। अभिनेतृ गौर मल्लका साथमा फेसन डिजाइनर पुनम गौतम क्षत्रीले बिहीबार शान्तिका लागि फेसन भन्दै राजधानीको पाँचतारे होटल अन्नपूर्णमा आयोजना गरेको द सेलिब्रेटी रनवे २०१६ मा ४० जनाभन्दा बढि कलाकारले क्याटवक गर्दै माहौल तताए।

शोमा नेपालभित्रै बनेको पहिलो फिल्म आमाकी प्रथम नायिका भुवन चन्द थापादेखि हालका नवकलाकारसमेतले चिसोका कारण काम्दै भए पनि सानदार क्याटवक गरेर दर्शकलाई आकर्षित गरे। अभिनेत्रतृ गौरी मल्लको आमा शीर्षकको गीत गायन प्रस्तुतिबाट शुरु भएको शोमा वसुन्धरा भुसाल, चैत्य देवी, सुभद्रा अधिकारी, तुलसी घिमिरे, भुवन केसी, कृष्ण मल्ल, विजय लामा, सरोज खनाल, निखिल उप्रेती, लक्ष्मी गिरी, रूपा राना, दीपाश्री निरौला, सरिता लामिछाने, सञ्चिता लुइँटेल, ऋचा शर्मा, केकी अधिकारी, आसिफ शाह, रीमा विश्वकर्मा, बेनिशा हमाल, सुष्मा कार्की, गौरव पहाडी, दिकपाल कार्की, सुशील श्रेष्ठ, नाजिर हुसेन, आर्यन अधिकारी, पुष्पल खड्का, मलिना जोशी, अनु शाह, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, वर्षा राउत, नम्रता सापकोटा, मरिष्का पोख्रेल, श्रद्धा प्रसार्इं, साहारा कार्की, नरेन खड्का, आस्मा डीसी, अनुभव रेग्मी, हेयर डिजाइनर नील डेभिड, गायिका रेखा शाहलगायतले अन्नपूर्ण होटलमा निर्मित र्याम्प नापेका थिए। हरेक कलाकारको आगमनमा उनीहरुद्वारा अभिनित फिल्मको गीत बजाएर स्वागत गरिएको थियो भने दर्शकलाई जोस्याइएको थियो।

फिल्मका कलाकारलाई फरक ढंगले प्रस्तुत गर्न रोमाञ्चक ढंगले यस किसिमको कार्यक्रम अगाडि सारिएको अभिनेतृ गौरी मल्लले बताइन्। त्यसै गरी मनोरञ्जनलाई सामाजिक कार्यमा पनि लगाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रमको आयोजना गरिएको पुनम गौतमले बताइन्। कार्यक्रमबाट फाइदा भएको रकमले ब्लाइन्ड शो गरिने उनले बताइन्।
कार्यक्रमा नायिका रेखा थापाले गीत गाएकी थिइन् भने कलाकार सन्दीप क्षत्रीले हास्य प्रस्तुति प्रस्तुत गरेका थिए।