‘प्र’ रेणुको प्यारो शब्द हो । बाबु प्रचण्ड, भाइ प्रकाश, छोरा प्रवल र छोरी प्रतिभा मात्र हैन । प्रवास पनि उनलाई मन पर्छ । प्र प्रतिको प्रेम थप्दै अब प्रलाप नगरी प्रत्युप्न बुद्धिको बन्न राजनीतिमा प्रतिस्पर्धात्मक प्रमाणीकरण दिन चाहन्छिन् । रेणुको प्र प्रेम प्रथम हुन हैन, प्रचुर मात्रामा प्रजातान्त्रिक राजनीति गर्दै प्रगुण राजनीतिज्ञ हुने प्रयासमा प्रायः दिन बिताउन हो ।
कमल ढकाल
सैसारको सबैभन्दा ठूलो फेसन मुस्कुराउनु हो । जो मुस्कुराइरहन्छ त्यो कहिल्यै आउट अफ फेसन हुँदैन । हो मुस्कान आफैंभित्र फक्रिएको फूल हो । जतिसुकै राम्रा कपडा हुन् वा चिरिच्याट्टको मेकअप । मुसुमुसु मुस्काउन जान्दैन भने ऊ ओइलाएको फूलजस्तै देखिन्छ । संसारभरको भाषाको ‘मास्टर कि’ मुस्कान हो । मुस्कानपछि मात्र मान्छे भाषामा आउँछ ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणुसँग यो कुरा जोड्न खोजेको । युवावयकी रेणु दाहाल इन्द्रेणी फुडल्यान्ड बानेश्वरमा भेटिँदा न आँखामा गाजल थियो । न भद्दा लिबिस्टिक न कुनै महँगो ड्रेस । शुरुमै मुस्कानको चुम्बक फालेर आर्कषित गरेकी थिइन् उनले । बल्ल भाषामा आइयो । पति अर्जुन पाठकसँगै आएकी उनी आफ्नो परिचय फेसनबाट हैन व्यवहार र सद्गुणले हुन्छ भन्नेमा पर्दिरहिछन् । मुस्कुराइरहन्छिन्, व्यवहारिक कुरा गर्छिन् र सकेसम्मको अरूलाई गुन लगाउन खोज्दिरहिछन् ।
‘बच्चालाई धनी हुन हैन खुसी हुन सिकाउनुपर्छ, जब उनीहरू ठूला हुन्छन् अनि बुझ्छन् पैसाले मान्छे खुसी हुँदैन। कुनै पनि चिजको मूल्य बुझ्दा मान्छे खुसी हुन्छ ।’ उनले बाबुबाट यही सिकिन् । त्यसैले रेणु धनी जीवन हैन डेराको जीवनमा रमाउँछिन् । ठूलो गाडी हैन । भाडाका गाडी वा स्कुटरमै रमाउँछिन । पैसाले हैन हरेक चिजको मूल्यले उनलाई खुसी तुल्याउँछ ।
लक्ष्य मानिसभन्दा ठूलो हुनै सक्दैन । हार्छ उसले जो लड्दैन । प्रचन्डले आफूभन्दा ठूलो लक्ष्य लिए । राजतन्त्र हटाउनु र गणतन्त्र ल्याउनु भनेको आफूभन्दा कैयन गुणा ठूलो लक्ष्य थियो । अरूले प्रचन्डभन्दा ठूलो लक्ष्य भनेर सोचे पनि प्रचन्डले त्यो लक्ष्य आफूभन्दा निकै पुड्को देखे । र त लक्ष्य पूरा गरे । बाबुको मार्गमा सघाउने लक्ष्यका साथ रेणु राजनीतिमा आइन् । बाबुको दर्शनमा आफ्नो दर्शन उनले थप्दै गइन् । आफूप्रति भरोसा राख्नु बलियो हुनु हो ।
अरूप्रति भरोसा राख्नु कमजोरी हो । यो दर्शन उनको वर्तमान दर्शन हो । बाबुको नामका कारण राजनीतिमा फाइदाभन्दा बढी घाटा भएको उनी बताउँछिन् । आफूभन्दा धेरै जुनियर केन्द्रीय सदस्य भइसकेको आफू भने बाबुले बनायो भन्लान् भनेर पछि पर्दै गएको उनको भोगाइ छ । अहिले अखिल नेपाल महिला संघको महासचिव रेणु काठमाडौं जिल्लाको पार्टी सचिव पनि हुन् । सबै पदहरू आफू काम गर्न सक्छु भन्ने भरोसाका कारण अडेका छन् । प्रचण्डको पुत्री भएर मात्र हैन । उनी यसै भन्छिन् ।
प्रेम शब्द नै रिदेमिक लाग्छ । बाबु प्रचण्डले क्रान्तिलाई प्रेम गरे । रेणुले २०५२ सालमा एसएलसी गर्दा प्रचण्डले क्रान्तिको तयारी गर्दैथे । शिवनगर चितवनमा जन्मेकी रेणु पटियानी सुन्दर बस्ती चितवनको मामाघरमा हुर्किइन् । बाबुको क्रान्ति प्रेमले उनलाई आकर्षण गर्यो । त्यो आकर्षणमा उनी बालाजुको नयाँ बजारमा भाइबहिनीसहित आइन् । क्रान्तिको प्रेमले सिलगुढी पुगिन् । २०५३ को भदौमा भाइबहिनी लिएर सिलगुढी पुगेकी उनलाई बाबुआमाले तिमीले क्रान्तिका लागि विवाह गर्नुपर्छ भनेपछि विवाह गरिन् ।
पति परिवारको हेड (टाउको) भनिन्छ । धेरै मान्छेलाई थाहा छैन । पत्नी टाउकोसँगै जोडिएको गर्धन हो । गर्धन जता घुम्छ टाउको उतै घुम्छ । अर्जुन र रेणुको सम्बन्ध पनि टाउको र गर्धन जस्तै छ । उनीहरू दुवैलाई भेट्दा टाउको र गर्धनजस्तै मायालु सम्बन्ध देखिएको थियो अर्जुन र रेणुको ।
जीवनमा दुई प्रकारका दुःख हुन्छन् । एक आफैंलाई परिवर्तन गर्ने दुःख । अर्काे सम्झयो कि दुःखी बनाइरहने दुःख। दिदीको अल्पायुमै भएको मृत्यु सम्झँदा उनी दुःखी हुन्छिन् । त्यो दुःख बिझिरहने खिल हो । माडी घटना र अन्य केही आफ्नै जीवनका दुःखद घटनाले भने उनी आफैं परिवर्तन भएकी छन् । जसले उनमा सकरात्मक परिवर्तन ल्याएको छ ।
चिन्ता गर्यो मान्छे भट्किन्छ । चिन्तन गर्यो भने भट्किएकालाई बाटो देखाउँछ । उनले बाबुले जस्तै राजनैतिक चिन्तन गरिन् । त्यो चिन्तनले पहिलो संविधानसभाको चुनावमा समानुपातिक संसद् भइन् । दोस्रोमा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवार । आफू भट्किनन् । नयाँ पुस्तालाई कसरी राजनीतिबाट भड्कन नदिने भन्ने चिन्तन जारी राखेको उनी बताउँदै थिइन् ।
एक रुखको लाखौं काँटी सलाई बन्छ । एक सलाईको काँटीले पूरै रुख जलाइदिन्छ । उनले बुझेकी छन् नकरात्मक विचार बलेको सलाईको काँटी जस्तै हो । बल्ल बनेको सकरात्मक रुखलाई नकरात्मक विचारले खाइदिन्छ । सकरात्मक जीवन नकरात्मक दिमागले बन्नै सक्दैन । रेणुले आफूलाई प्रकृति र जीवनबाट धेरै सिकाउँदै लगेकी छन् । जिउनुअगाडि हेर्ने सम्झनुपछाडि हेर्ने गर्दै उनको जीवनको गेर अगाडि–पछाडि गर्दै बढी रहेको छ ।
प्र रेणुको प्यारो शब्द हो । बाबु प्रचण्ड, भाइप्रकाश, छोरा प्रवल र छोरी प्रतिभा मात्र हैन । प्रवास पनि उनलाई मन पर्छ । २०५३ सालदेखि २०६२ सम्म प्रवासमै रहिन् । प्रवासले राजनीतिमा उनलाई परिपक्व बनायो । प्रवासमै पत्नी बनिन् । आमा बनिन् । नेता बनिन् । सिलगुढीमा बाबुआमासँगै मात्र बसिनन् । उनले प्रवासको जिल्ला इन्चार्ज बनिन् । अखिल नेपाल भारतीय महिला संगठनको केन्द्रीय अध्यक्ष बनिन् । प्र प्रतिको प्रेम थप्दै अब प्रलाप नगरी प्रत्युप्न बुद्धिको बन्न राजनीतिमा प्रतिस्पर्धात्मक प्रमाणीकरण दिन चाहन्छिन् । रेणुको प्र प्रेम प्रथम हुन हैन, प्रचुर मात्रामा प्रजातान्त्रिक राजनीति गर्दै प्रगुण राजनीतिज्ञ हुने प्रयासमा प्रायः दिन बिताउन हो । प्रतिभा निखार्न हैन तिखार्न हो ।
प्रतिक्रिया