८१ प्रतिशत भूकम्पपीडितसँग सम्झौता



सिन्धुली, (नेस) भूकम्पका कारण क्षति भएका व्यक्तिगत घर पुनर्निर्माणको ८१.४९ प्रतिशत लाभग्राहीसँग सम्झौता भएको छ। हाससम्म २७ हजार ९ सय २८ लाभग्राहीसँग सझौता भएर पहिलो किस्ता ५० हजार निकासा लिइसकेको जिल्ला विकास समितिका डिजास्टर फोकलपर्सन बविन्द्र माझीले जानकारी दिनुभयो।

भूकम्प अतिप्रभावित सिन्धुली जिल्लामा ३४ हजार २ सय ७० घर भूकम्पबाट क्षति भएको पहिचान भएको थियो। हासम्म हर्षाही गाविसबाहेक सबै गाविसमा पुनर्निर्माणका लागि लाभग्राहीले पहिलो किस्ता लिइसकेका माझीले जानकारी दिनुभयो। हर्षाही गाविसमा भने हालसम्म भूकम्प प्रभावित लाभग्राहीसँग सम्झौता हुन नसकेको माझीले जानकारी दिनुभयो।

हर्षाही गाविसमा भूकम्पले कम क्षति भए पनि ९८ घरधुरी लाभग्राही सूचीमा नाम परेरको थियो। लाभग्राही सूचीमा नाम परे पनि वास्तविक भूकम्प प्रभावित नभएकाले सम्झौता हुन नसकेको माझीले जनकारी दिनुभयो।
वैशाखदेखि सबै गाविसमा हट इन्टरनेसनलका सहयोगमा तीन⁄तीन जना कर्मचारी परिचालन गरेर लाभग्राहीसँग सम्झौता गरेको भए पनि आधा पनि सम्झौता नसकी कात्तिकमा हट इन्टरनेसनलका कर्मचारीका कार्यअवधि समाप्त भएका कारण बाँकी सम्झौता प्रभावित भएको माझीले जानकारी दिनुभयो। बाँकी रहेको ६ हजार ३ सय ४२ लाभग्राहीको समझौता गर्न अझै केही समय लाग्ने माझीले जनकारी दिनुभयो। ‘पहिला सहयोगी कर्मचारी हँुदा काम चाँडो भएको थियो, अहिले गाविस सचिव एक्लैले सबै काम भ्याउनुपर्छ केही समय लाग्न सक्छ’ –माझीले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्