रहेनन् साहित्यकार दीक्षित


काठमाडौं, (नेस)

साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। केही महिनायता श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित दीक्षितको ललितपुर ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान पौने ३ बजे निधन भएको हो। मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहनुभएका दीक्षितका खोजमूलक निबन्ध, यात्रा, साहित्य, संस्मरणलगायत विषयमा ५० बढी कृति प्रकाशित छन्।

दीक्षितको बिहीबार बिहान ७ बजे पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमार्फत अन्त्येष्टि गरिएको थियो। दीक्षितले मृत्युवरण गर्नुअघि धेरै जनाको उपस्थितिमा श्रद्धाञ्जलि नगर्न र मृत्युपछि गरिने दाहसंस्कारमा कसैलाई दुःख नदिने चाहना राखेको पारिवारिक स्रोतले बताएको छ। त्यही भएर बिहानै शवदाह गृहमा दीक्षितको अन्त्येष्टि गरिएको बताइएको छ। वि.सं. १९८६ भदौ २ गते कुशे औंसीका दिन काठमाडौंको गैरीधारामा बाबु केदारमणि दीक्षित र विद्यादेवी दीक्षितको कोखबाट दीक्षितको जन्म भएको थियो।

लेखनको शुरुआतका वर्षमा अनुसन्धानमूलक लेख तथा पुस्तकका कारण चर्चित दीक्षित पछिल्लो समय नियात्रा, निबन्ध, संस्मरण तथा पुस्तक र प्रकाशन क्षेत्रका विषयमा फुटकर लेख तथा स्तम्भ लेखनमा सक्रिय रहनुभएको थियो।

मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक–जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल–भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थामा दीक्षित आबद्ध हुनुहुन्थ्यो।

बनारस हिन्दू विश्वविद्यालयबाट स्नातक उत्तीर्ण दीक्षित तत्कालीन राजपरिवारसँग निकट रहनुभएको थियो। यस्तो पनि (२०१३), कालो अक्षर (२०१७), कागतीको सिरप (२०२६), पर्खंदै बित्ला कि? (२०२६), भन्ने कुरा (२०३१), भात र पानी (२०७०), किराती चेली (२०७०) लगायतका दीक्षितका प्रकाशित कृतिहरू चर्चित भएका थिए।