सभामुखले डाकेको बैठकमा दलहरुको आ–आफ्नै अडान



बीपी साह,
काठमाडौ । सत्तारुढ र प्रमुख प्रतिपक्षी सहितका दलहरु आ–आफ्नै अडानमा कायम रहे पनि जारी गतिरोध अन्त्यका लागि निरन्तर संवाद जारी राख्ने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार संसदको शीर्ष सात दलको बैठकबाट व्यवस्थापिका–संसद्को जारी अवरोध अन्त्य गर्ने विषयमा प्रमुख निरन्तर छलफल गर्ने सहमति भएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको वैठकमा सत्तारुढ दलका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्याकेज मै सहमति खोज्न प्रतिपक्षी दलसँग आग्रह गरेको थियो । तर प्रतिपक्षी दलहरु भने आफ्नै अडान दोह¥याएका थिए ।
मधेशवादी दलको मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव अघि बढाउन सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको आग्रहलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल समाचारपत्रलाई बताउनुभयो । उहांले छलफल सकारात्मक भएपनि निष्कर्ष आउन नसकेको बताउँदै आफुहरुले पनि मधेशको एजेण्डा राखेको बताउनुभयो ।
बैठकको सुरुमा सभामुखले संसदमा अहिले देखिएका समस्या समाधान गर्न दलबीच एकता र सहमति कायम गरेर अघि बढ्न आग्रह गर्नुभएको थियो । उहांको आग्रह पछि प्रधानमन्त्री प्रचण्डले संशोधन विधेयकको औचित्यमाथि प्रकाश पार्दै संविधान संशोधनलगायत अहिले उठिरहेका विषयलाई ‘प्याकेजमै डिल गरौँ’ भनी प्रस्ताव राख्नुभएको थियो ।
बैठक पछि नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वार्ता र छलफलका आधारमा सबै समस्या समाधान गर्न औपचारिक र अनौपचारिक छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिनुभयो । उहांले संविधान संशोधनलाई पनि अगाडि बढाउँदै निर्वाचनतिर अगाडि बढ्नु पर्ने बतानुभयो ।
एमाले उपाध्यक्ष भीम रावलले ‘संशोधन प्रस्तावले विवाद सिर्जना गरेर अहिलेको अवस्था निम्त्याएको’ बताउँदै त्यसलाई स्थगन वा फिर्ता लिन आफूहरुले बैठकमा आग्रह गरेको जानकारी दिनुभयो । ‘राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अस्मितामा आँच पुग्न लागिरहेको बेला विवाद उत्पन्न हुने ढङ्गबाट आएको संशोधनको प्रस्ताव फिर्ता लिनुको विकल्प छैन, फिर्ता लिनुस् भनेका छौँ’ रावलले भन्नुभयो । तर पनि दलहरुले समस्याको समाधान दिन वार्तालाई औपचारिक र अनौपचारिक हिसाबले निरन्तरता दिने र छलफललाई जारी राख्ने सहमति गरेको उहांले बताउनुभयो ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले छलफल सकारात्मक भएको बताउँदै संविधान संशोधनको प्रस्ताव सहमति र प्रक्रियाका आधारमा अघि बढेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्नु उपयुक्त हुनेबारे छलफल भएको जानकारी दिनुभयो ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री दाहालसहित नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, प्रमुख सचेतक टेकबहादुर बस्नेत, प्रवक्ता भुसाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायक सहभागी थिए ।
काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ सहभागी थिए । त्यस्तै, एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपाध्यक्ष रावल र प्रमुख सचेतक भानुभक्त ढकाल, राप्रपाबाट अध्यक्ष कमल थापा, संसदीय दलका उपनेता दीपक बोहरा र प्रमुख सचेतक गिरी बैठकमा सहभागी भए । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का प्रमुख सचेतक योगेन्द्र चौधरीलगायतको बैठकमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्