द्वन्द्वकालका हतियार जुम्लामा भेटियो



कृष्णमाया उपाध्याय,
जुम्ला । शसस्त्र द्वन्द्वकालका नेपाली सेनाबाट लुटिएका हतियारहरु जुम्ला प्रहरीले एउटा गाउँमा फेला पारेको छ । चन्दननाथको मूर्ति चोरी घटनाको सर्च अप्रेशनका क्रममा खटिएको प्रहरी टोलीले गज्र्याङकोट क्षेत्रबाट एक दर्जन भन्दा बढी अत्याधुनिक हतियार फेला पारेको हो ।
बिषेश सुराकीको आधारमा गज्र्याङकोट–८, थामबाडा भन्ने गाउँका विभिन्न ठाउँबाट १२ वटा हतियारहरु फेला गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो । स्थानीय कमलराज थापा र वेदन थापालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुसँग हतियार रहेको बताएपछि खोजी कार्यलाई तीव्र बनाएको डीएसपी काफ्लेले बताउनुभयो । प्रहरीले नेपालगञ्जबाट कमलराज थापालाई र वेदन थापालाई काठमाडौंबाट नियन्त्रणमा लिएर हतियारबारे सोधपुछ गरेको थियो ।
सोधपुछपछि उनीहरुले गज्र्याङकोटको जंगल, खेतका कान्ला र कतै ढुंगाले च्यापिएको अवस्थामा हतियारहरु भेटिएको डिएसपी काफ्लेले बताउनुभयो । प्रहरीले स्वचालित हतियार एसएलआर दुई थान, एसएलआरको म्यागेजिन दुई थान, प्लास्टीकको डब्बामा राखिएको एसएलआरमा प्रयोग हुने गोली २५ , ३०३ राइफलमा लाग्ने गोली दुई, भारतीय आर्मी लेखिएको १.६५ एमएन अटोमेटिक पेस्तोल दुई थान, सोही पेस्तोलमा लाग्ने गोली तीन, पाँच वटा गोली लाग्ने रिभल्वर दुई थान, कटुवा पेस्तोल दुई थान, केप र फ्युज डेटोनेटर सात थान र पेस्तोल सफा गर्ने रड एकथान फेला परेको प्रहरीले जानकारी दिएको छ ।
डीएसपी काफ्लेका अनुसार फेला परेका हतियारहरु मध्ये एसएलआर दुई थान द्वन्द्व कालमा नेपाली सेनाबाट लुटिएका हतियारहरु हुन् । द्वन्द्वकालका हतियारहरु अँझै गाउँमा रहेको भन्दै उहांले हतियार सर्च अभियान जारी राख्ने बताउनुभयो । गाउँमा हतियार देखाएर लुटपाट गर्नेे गिरोह सक्रिय भएसँगै प्रहरीले गिरोहको खोजीका लागि हतियार सर्च अप्रेशन समेत जारी राखेको छ ।
यसअघि प्रहरीले हातहतियार देखाएर लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पक्राउ परेका दुई जना दाजुभाई रहेको र उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ ।
हतियार सार्वजनिक गर्ने कार्यक्रमा मूर्ति अनुसन्धानको कार्य सम्हालेका केन्द्रीय अनुसन्धान व्युरो (सिआइबीका) का डीएसपी अरुण पौडेलले मूर्ति चोरहरुलाई खोजी गर्ने कार्य जारी रहेको बताउनुभयो । काठमाडौं, नेपालगञ्जमा समेत शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य चलिरहेको र अन्य केही व्यक्तिहरुलाई निरन्तर निगरानीमा राखेको समेत बताउनुभयो । उहांले अनुसन्धानको सबै कुरा भन्न नमिल्ने बताउदै मुर्ति चोर्ने गिरोह पक्राउ पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्