के गर्ने ३ अर्ब भारु ?


दीपेन्द्र थापा, काठमाडौं
रतीय ५ सय र १ हजारको नोट सटहीमा थप अन्योल देखिएको छ। नोट सटहीका लागि अन्तिम मिति नजिक आउँदै गर्दा समेत कुनै निर्णय नहुँदा अन्योल बढेको हो। नोट सटही सहजीकरणका लागि राष्ट्र बैंकको एक टोली भारत जाने भनिए पनि कहिले जाने भन्ने टुंगो लागेको छैन। पुराना भारतीय नोटमा प्रतिबन्ध लागेको डेढ महिना पुगी सक्दा पनि नेपालमा रहेका भारतीय नोट साट्ने विषयमा अहिलेसम्म कुनै पनि पहल भएको छैन।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले नेपाल समाचारपत्रसँग कुरा गर्दै अहिलेसम्म भारु सटहीबारे केही जवाफ नआएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘कहिलेसम्म नेपाली सर्वसाधारणसँग भएको भारु साटिने हो त्यसको कुनै टुंगो छैन, अहिले राष्ट्र बैंक ‘पर्ख र हेर’ को अवस्थामा छ।’ भारतीय पक्षसँगको अनौपचारिक कुराकानीका क्रममा आउँदो जनवरीसम्म टुंगो लाग्ने आश्वासन पाएको उहाँले जानकारी दिनुभयो।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय सञ्चारमाध्यम इन्डिया टुडेसँग कुरा गर्दै यस विषयमा भारत सरकारसँग खास गरी त्यहाँको अर्थ मन्त्रालयसँग नेपाली जनताका समस्या सम्बोधनका लागि अनुरोध गरेको बताउनुभएको छ। यस विषयमा हामीले भारतीय रिजर्भ बैंक, नेपाल राष्ट्र बैंक, दुवै देशका प्रधानमन्त्री, अर्थमन्त्रीहरूसँग कुराकानी गरेको र समस्या समाधान हुनेमा आशावादी रहेको राजदूतले बताउनुभएको छ।

इन्डिया टुडेलाई दिएको अन्तरवार्तामा उपाध्यायले भन्नुभएको छ– ‘समस्या समाधानका लागि पहल भइरहेको छ। नोट साटिने अन्तिम मिति नजिक रहेकाले समस्या देखिएको हो।’ नेपालका ग्रामीण क्षेत्रका प्रत्येक घरमा पुराना ५ सय र १ हजार भारतीय नोट छन्। हामीले चाहेको ती नोटहरूको सहज सटहीको उपाय हो। नोट साटिने अन्तिम मिति नजिक आइरहेकाले समस्या बढेको हो राजदूतले भन्नुभएको छ।

नेपालस्थित भारतीय राजदूतावासले भारु सटहीको मोडालीटी बनाउन राष्ट्र बैंकलाई आग्रह गरेपछि उत्पन्न समस्याको समाधानका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन भएको थियो। उक्त अध्ययन समितिले भारुबारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको भए पनि भारतीय पक्षबाट जवाफ नआएसम्म कुनै कदम चाल्न नमिल्ने राष्ट्र बैंकको भनाइ छ।

प्रतिबन्धित भारु कहिलेबाट साटिने हो भन्ने कुराको जवाफ राष्ट्र बैंकसँग पनि छैन। नेपालमा रहेका नोट फिर्ता गराउन प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरले छुट्टाछुट्टै पहल गरे पनि भारत सरकारले सटहीका सम्बन्धमा कुनै जवाफ अहिलेसम्म पठाएको छैन। भारत सरकारले भारुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने र समस्या समाधानको कुनै ठोस संकेत देखिएको छैन। राष्ट्र बैंकमा नेपालमा रहेको भारुबारे अध्ययन गर्न बनेको समितिले अध्ययन प्रतिवेदन भारतलाई बुझाएको भए पनि भारतले यसबारे कुनै ठोस जवाफ नपठाएपछि भारु सटहीमा थप अन्योल बढेको हो।

नोट साट्न निर्णय गर्ने अधिकार भारत सरकारसँग रहेकाले नेपाल सरकारले यथाशिघ्र पहल गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ। राष्ट्र बैंकका अनुसार यति बेला नेपाली बैंक तथा वित्तीय संस्थाहरूसँग ३ अर्ब ३६ लाख ९० हजार भारु छ। साथै भारतमा काम गर्न जाने नेपाली मजदुर तथा अन्य व्यवसायीहरूसँग र उपचारमा जाने बिरामी विद्यार्थीसँग पनि थुप्रै भारु रहेको अनुमान गरिएको छ। नोटको सटहीमा प्रतिबन्ध आएसँगै भारतीय ग्राहकसँगको कारोबारमा कमी आएको छ। भारुमा लागेको आकस्मिक प्रतिबन्धले नेपालीहरूको दैनिकी निकै कष्टकर बन्दै गइरहेको छ।

भारत सरकारले नेपालसँगै भुटान तथा अन्य छिमेकी राष्ट्रहरूमा रहेको भारु रकम के कसरी साट्ने वा के गर्ने भन्नेबारेमा अध्ययन गर्न एक समिति गठन गरेको थियो। सो समितिले पनि यसअघि नै अध्ययन रिपोर्ट बुझाइसकेको छ। तर, भारत सरकारले भने अहिलेसम्म कनै प्रतिक्रिया दिन नसक्दा भारुबारेको अन्योलता टुंगोमा पुग्न सकेको छैन। भारत सरकारले आगामी डिसेम्बर ३० भित्र सबै पुराना नोट सटही गरिसक्नुपर्ने भनी मिति तोकेको छ। तर अब ५ दिनको अवधि बाँकी रहँदा पनि नेपालमा भएका यस्ता नोटको अवस्था के हुने भन्ने अन्योल कायमै छ।

अनधिकृत र अवैध कालोधन निर्मूल पार्ने नाममा भारत सरकारले गएको कात्तिक २३ गते राति १२ बजे ५ सय र १ हजार रुपिँयाको नोटमा एक्कासि प्रतिबन्ध लगाएको थियो। भारतले नेपालमा साना दरका नोटमासमेत कडाइ गरेपछि भारु संकट थप जटिल बनेको हो। वार्षिक ६ अर्ब भारतको रिजर्ब बैंक अफ इन्डिया (आरबीआई) मार्फत भारतीय रकम नेपाल राष्ट्र बैंकलाई दिने सम्झौता भए पनि हालसम्म १ अर्ब २० करोड मात्र नेपालले पाएको छ।