सुन्तला उत्पादनमा वृद्धि

0
Shares

रामधन राई, खोटाङ

जिल्लामा यो वर्ष अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले सुन्तला उत्पदनमा वृद्धि भएको छ। असिनापानी तथा अन्य दैवीप्रकोपले क्षति नपुर्याउनुका साथै अनुकुल समयमा वर्षा हुनु तथा अन्य प्रकोप नलाग्नुका कारण यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिनुभयो।

गत वर्ष १ हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा ९ हजार ९ सय ८५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो वर्ष ५५ हेक्टर बढी क्षेत्रफलमा ११ हजार ३ सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

उत्पादित सुन्तलामध्ये मंसिर अन्तिमसम्म करिब ७८ लाख बराबरको सुन्तला बिक्री भइसकेको जनाइएको छ। स्थानीय बजारमा हाल प्रतिगोटा ५ रुपियाँ तथा प्रतिकिलो ४० देखि ६० रुपियाँसम्ममा किनबेच भइरहेको जिल्लामा उत्पादित सुन्तला उदयपुरको गाईघाट, बेल्टार हुँदै इटहरी, धरान, विराटनगरलगायतका शहरमा प्रयाः जसो ठेकेदारमार्फत पुर्याइने गरिएको किसान बताउँछन्। जिल्लाका लामिडाँडा, याम्खालगायतबाट सुन्तला जिल्ला बाहिर निर्यात गरिएको छ। उपयुक्त सडक तथा यातायातको अभावमा जिल्लामा उत्पादितमध्ये ४५ प्रतिशत सुन्तला मात्र बजारसम्म पुग्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ।