बाढीपीडितलाई विद्यार्थीको न्यानो कपडा


वीरेन्द्रनगर, (नेस)
कलेजमा अध्ययनरत विद्याथीले आफ्नो खाजाखर्च बचाएर सुर्खेतका बाढीपीडितलाई सहयोग गरेका छन्। मोडेल कलेजमा पढ्ने विद्यार्थीले महिला प्रशिक्षण केन्द्रमा रहेका बाढीपीडितहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

जाडो बढेसँगै युथ फर चेन्ज ग्रुपले शनिबार न्यानो कपडा वितरण गरेको हो। शिविरमा रहेका २६ परिवारलाई प्रतिपरिवार एक÷एक थान ब्लाङ्केटसहित ज्याकेट, टिसर्टलगायतका न्यानो कपडा वितरण गरिएको ग्रुपका सदस्य भगवती शर्माले बताउनुभयो। फेसबुक गु्रपमार्फत् सहयोग संकलन गरी न्यानो कपडा वितरण गरिएको गु्रपका सदस्य शिवानी ढकालले जानकारी दिनुभयो।

न्यानो कपडा पाएपछि बाढीपीडित महिसरा थापाले जाडोले सताएको बेला न्यानो कपडा पाउँदा निकै खुसी लागेको बताउनुभयो। युथ फर चेन्ज ग्रुपमा आबद्ध देश विदेशमा रहेका सदस्यबाट ४४ हजार ८ सय रुपियाँ संकलन भएको बताएको छ। संकलन भएको रकम मध्ये ३९ हजारको ब्लाङ्केट किनेको र वाकी रकम अरू काममा खर्च भएको उनीहरूले जनाएका छन्।

उनीहरूले यस्ता किसिमका सामाजिक कामहरू आगामी दिनमा पनि गर्ने उल्लेख गरेका छन्।