कंगारु एजुकेसन सेलवेज टावरमा


काठमाडौं, (नेस) वैदेशिक परामर्श तथा भाषा प्रशिक्षणको काम गर्दै आएको कङारु एजुकेसन फाउन्डेशनले पोखराको चिप्लेढुङास्थित सेलवेज टावरमा क्षेत्रीय हेडक्वार्टर स्थापना गरेको छ। नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले ए उक्त कार्यालयको समुद्घाटन गर्नुभयो।

उक्त कार्यालयमा अन्तर्राष्ट्रिय गुणस्तरका काउन्सेलिङ कक्षा, मल्टिमिडिया जडित अत्याधुनिक कक्षा कोठा, पुस्तकालय तथा कम्प्युटर ल्याबले रहेको उल्लेख गर्दै विद्यार्थीले सहज रूपमा आयल्स, टोफल्स्, स्याट, जीआरई, जिम्याटका तयारी कोर्स गर्नका लागि उपयुक्त वातावरण प्रदान गर्ने कंगारु एजुकेसन फाउन्डेसन पोखरा कार्यालयका प्रमुख कार्यकारी टीआर काफ्लेले बताउनुभयो । अस्ट्रेलिया, न्युजील्यान्ड, अमेरिका तथा युरोप जान चाहने सेवाग्राहीलाई परामर्श दिँदै आएको फाउन्डेसनका प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले बताउनुभयो।

ओम डेभलपमेन्ट बैंकले २९ प्रतिशत बोनस दिने
काठमाडौं, (नेस) ओम डेभलपमेन्ट बैंकको १०औं साधारणसभाले आव २०७२⁄७३ को मुनाफाबाट शेयरधनीलाई २९ दशमलव २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ। शुक्रबार पोखरामा सम्पन्न बैकको १०औं वार्षिक साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो।

बैक सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार गोशलीका अनुसार बैंकले गत आवमा ११ अर्ब ८५ करोड निक्षेप संकलन, ९ अर्ब ९३ करोड कर्जा लगानी गरी २९ करोड ६५ लाख खुद मुनाफा गरेको थियो। बोनस शेयर वितरण भएपछि बैंकको चुक्ता पुंँजी १ अर्ब ३६ करोड रुपियाँ पुग्नेछ भने मनास्लु विकास बैंकसँग मर्ज भएपछि हकप्रद शेयर र बोनस शेयर वितरणपछि चुक्ता पुँजी २ अर्ब ५४ करोड पुर्याउने पुँजी योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिनुभयो। साधारणसभाले बैंकको संस्थापक तर्फबाट ४ जना र सर्वसाधारणतर्फबाट ४ जना गरी ८ जना सञ्चालक सर्वसम्मतिले निर्वाचित गरेको छ।

जसमध्ये संस्थापकहरूबाट सुशीलकुमार गोशली, योगेन्द्रलाल प्रधान, राजेन्द्रकुमार बाटाजु र निकेश द्वा रहेका छन् भने सर्वसाधारणको तर्फबाट श्रीकृष्ण रेग्मी, कर्मकुमारी गुरुङ, निरञ्जन श्रेष्ठ र रवीन्द्र बास्तोला रहेका छन्।निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशील कुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिनुभयो।