नैना रेशमपछि जर्नी


नैना रेशम बनाएको टिमले आठ वर्षको विश्रामपछि अर्को फिल्म निर्माण गर्ने भएको छ। निर्माता अजितजंग राणाले आठ वषपछि जर्नी नामक फिल्मबाट आफ्नो यात्रा युवा निर्देशक शंकर कार्कीसँग गर्न लागेका हुन्।

नैना रेशमबाट निशा अधिकारीलाई ब्रेक दिएका राणाले अब फेरि अर्को फिल्मबाट विदेशी नायिकालाई डेब्यु गराउने भएका छन्। पश्चिमी मुलुकमा रहेकी एक विदेशी नायिकाको यात्राको कथामा रहने जर्नीको सुटिङ पश्चिमी मुलुकदेखि नेपालको माथिल्लो मुस्ताङसम्म गर्ने योजनामा राणाले बताए। फागुनको पहिलो साताबाट सुटिङ फ्लोरमा जाने भनिएको जर्नी त्रिकोणीय प्रेमकथा हुने बताइएको छ।

आठ वर्षको समयमा फिल्म बनाउनका लागि धेरै निर्देशकले ताकेता गरे पनि राम्रो कथाको अभावमा अहिलेसम्म फेरि फिल्म निर्माणमा हात नहालेको उनले बताए। ‘मसँग ४०⁄५० वटा स्टोरीहरू लिएर फिल्म बनाउन अफरहरू आएका थिए’, उनले दाबी गरे– ‘तर मलाई स्टोरी नै चित्त नबुझेका कारण त्यत्तिकै बसँे। अब जर्नीबाट फेरि मेरो यात्रा अघि बढ्दै छ।’ नैना रेशमबाट सात अवार्ड जितेका राणा जर्नी महत्त्वाकांक्षी योजनाअन्तर्गत नै रहेको पनि बताउँछन्। सानै उमेरदेखि कला क्षेत्रमा रुचि राख्ने राणाले पोखराको दीपेन्द्र सभागृहमा पहिलोपटक नाटक गराएका थिए। त्यही बेलादेखि कला क्षेत्रमा लागेका राणा चलचित्र निर्माताका रूपमा स्थापित भइसकेका छन्।