गोरु जुधाउन समिति गठन

0
Shares

त्रिशूली (नुवाकोट), ९ पुस ।

तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ ।

जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि स्थानीय राजनीतिक दल र गोरुपालक किसानको सहमतिमा दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो ।तारुकामा भएको भेलाले गठन गरेको समितिका सचिवमा साधुराम सिग्देल र कोषाध्यक्षमा बद्री ढुङ्गाना तथा सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, माधव बखरेल, श्याम अछामी, सङ्गीता शाही, कृष्ण तामाङ र शर्मिला सिग्देल रहनुभएको छ ।

भेलाले जनकराज ढुङ्गानाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । समितिले अब चाँडै गोरु दर्ताका लागि सूचना जारी गर्ने छ ।

तारुका गाविसको चन्दनीको ठूलो पाटामा हरेक वर्ष गोरु जुधाइँदै आएको छ । तारुका, बुधसिङ, रातमाटेलगायत क्षेत्रमा सयौँ वर्षअघिदेखि गोरु जुधाइँदै आएकामा २०६२ सालदेखि भने तारुकाले एकै स्थानमा माघे सङ्क्रान्ति पर्वका रुपमा व्यवस्थित रुपमा गोरु जुधाउँदै आएको छ ।

यस्तै नुवाकोटकै बेत्रावतीमा यस वर्ष गोरु जुधाउने तयारी सुरु भएको छ । स्थानीय गोसाइँकुण्ड युवा क्लब मेलाको खर्च जुटाउन र प्रचारप्रसारमा जुटिसकेको क्लबका अध्यक्ष सुरज लबटले बताउनुभयो । रासस