संविधान संशोधनपछि स्थानीय निकायको निर्वाचनः अर्थमन्त्री



नेपाल समाचारपत्र
सिन्धुली

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल सरकारले संसद्मा पेस गरेको नेपालको संविधान २०७२ दोस्रो संशोधन भएर मात्र स्थानीय निकायको निर्वाचन हुने बताउनुभयो। सिन्धुली महोत्सव उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले सबै संविधानमा अटाउनका लागि संविधान संशोधन प्रस्ताव गरिएकाले केही समय असहमति भए पनि चाँडै संशोधन हुने बताउनुभयो।

‘हामी धेरैभन्दा धेरैको सहमतिमा संविधान संशोधन गर्न चाहन्छौं’, मन्त्री महराले भन्नुभयो– ‘पुरानो मन्दिर भत्काएर नै नयाँ बन्ने हो। त्यसैले समयअनुसार संविधान संशोधन हुन्छ। समय पछाडि फर्कंदैन। अगाडि नै बढ्छ। सबैको भावनाअनुसार संविधान संशोधन गरेर अगाडि बढ्छ।’

मन्त्री महराले देशको अर्थतन्त्र कमजोर बन्दै गएको भन्दै, गत वर्षको तुलनामा केही सुधार आए पनि देशको समग्र आर्थिक अवस्था कमजोर रहेको बताउनुभयो। नाकाबन्दी भूकम्पले गर्दा देशको अर्थनीति कमजोर भएको उहाँको टिप्पणी छ। देशलाई सम्मृद्ध बनाउन गाउँबाट नै सम्मृद्धि हुनुपर्ने बताउनुभयो। स्थानीय तहमै सम्मृद्धिका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको भन्दै त्यसका लागि बजेट विनियोजन गर्ने आश्वासनसमेत दिनुभयो। अर्थमन्त्री महराले बीपी राजमार्गको चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग बनाउन पहल गरिने बताउनुभयो।

मन्त्री महराले शुक्रबार नै सिन्धुलीबजार प्रवेशद्वार समुद्घाटन गर्नुका साथै राजनीतिक दलले सिन्धुलीको विकासका लागि ज्ञापनपत्रसमेत बुझेका थिए। सम्मृद्ध सिन्धुली निर्माणको आधार, कृषि पर्यटन र उद्योगको क्षेत्रको लगानीमैत्री वातावरणमा सुधार भन्ने नारासहित बुधबारबाट सिन्धुली महोत्सव शुरु भएको छ। १८ गतेसम्म चल्ने महोत्सवको पहिलो दिन चर्चित गायक नवीन पौडेलले दर्शक नचाएका थिए।

सिन्धुली महोत्सव उद्घाटन कार्यक्रममा पूर्वकृषि विका मन्त्री हरिबोल जगुरेल, संसद्को कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बराल पूर्वस्वास्थ्यमन्त्री विपीन कोइरालालगायतले शुभकामन मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्