तीन दशकमा मात्र सात खेलकुद


फिरोज राजोपाध्याय
नेपालमा राष्ट्रिय खेलकुद आयोजना भएको पनि तीन दशक पार गरिसकेको छ । यतिका वर्षमा नेपालले भर्खर सातौंपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै छ । यति लामो समयमा केवल सात प्रतियोगिता हुनु नेपाली खेलकुदका लागि दुर्भाग्य नै भएको भन्न सकिन्छ । जति प्रतियोगिताको संख्या बढ्छ त्यति नै राम्रा राम्रा खेलाडी जन्मन्छन् यसमा शंका छैन । तर प्रतियोगिता नै हुन गाह्रो भइरहने अवस्थाले नेपाली खेलकुदको अवस्था झनै जटिल बन्दै जानेछ ।

धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुद २०६८ सालमा भएको थियो । सातौं र छैटौंबीच झन्डै पाँच वर्षको फरक हुन आएको छ । यो फरक आगामी प्रतियोगितामा हुन नदिने सोच अहिलेदेखि नै बनाउन आवश्यक छ । यो सातौं राष्ट्रिय खेलकुद गत वर्ष नै हुनुपर्ने थियो । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले खेलकुदमा असर गर्दा पनि खेलकुद प्रतियोगिता गर्न नसकिने अवस्था पुगेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताए । उनले पटकपटक मिति सर्नुमा पनि केही अप्ठ्यारो वातावरण सिर्जना हुनुलाई पनि दोष दिएका छन् ।

तर ढिलै भए पनि आयोजनालाई निरन्तरता दिइरहेको छ । राष्ट्रिय खेलकुद आयोजनाले गर्दा नै नेपाली खेलाडीमा खेल्नका लागि उत्साह बनेको छ । उनीहरूलाई खेलकुदमै लाग्न पनि घचघच्याइरहेको छ । त्यस्तै नयाँ खेलाडीको पनि जन्म हुने भएकाले पनि यो राष्ट्रिय खेलकुद वर्षैपिच्छे हुनुपर्छ भन्नेहरू पनि देखा परेका छन् ।

पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालमा काठमाडौंमा आयोजना भएको थियो । दशरथ रंगशालामा भएको प्रतियोगिता ९ दिनसम्म आयोजना भयो । जसमा ७८ स्वर्ण, ७६ रजत र ७२ कास्यका लागि नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना भएको थियो । २०४० सालमा भएको प्रतियोगितामा २५ खेलका लागि १ हजार ९ सय ६८ पुरुष खेलाडी र ५ सय ३९ महिला खेलाडीको सहभागिता थिए ।

यसै गरी तेस्रो राष्ट्रिय खेलकुद २०४२ सालमा वीरगन्जमा आयोजना गरियो । सो प्रतियोगितामा २६ खेल समावेश थिए । जसमा १ सय ४६ स्वर्ण पदक, १ सय ४७ रजत पदक र १ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । यो प्रतियोगितामा २ हजार ३७ पुरुष र ७ सय ३७ महिला खेलाडीको सहभागिता थिए ।

यसपछि नेपालमा केही राजनीतिक अस्थिरता र २०४६ को जनआन्दोलनपछि प्रजातन्त्र आएको बखत थियो । तर २०४७ सालमा प्रजातान्त्रिक अभ्यासमा लागेको नेपालमा खेलकुदको अवसान भएको सबैले महसुस गरियो । नेपालमा प्रधानमन्त्री पटकपटक फेरियो तर राष्ट्रिय खेलकुद गर्ने कसैसँग आँट भएन । बल्ल २०५५ सालमा चौथो राष्ट्रिय खेलकुदको आयोजना गरियो । यसमा जम्मा १२ खेल राखिएको थियो । यसका लागि १ सय ४० स्वर्ण, १ सय ४० रजत र १ सय ८९ कास्य विजेता खेलाडीलाई बाँडिएका थिए ।

चौथो राष्ट्रिय खेलकुद सफलताका साथ आयोजना भए पनि देशमा माओवादी र सरकारबीचको द्वन्द्व, राजदरबार हत्याकाण्डको कारण फेरि खेलकुदलाई नराम्रोसँग प्रभाव पार्यो । करिब दश वर्षपछि राष्ट्रिय खेलकुदको आयोजना भयो । २०६५ सालमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश थिए । काठमाडौंको विभिन्न स्थानमा खेलहरू आयोजना गरिएका थिए । तीन वर्षपछि छैटौं राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।