सुखको खोजी गर्दै सर्वनाममा नाटक


रश्मी थापा

धनी होस् या गरिब⁄ सानो होस् या ठूलो⁄ शान्ति र सुख कसलाई चाहिँदैन। जतिसुकै ऐश र आरामको जिन्दगी किन नहोस्, शान्ति र सुख भएन भने संसारको कुनै पनि शक्ति र मानप्रतिष्ठा अनि शान र सौकतको कुनै अर्थ रहँदैन। राजपरिवारका सदस्यदेखि साधारण मानिससम्म शान्ति र सुखको खोजीमा भौतारिने गर्छन्। शान्ति र सुखको यस्तै मानसिक अवस्थालाई चित्रण गर्दै राजधानीमा केही दिनदेखि एउटा शानदार नाटक प्रस्तुत भइरहेको छ निर्वाण।शान्ति वस्तुमा छ कि आफूमा छ भनेर थाहा पाउन नसक्दा मानिसहरू जीवनभर कसरी अलमलमा पर्छन् र भौतारिरहन्छन् भन्ने विषयलाई केन्द्रित गर्दै निर्वाणले नाटकप्रेमीको मन र तन तानिरहेको छ।

शान्ति भनेको आफ्नै मन हो, मन जता रमाउन सक्यो या मनलाई जेमा नियन्त्रण गर्न सक्यो, त्यहिँ नै शान्ति मिल्ने कुरा नाटकले दर्शाउने कोशिस गरेको छ। राजधानीको कालिकास्थानमा अवस्थित नाटकघर सर्वनाम थिएटरमा गत पुस २ गतेबाट मञ्चन भइरहेको नाटक निर्वाणले यस्तै विषय दर्शाइरहेको छ। थिएटरको दसौं ब्याचका प्रशिक्षार्थी कलाकारहरूद्वारा लिखित, निर्देशित र मञ्चित उक्त नाटकमा चक्रवर्ती नामक एक आलिशान दरबारको राजा र राजकुमारको जीवनशैली देखाइएको छ भने सुखको खोजीमा भौंतारिएका राजकुमारले कतै गए पनि सुख पाउन नसकेको कथा प्रस्तुत गरिएको छ। नाटकमा सुख सयल र ऐेश आरामको जिन्दगी पाएपछि शासक आफ्नो प्रजाप्रति कति क्रुर हुन्छन् र आफ्नै गतिविधिका कारण गल्तीको प्रयाश्चितको खोजीमा दरबारीया सुख नै त्यागेर मनको शान्तिको खोजीमा हिँड्न बाध्य हुने कथा बुनिएको छ।

नाटकमा राजाको भूमिकामा देखिएका नितान्त मल्लले ३ महिने प्रशिक्षणपश्चात प्रशिक्षार्थीहरूले एउटा नाटक तयार पार्नुपर्ने भएकाले यो नाटक तयार पारिएको बताए। राजकुमारका रूपमा देखिएका रिनेक्स बस्नेतले यो नाटकको निर्देशन र अभिनय तथा लेखनसमेत यसै ब्याचका प्रशिक्षार्थीहरूले गरेको र मूल रूपमा मानिस सुखको खोजीमा कतिसम्म भौतारिन्छ भनेर देखाउन खोजिएको बताए। उनी मेकअप आर्टिस्ट तथा नक्कली हिसिला यामीका रूपमा लोकप्रियता कमाएकी अभिनेत्री विपना बस्नेतको पुत्र तथा नायिका रिश्ता बस्नेतको दाइ पनि हुन्। सिंगो परिवार नै कलायात्रामा होमिएको यो परिवारका रंगकर्मी पुत्र रिनेक्स बस्नेतले यो नाटकबाट कुशल रंगकर्मीका रूपमा आफूलाई परिचित गराउने कोशिस गरेका छन्।

कूल १६ जना कलाकार अभिनित उक्त नाटकको मुख्य भूमिकामा शान्ताकारम थापा, सुजिता अधिकारी, रोशन राउत, शिशिर वाग्ले शर्मिला नगरकोटीलगायतले पनि अभिनय गरेका छन्। त्यसै गरी बोल्न नसक्ने पात्रको रूपमा देखिएका रोशन राउतको अभिनय निकै मार्मिक रहेको छ भने नाटकको बीच–बीचमा नृत्यसहित छाइरहने सुजिता अधिकारीको नृत्यले नाटकलाई थप मनोरञ्जनात्मक बनाएको छ। नाटक भोलि शनिबारसम्म मञ्चन हुनेछ।