दृष्टिविहीन लोकगायक थापाको निधन


दृष्टिविहीन लोकगायक तथा संगीतकार मधुबाबु थापाको बिहीबार निधन भएको छ। अनामनगरस्थित निवासको बाथरुममा लडेर बेहोस भएपछि उपचारका लागि बागबजारस्थित मोडल अस्पताल पुर्याएका उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

रेडियो नेपालका जागिरे उनले दर्जनौं लोकगीत, भजन, आधुनिक गीतमा स्वरसँगसँगै संगीत दिएका छन्। २०१० सालमा दाङको सौडियार गाविस–५ राजपुरका उनले चन्द्रकला शाहसँग गाएको मोहनी लगायौ की जन्तर गरेर, कपाल कोरेर बोलको थारु भाकाको लोकगीत लोकप्रिय थियो। उनी थारु भाकाका गीतलाई नेपालीमा उल्था गरेर पनि गाउँथे। यसमध्येको घोराही बजारमा गीत पनि उनको लोकप्रिय गीत थियो।

भैगो हजुर माया जाल नबुन बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएर गायन र सांगीतिक यात्रा शुरू गरेका ६२ वर्षीय उनी शास्त्रीय संगीतका विद्यार्थी थिए तर लोकगीत गाउँथे। ‘उहाँ गाउँगाउँमा गएर लोकगीत संकलन गरी गीत गाउनुहुन्थ्यो। दृष्टि नभए पनि कुशलतापूर्वक संगीत संयोजनको काम पनि गर्नुहुन्थ्यो’ –संगीतकार सन्तोष श्रेष्ठले भने।

उनी लामो समयदेखि रेडियो नेपालमा करारमा जागिर खाइरहेका थिए। बिहीबार पनि रेडियो नेपाल गएरै फर्केका थिए। उनले भारतको इलाहबादबाट शास्त्रीय संगीतमा बिम्युज गरेका थिए। तर रेडियो नेपालले शास्त्रीय तथा अन्य गीतको रेकर्डिङका लागि समय नदिएका कारण लोकगीत गाउँथे। उनको श्रीमतीको केही वर्षअगाडि नै ब्लड क्यान्सरबाट निधन भएको थियो। उनी केही समयदेखि छोरीको घरमा बस्दै आएका थिए।