मापदण्डविपरीत भवन बनाउँदै नापी कार्यालय



नवीन श्रेष्ठ, सिन्धुली
जमार्ग आसपासका सडकको सेन्टरबाट ३१⁄३१ मिटर छाड्नुपर्ने नियम भए पनि नापी कार्यालय सिन्धुलीले नियम मिचेर सडकछेउमा नै भवन बनाइरहेको छ। नापी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिकाबाट नक्सा पास नै नगराई बीपी राजमार्गको छेउमा भवन निर्माण गर्न लागेको हो।

कमलामाई नगरपालिकाले नगरबासीलाई भवन निर्माणका लागि अनिवार्य बाटो सार्वजनिक र नगरपालिकाको कार्यालयबाट नक्सा पास गराएर मात्र भवन निर्माण गर्न पाउने बाध्यकारी नियम लागू गरे पनि नापी कार्यालयले नक्सा पास वा बाटो सार्वजनिक नै नगरी भवन निर्माण थालेको छ। कमलामाई नगरपालिका–६ स्थित प्रमुख जिल्ला अधिकारीको निवास छेउमा निर्माण हुन लागेको नापी कार्यालयको भवन बीपी राजमार्ग मिचेर निर्माण भइरहेको छ।

२ करोड ६० लाख १ सय ७९ रुपियाँ ७९ पैसा लागत स्टमेट रहेको भवन शृंगेश्वर वाइबा एन्ड लामा जेभीले १ करोड ९७ लाख ६६ हजार ४ सय ४ रुपियाँ ८६ पैसामा २०७३ असार २८ गते निर्माण सम्झौता गरेको थियो। २०७४ पुस २९ गतेभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम थालेको भए पनि सडकबाट ३१ मिटर नछाडेको भन्दै विवाद भएको छ।

भूकम्प पीडितले नगरपालिका क्षेत्रमा घर बनाउन बाटो नभएको क्षेत्रमा पनि अनिवार्य बाटो सार्वजनिक गर्नुपर्ने भन्दै सर्वसाधारणलाई सास्ती दिइरहेको नगरपालिकाले नापी कार्यालयले बीपी राजमार्गलाई कित्ताकाट गरेर नदिई भवन निर्माण गरेकामा सर्वसाधारणले विरोध गरेका छन्। अरूको जग्गा कित्ताकाट गरिदिने नापी कार्यालयले नै बाटोको नाममा जग्गा कित्ताकाट नगरी भवन बनाएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन्।

नापी कार्यालयको नाममा १० कठ्ठा १८ धुर जग्गा भए पनि जथाभावी बाटो बन्दा कतै पनि भवन बनाउन नपाउने अवस्था सिर्जना भएकाले राजमार्गको छेउमा नै भवन बनाउन बाध्य भएको नापी कार्यालयका प्रमुख छत्रबहादुर लुङ्गेलीले स्वीकार गर्नुभयो। ‘हामीले बाटोलाई कित्ताकाट गरेर दिएका छैनौं, कुनै एक छेउबाट कित्ताकाट गरेर दिने हो, अहिले बनिरहेको सडकको संरचना सार्नुपर्छ, जग्गाको बीचबाट बाटो बनाएर जग्गा प्रयोगमा नै नआउने बनाइदिन त पाइँदैन नि’ –नापी अधिकृत लुङ्गेलीले भन्नुभयो। नगरपालिकाले हाल जिल्ला प्रशासन सञ्चालन भएको अथिति अवास निर्माण गर्दा पनि नापी कार्यालयको जग्गा मिचेको नापी अधिकृत लुङ्गेलीले आरोप लगाउनुभयो। देशैभरि एकै प्रकारको सेवामैत्री भवन बनाउने नापी विभागको उद्देश्यअनुरूप सिन्धुली नापी कार्यालयले पनि आफ्नो भवन निर्माण गर्न लागेको नापी अधिकृत लुङ्गेलीले बताउनुभयो।

नापी कार्यालयले भवन निर्माणका लागि केन्द्रबाट नै नक्सा तयार गरी नगरपालिकामा स्वीकृतका लागि पठाएको तर बाटो सार्वजनिकका लागि कित्ताकाट नगरी पठाएकाले रोकिएको कमलामाई नगरपालिका कार्यालयका कार्यकारी अधिकृत जगतप्रसाद भुसालले जानकारी दिनुभयो। जग्गाको नक्साको आधारमा कित्ताकाट गरी बाटो सर्वाजनिक गर्न पाउने र बाटोका लागि जग्गाको जुनसुकै छेउबाट भए पनि ६२ मिटर छाडेर भवन बनाउन पाउने कार्यकारी अधिकृत भुसालले बताउनुभयो। ‘बीपी राजमार्ग बनेको जग्गा पनि अहिले नापी कार्यालयको नाममा नै भएकाले बाटोको नाममा जग्गा कित्ताकाट गरेर मात्र नक्सा पास हुने नापी कार्यालयलाई जानकारी गराइसकेका छौं’ –कार्यकारी अधिकृत भुसालले भन्नुभयो। त्यस्तै बीपी राजमार्ग आसपासका जग्गा धनीले मुआब्जा लिएर पनि सडक मिचेर भवन निर्माण गरिरहेका छन्। कमलामाई नगरपालिकाले राजमार्गको मापदण्डअनुसार भौतिक संरचना निर्माण गर्न अनुमति दिने भए पनि सिन्धुलीको मुख्य बजारका रूपमा चिनिने स्टल बजार नै बाटोको जग्गा मिचेर बनेको छ।

प्रतिक्रिया दिनुहोस्